काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्न सरकारलाई सचेत गराएको छ।
कांग्रेस उपनिर्वाचन अनुगमन समितिले बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्न सरकारलाई सचेत गराएको हो।
उपनिर्वाचन हुने जिल्लाहरुमा निर्वाचन आचारसंहिता विपरितका गतिविधिलाई निरन्तरता दिएकाले त्यसो नगर्न सरकारलाई सचेत गराउनु परेको सो समितिका संयोजक एवम् काँग्रेस नेता रमेश लेखकले जानकारी दिए।
कांग्रेसले सो उपनिर्वाचनलाई प्रभावित पार्ने खालका गतिविधिमा रोक लगाउन निर्वाचन आयोगको पनि गम्भीर ध्यानाकर्षण पनि गराएको छ। मतदातालाई प्रभावित पार्नेगरी कम्मल बाँढ्ने, डोजर चलाउने लगायतका काम सरकार र सत्तारुढ दल नेकपाका सांसदहरुले गरिरहेकाले कांग्रेसले आरोप लगाएको छ।
यता कांग्रेसले संवैधानिक परिषद ऐन अध्यादेशमार्फत् ल्याउने सरकारको तयारीप्रति पनि आपत्ति जनाएको छ। नेता लेखकले सामान्य बहुमतको आधारमा पनि संवैधानिक परिषद्ले निर्णय गर्ने गरी सो ऐन अध्यादेशमार्फत ल्याउने तयारी सरकारले गरिरहेको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाएका हुन्।
प्रकाशित: ५ मंसिर २०७६ ११:५६ बिहीबार