८ वैशाख २०८१ शनिबार
समाज

विकट क्षेत्रमा प्रहरी चौकी स्थापना

विकट क्षेत्र रुविभ्याली गाउँपालिकाको लापामा स्थापना गरिएको अस्थायी प्रहरी चौकी र प्रहरी ।

धादिङ– धादिङ जिल्लाको दक्षिणी भेगको राजमार्ग क्षेत्र र उत्तरी भेग सुुरक्षाका दृष्टिले अत्यन्त्यै संवेदनशील मानिन्छ। दक्षिणी भेगमा राजमार्ग क्षेत्र भएकाले प्रहरीले उपस्थिति बाग्लो छ तर उत्तरी भेगमा भौगोलिक कठिनाईका कारण प्रहरीको उपस्थिति न्यून छ। चाडपर्वमा हुने असुरक्षा र झैझगडा लगायतका आपराधिक घटनाले त्यस क्षेत्रका स्थानीयहरु आजित हुने गरेका छन्। स्थानीयले सुरक्षाको माग गर्दै प्रहरीलाई पटक पटक अनुरोध पनि गरिरहेका छन्।

जिल्लाको उत्तरी भेगको शान्ति सुरक्षाका लागि प्रहरी चौकी स्थापना गरिएको छ। रुविभ्याली गाउँपालिका वडा नं ५ को लापामा पहिलो पटक प्रहरी चौकी स्थापना गरिएको हो। स्थानीयहरुको आग्रहमा जिल्ला प्रहरी कार्यालय धादिङले प्रहरी परिचालन गरेको छ। प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, प्रहरी उपरीक्षक राजकुमार बैदवार, गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङ लगायतको टोली पुगी स्थापना गरेका हुन्।

जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै चौकी स्थापना गरिएको प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए। ‘भौगोलिक विकटताले उत्तरी क्षेत्रमा मोटरबाटो समेत पुग्न सकेको छैन्, गाउँमा केही घटना घटि हाल्यो भनेपनि प्रहरी पुग्न दुईदिनसम्म लाग्छ’, उनले भने, ‘स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गरेर लापामा प्रहरी चौकी स्थापना गरेका हौँ, यसबाट सूचनाको पहुच र प्रहरीको उपस्थिति बलियो हुनेछ।’ प्रहरी चौकीको स्थापनाले उत्तरी क्षेत्रमा भएका गतिविधि तथा घटना छिटो र सजिलो जानकारी हुने आशा गरिएको छ।

चीनसँग जोडिएको जिल्लाको सबैभन्दा उत्तरको लापामा स्थापना गरिएको प्रहरी चौकीबाट रुविभ्याली, गंगाजुमना, खनियाबास गाउँपालिकाका विभिन्न ठाउँहरु समेट्ने बैदवारले बताए। पछिल्लो समय यस क्षेत्रका बासिन्दाले जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानिय सरकारसंग सुरक्षाका लागि माग गरेका थिए। गाउँगाउँमा सिंहदरबार भन्ने नारासहित स्थानीय सरकार सञ्चालन भएपछि सुरक्षा अवस्थामा सुधारमा चासो नदिएकाले प्रहरीलाई पटक पटक अनुरोध गरेका थिए। प्रशासन, प्रहरी र स्थानीय सरकारको पहलमा स्थानीयको गुनासो सम्बोधन भएको छ।

उत्तरका स्थानीयको सुरक्षाका लागि यसैबर्षबाट १५ जनाको दरबन्दी हुने गरि स्थायी रुपमा नै प्रहरी चौकी स्थापना गरिएको छ। तत्कालका लागि स्थानीयकै घर भाडामा लिई संचालन गरिएको छ, पछि दरबन्दी अनुसारको प्रहरी परिचालित भएपछि प्रहरीको आफ्नै घर बनाईने प्रहरी उपरीक्षक बैदवारले जानकारी दिए । गाउँमा प्रहरी चौकी स्थापना भएपछि स्थानीयहरु पनि खुसी भएका छन्।

शान्ति सुरक्षाको प्रत्याभूतिका लागि प्रहरी र मानिसको सम्वन्ध सकारात्मक हुने भन्दै प्रहरी चौकीको स्थापनामा उत्तरका स्थानीयहरु खुसी भएका छन्। ‘हरेक मान्छेलाई विपत्ति आईलाग्यो भने उसको मुखबाट निस्कने पहिलो शब्द भनेको भगवान हो र त्यसपछि उसले खोज्ने साहारा भनेको प्रहरी संग हो’ लापाका सुक लामाले भने, ‘तसर्थ समाजमा हुने अपराधिक घट्ना रोक्न, स्थानियहरुलाई सुरक्षाको अनुभूति दिलाउन प्रहरी महत्वपूर्ण माध्यम हुन्छ र हामीलाई पनि आवश्यक छ त्यो अहिले पूरा भयो।’

स्थापना गरिएको प्रहरी चौकीमा ६ जना प्रहरी परिचालन गरिएको छ। भौगोलिक दुरी टाढा भएपनि चौकी स्थापनापछि दुरदराजमा घटेका घटना, सूचना तथा गतिविधि थाहा पाउने अपेक्षा लिइएको छ। दुरदराजमा सुरक्षाको पहुँच, विकृति विसङगति हटाउन, पर्यटकको सुरक्षा, लैङिगक हिंसा न्यूनिकरणका लागि प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम गाउँगाउँमा पु¥याएका छन्।

रुविभ्यालीको लापा पुग्न सदरमुकाम धादिङबेसीबाट दुई दिन लाग्छ । त्यहाँ अहिलेसम्म सडकसंजाल पुग्न सकेको छैन्। गाउँपालिकाले तिप्लिङसम्म सडकको ट्याक खोलेपछि सवारीसाधन गुड्न सकेको छैन्। शिक्षा, स्वास्थ्य, खाद्यन्न, सरसफाई लगायतका आधारभूत सेवा लिन सदरमुकामनै आउनुपर्छ।

प्रकाशित: ५ मंसिर २०७६ १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App