६ वैशाख २०८१ बिहीबार
राजनीति

पार्वत गुरुङः आयुर्वेदिक व्यवसायदेखि मन्त्रीसम्म

दोलखा– महिला बालबालिका तथा समाज कल्याण मन्त्रीमा नियुक्त भएका दोलखाका सांसद पार्वत गुरुङको जिल्लामा आफ्नै परिचय छ। उनी राजनीतिमा छिट्टै छलाङ मार्ने भाग्यमानी नेताका रुपमा परिचित छन्। 

जिल्लाको उत्तरी भेगबाट प्रतिनिधित्व गर्दै राजननीतिमा उदाएका उनी छोटो समयमा पार्टीको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य बने। २०७० र ७४ को संविधान सभाको निर्वाचनमा दुई पटक सांसद बनेका गुरुङ संघीय सरकारको मन्त्री बन्ने अवसर पाए। 

उनका बाबु मकरध्वज गाउँका प्रधानपञ्च थिए। गौरीशंकर गाउँपालिका–५ सुरीका गुरुङमा बुबा कै कारण राजनीतिक चेतना भरियो। गुरुङले ७ कक्षासम्म गाउँकै हलेश्वर निमाविमा पढे। त्यतिखेर जिल्ला भर ६ ओटा मात्र मावि थिए। उत्तरका २२ गाविस भरीमै लादुकमा एउटा मात्रै मावि थियो, शान्ति आदर्श मावि।

२०३९ मा लादुक गाउँको उक्त हाईस्कुलमा ८ कक्षामा भर्ना भएका उनले विद्यार्थी कालमा राजनीतिलाई नजिकैबाट बुझ्ने मौका पाए। शान्ति आदर्श माविबाट गुरुङले अखिलको सदस्यता लिएका थिए।

२०४१ मा एसएलसी दिएपछि गुरुङ कविराज पढ्न राजधानी गए। राजधानीको नरदेवी स्थित आयुर्वेदिक क्याम्पसमा पढ्दा समेत उनले अखिलको राजनीति गर्न भ्याएका थिए।

राजधानी बसेरै पेशा व्यवसाय गर्दै आएका गुरुङ २०५३ मा एमालेको जिल्ला कमिटि सदस्य बने। त्यसको बर्ष दिन पछि भएको स्थानीय निर्वाचनमा उनी ईलाका सदस्य निर्वाचित भए। २०५८ सम्म जिल्ला विकास समितिमा सदस्यको रुपमा काम गरेका गुरुङ माओवादी युद्ध चर्किएपछि राजधानी छिरे। उतै जडिबुटी क्षेत्रको व्यवसाय सुरु गरे। 

२०६७ साल देखी भने पार्वतको राजनीतिक जीवनले एकै पटक उचाई लियो। त्यति खेर नेकपाका हालका जिल्ला अध्यक्ष ईश्वर चन्द्र पोखरेललाई हराउँदै उनले एमाले दोलखाको अध्यक्षमा निर्वाचित भए। 

एमालेको जिल्ला अध्यक्ष बन्दा उनले केन्द्रसंगको समन्वय बाक्लो बनाउँदै लगे। जनजातीको मुद्धामा अशोक राई र रकम चेम्जोहरुले पार्टी टुक्राउने तयारी गर्दा एमालेका २३ जना जनजाती जिल्ला अध्यक्षहरुले तत्कालिन अध्यक्ष झलनाथ खनाल सहितको पार्टी नेतृत्व र टुक्राउन खोज्ने राईहरुलाई दबाब दिन ‘क्याम्पेनिङ’ गरेका थिए। त्यो अभियानको नेतृत्व दोलखाका अध्यक्ष गुरुङ सहित भोजपुरका तत्कालिन जिल्ला अध्यक्ष शेरधन राई लगायतले अगुवाई गरेका थिए। 

पार्टी भित्रका सिनियर जनजाती नेताहरु हिडेपछि संकटको घडीमा जनजाती अध्यक्षहरुलाई एक ठाउँमा ल्याएर पार्टी जोगाउन साथ दिएको भन्दै यिनै गुरुङ सहितका युवाहरुलाई २०७० को निर्वाचनमा पार्टीले टिकट दिएको थियो। 

०७० साल मा सांसद जितेका गुरुङ त्यसपछि एमाले दोलखाको जिल्ला ईन्चार्ज साथै काठमाडौंमा सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्य बने।

एमाले र माओवादी बीचको चुनावी गठबन्धन पछि संघीय सभा तर्फ एक सिट रहेको दोलखा एमालेको भागमा पर्यो। जिल्लाका आफु भन्दा बरिष्ठ नेताहरुलाई पछि पार्दै त्यो टिकट समेत उनैले हात पारे। निर्वाचनबाट देशभरमै ३० हजारको फरकमा कांग्रेस उम्मेदवारलाई हराएर गुरुङले अत्याधिक मतान्तरको जितेको रेकर्ड पनि उनको नाममा छ।  

प्रकाशित: ५ मंसिर २०७६ १३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App