coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सुरु हुँदै ‘न्वागी जात्रा’

धादिङ - विभिन्न धार्मिक स्थलमा लगेर मंसिर महिना भरी गरिने देवीहरुको पुजाआजासहितको ‘न्वागी जात्रा’ सुरु हुँदैछ। आगामी मंसिर १२ र १३ मा देवीहरुलाई पिठ्युँमा बोकेर विभिन्न मन्दिर पु-याइने न्वागी जात्रा लाग्ने स्थानीय त्रिपुरासुन्दरी गाउँपालिकामा सदस्यहरुले जनाएका छन्।

पहाडी क्षेत्रको ठूलो मेलाको रुपमा लिइएको न्वागी जात्राको साइत दसैंमा हेरिन्छ। देवीलाई बेसीको मन्दिरमा लैजाने अघिल्लो दिन र रातभर गाउँको विभिन्न मन्दिरमा मेला लाग्ने गर्दछ। देवीलाई बेसीको मन्दिरमा पु-याइसकेपछि भोलिपल्ट दिनभर बेसीको मन्दिरमा भव्य मेला लाग्ने गर्दछ। वर्षको तीन पटक देवीलाई विभिन्न मन्दिरमा सारेर पुजाआजा गर्ने रोचक परम्परा छ। सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुई वटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म देवीलाई पूर्वपट्टीको मन्दिरमा राखेर पुजाआजा गर्ने प्रचलन रहेको छ। मंसिरदेखि चैत्रसम्म देवीलाई आगिन्चोकस्थित बेसीको मन्दिरमा राखिन्छ। सल्यानकोटको पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा आठ महिनाभन्दा देवीलाई पुजाआजा गरिने जानकारहरु बताउँछन्।

पुजारीबाहेकले देवीलाई हेर्न र छुन नपाउने अनौठो प्रचलन समेत रहीआएको छ।त्रिपुरासुन्दरी देवीलाई लिएर विभिन्न किंबदन्ती भेटिन्छ। नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राती सपनामा एक बालिकाले आर्शिवाद दिएको प्रसंग दिव्योपदेशमा उल्लेख छ। शिलालेखमा उल्लेख भए बमोजिम नेपाल एकीकरणको बेला पृथ्वीनारायण शाहले यसै त्रिपुरा भगवतीको आशिर्वाद पाएपछि मात्र नुवाकोट तथा काठमाडौंको विजय सम्भव भएको भन्ने कथन छ।

जात्रामा सहभागी हुन छिमेकी जिल्लाहरुबाट समेत भक्तजनहरु आउने गर्छन्। त्रिपुरासुन्दरीको सल्यानकोट र आगिन्चोकमा गरेर दुई वटा मन्दिर रहेको छ। मंसिर महिनामा त्रिपुरासुन्दरी गापा –४ सल्यानकोटमाथि डांडाको मन्दिरबाट देवीको मूर्तिलाई बाकसभित्र राखी पिठ्यँुमा बोकेर त्रिपुरासुन्दरी गापा–६ माईथान बेसीको मन्दिरमा ल्याइन्छ।

प्रकाशित: ५ मंसिर २०७६ ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App