७ वैशाख २०८१ शुक्रबार
खेल

सेमिफाइनल समिकरण पूरा

झापा- अरुण श्रेष्ठको ह्याटि्रकबाट प्रेरित चर्च ब्वाइज युनाइटेडले बिहीबार क्वार्टरफाइनलमा शसस्त्र प्रहरी बलको एपिएफ क्लबमाथि विजय हासिल गरेपछि झापामा जारी प्रथम शरणामती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।

चर्च ब्वाइजले बिहीबार विभागीय टोलीमाथि ४–१ को जित दर्ता गराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो। शुक्रबार हुने प्रतियोगिताको पहिलो सेमिफाइनलमा कन्काई खेलकुद प्रतिष्ठान र आयोजक शरणामती फ्रेन्डस क्लबबीच प्रतिस्पर्धा हुनेछ भने चर्च ब्वाइजले शनिबार दोस्रो सेमिफाइनलमा रमपम झापा ११ सँग भिड्नेछ।

बिहीबारको खेलमा चर्च ब्वाइज एपीएफमाथि पूर्ण रुपमा हावी भएको थियो। आठौं मिनेटमा पहिलो गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका अरुणले १६ औं मिनेटमा पेनाल्टीमा गोल गरे भने ३१ औं मिनेटमा अर्को गोल गरेर व्यक्तिगत ह्याटि्रक पूरा गरे। यसबीचमा १४ औं मिनेटमा अजय मार्टिनले चर्च ब्वाइजका लागि दोस्रो गोल गरेका थिए। एपिएफका प्रदीप चौधरीले मिच्चन तामाङलाई लडाएपछि चर्च ब्वाइजले पेनाल्टीको मौका पाएको थियो। जसलाई अरुणले गोलमा परिणत गरेका थिए।

दोस्रो हाफमा एपिएफले केही सुधारिएको प्रदर्शन गर्‍यो। तर, चर्च ब्वाइजले मध्यान्तरअघि नै चार गोल गरिसकेकाले टोली पुनरागमन गर्न सफल भएन। ६७ औं मिनेटमा हरि कार्कीले गरेको एउटा गोल एपिएफका लागि सान्त्वनामा सिमित भयो। चर्च ब्वाइजको जितमा ह्याटि्रक गरेका अरुण म्यान अफ द म्याच घोषित भए। उनले नगद २ हजार ५ सय रुपैयाँ पाए।

प्रकाशित: २४ मंसिर २०७३ ०४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App