coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'दायाँबायाँ गर्न छुट छैन'

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुराभन्दा परिणाममुखी काम चाहिएको बताएका छन्। मन्त्रिमण्डल पुनर्गठनपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब मलाई परिणाम चाहिन्छ, एक मिनेट दायाँबायाँ हुनुहुँदैन। देशका लागि समय खर्चिनुस्।’ ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।

प्रधानमन्त्री ओलीले चिनियाँं राष्ट्रपति सी चिनफिङ आउँदाका बेला जसरी काममा खटिन मन्त्रीहरूलाई निर्देशन दिए। सी काठमाडौं आउँदा सफा भएका सडकले चाह्यो भने एक सातामा सुखद परिणाम दिन सकिँदो रहेछ भन्ने पुष्टि भएको बताएका थिए। ‘नयाँ साथीहरुले पनि कामको गतिलाई ध्यान दिनुपर्छ। पुरानाले झन् गति बढाउनुपर्छ, यत्तिले मात्रै पुगेको छैन’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै सहभागी एक मन्त्रीले भने।

ती मन्त्रीका अनुसार बैठकमा कुनै निर्णय भएन। ‘प्रधानमन्त्रीज्यूले बैठकमा बोलाउनु भयो। धन्यवाद दिनुभयो र काममा ध्यान दिन निर्देशन दिनुभयो’, ती मन्त्रीले भने। प्रधानमन्त्री ओलीले चार दिनपछि समीक्षा बैठक बस्ने जानकारी गराउँदै नयाँ मन्त्रीलाई कार्ययोजना ल्याउन र पुरानालाई आ–आफ्नो मन्त्रालयको प्रगतिविवरण पेस गर्न निर्देशन दिएका छन्। ओलीले मन्त्रिपरिषद् बैठकअघि मन्त्री र सचिवलाई एकै ठाउँमा राखेर चुस्त र पारदर्शी ढंगले परिणाममुखी काम गर्न निर्देशन दिएका थिए।

फागुनपछि सडकमा खाल्डा नदेखियून
प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयलाई विकासमा सहकार्य र सहउपयोगको नीतिका आधारमा कार्ययोजना बनाउन निर्देशन दिएका छन्। मन्त्री र सचिवहरुलाई बिहीबार एकै ठाउँमा राखेर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले मन्त्रालयहरूलाई मातहतका निकायमा भइरहेको कार्यप्रगतिको रिपोर्ट चार दिनभित्र तयार गर्न पनि निर्देशन दिएका छन्।

चुस्त, पारदर्शी र परिणाममुखी काम चाहियो

सहकार्य र सहउपयोग नीतिका आधारमा कार्ययोजना बनाउनुस्
सामथ्र्य र तत्परता दुवै देखाउनुस्

चिनियाँ राष्ट्रपति आउँदा जसरी काम गुर्नस्
फागुनपछि सडकमा खाल्डा नदेखियून

नयाँ मन्त्रीसँग कार्ययोजना र पुरानासँग प्रगतिविवरण माग
मिलाएर आम्दानी गरेको देखिए कारबाही हुन्छ

मन्त्रालयहरूलाई सहकार्य र सहउपयोगको नीतिका आधारमा कार्ययोजना बनाउने निर्देशन दिँदै प्रधानमन्त्रीले भने, ‘पहिले सडक पिच गर्ने, अनि पोल गाड्ने। एउटाले सडक बनाउने अर्काले भत्काउने ? भत्केको सडक जस्ताको तस्तै छोड्ने ? अब यस्तो चल्दैन। भत्काउनुअघि कहिलेसम्म निर्माण भइसक्छ, स्पष्ट योजना बनाउनु प-यो। अब हरेक मन्त्रीले विकासमा सहकार्य मात्रै होइन सहउपयोगको नीति अपनाउनु प-यो।’

विकासका लागि सरकारसँग सामथ्र्य र तत्परता दुवै छ भन्ने सन्देश दिन पनि उनले मन्त्री र सचिवलाई आग्रह गरे। सरकारसँग सामथ्र्य छ तर तत्परता छैन भन्ने जनताको आरोपलाई अब गलत साबित गर्न उनले मन्त्री र सचिवहरूलाई निर्देशन दिए। ‘सरकारले चाहेपछि त एक सातामा सडक चिल्लो हुँदो रहेछ भनेर जनताले भनिरहेका छन्। चिनियाँ राष्ट्रपति आउँदा एक सातामा सबै चिटिक्क पार्न सक्नेले सधैं चिटिक्क पार्न किन तत्परता नअपनाउने ?’ उनले मन्त्री र सचिवलाई प्रश्न गरे।

उनले फागुनमा हुने आर्थिक वर्षको दोस्रो चौमासिक समीक्षाका बेलासम्म काठमाडौं उपत्यकाका सडकमा खाल्डा देखिन नहुने बताए। ‘दोस्रो चौमासिक समीक्षाका बेलासम्म काठमाडौं उपत्यकाका कुनै पनि सडकमा खाल्डा देखिनु हुँदैन’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै अर्का एक मन्त्रीले भने, ‘विकास निर्माण भइरहेका ठाउँमा धुलो उड्नु स्वाभाविक हो, जहाँ निर्माण भइरहेको छैन, त्यहाँ धुलो उड्नु हुँदैन।’ विकास निर्माण भइरहेका ठाउँमा धुलो उड्यो भनेर गाली गर्ने प्रवृत्ति काम अघि बढ्दा स्वतः हट्ने प्रधानमन्त्रीले बताए। ‘अहिले म आफैं धुलो उड्ने ठाउँमा बसेको छु, निर्माण भइरहेका बेला धुलो उड्छ भन्ने मलाई थाहा छ। तर, जहाँ निर्माण कार्य भइरहेको छैन त्यहाँ धुलो उड्नु भएन, प्रधानमन्त्री बसेको ठाउँ होस् वा अरु कोही बसेको ठाउँ होस्,’ प्रधानमन्त्री ओलीले बन्दै गरेको बालुवाटारस्थित प्रधानमन्त्री निवासलाई लक्षित गर्दै भने।

प्रधानमन्त्री ओलीले कार्यसम्पादनका क्रममा लोभ गर्ने र मिलाएर आम्दानी गर्ने प्रवृत्ति देखिए सीधै कारबाहीको भागीदार हुने चेतावनी पनि मन्त्री र सचिवहरूलाई दिए। ‘विकास आयोजनामा सही गर्ने बेला प्रधानमन्त्रीलाई दिनुपर्छ भनेर कसैले भन्छ भने त्यो नेपाललाई गरिबीबाट मुक्त गर्ने यो सरकारको नीतिविपरीत काम गर्दैछ भन्ने स्पष्ट बुझे हुन्छ’, ओलीले भने। उनले कार्यसम्पादनमा भएको कमजोरीमाथि हुने विरोधलाई स्वीकार गर्न तर वैचारिक पूर्वाग्रह र राजनीतिक प्रतिशोधले गरिने विरोधप्रति वास्ता नगर्न आग्रह गरे। ‘काम गर्दा केही कमजोरी भएर विरोध भए तुरुन्तै सच्याउनुस्’, उनले भने।

प्रकाशित: ६ मंसिर २०७६ ००:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App