७ वैशाख २०८१ शुक्रबार
समाज

'पूर्वगृहमन्त्री घिमिरेको दुर्घटनामा बाह्य तत्त्वको संलग्नता देखिएन'

काठमाडौं- पूर्वगृहमन्त्री माधव घिमिरेको सडक दुर्घटनाबारे छानबिन गर्न गठित समितिलेसडकका छेउमा दुर्घटना भइहाले पनि सवारीसाधन नदीमा खस्न रोक्नसक्ने बलियो संरचना निर्माण गर्न सरकारलाई सुझाव दिएको छ। समितिले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको प्रतिवेदनमा घिमिरेको दुर्घटनामा कुनै बाह्य तत्वको हात नरहेको र घिमिरेले चलाएको जिप ओभरटेक गर्न खोज्दा अनियन्त्रित भएर त्रिशूली नदीमा खसेको उल्लेख छ।

पूर्वमुख्य सचिव तथा गृहमन्त्री घिमिरे चढेको जिप असोज ९ गते साँझ पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो।  घिमिरेसहित उनका एक भाइको अवस्था अझै अज्ञात छ। दुर्घटनामा घिमिरेकी आमा चैतन्यकुमारी, सुरक्षागार्ड सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्› कार्की र आफन्त नारायण काफ्लेको मृत्यु भएको थियो।

पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको नेतृत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले साढे दुई महिना अध्ययन अनुसन्धानपछि प्रतिवेदन सरकारलाई बुझाएको हो। समितिका एक सदस्यका अनुसार घिमिरेको सम्पर्कसूत्र केलाउनेदेखि दुर्घटना भएको समय र स्थानमा आएका सम्पूर्ण कल डिटेल निकालेर समितिले अध्ययन गरेको थियो। जिप नदीमा खसालेर घिमिरेको हत्या गरिएको हुनसक्ने आशंका परिवारले गरेपछि छानबिन समितिले अपराध अनुसन्धानको कोणबाट समेत छानबिन गरेको हो।

'हामीले धेरैपटक दुर्घटनास्थल पुगेर अनुसन्धान गर्‍यौं, दुर्घटनामा कुनै बाह्य तत्वको संलग्नता देखिएन,' समितिका सदस्य सचिव रहेका गृहप्रवक्ता बालकृष्ण पन्थीले भने। उनका अनुसार समितिले बुझाएको प्रतिवेदन अनुसार सडक सुधार र पहिचान भएका दुर्घटनास्थलमा आवश्यक संरचना निर्माण तत्कालै गर्न सुझाइएको छ।

असोज ११ गते मन्त्रिपरिषद बैठकले पूर्वगृहमन्त्री घिमिरे चढेको कार दुर्घटनाको छानबिन गर्न रानाको संयोजकत्वमा प्रहरी अतिरिक्त महानिरीक्षक केदारप्रकाश साउद, सशस्त्र अतिरिक्त महानिरीक्षक प्रेमकुमार शाही र भौतिक योजना मन्त्रालयका सहसचिव दयाराम झा सदस्य रहेको समिति गठन गर्ने निर्णय गरेको थियो। सरकारले छानविन समितिलाई पृथ्वी राजमार्ग र मुग्लिङ– नारायणगढ सडक खण्डमा आवागमनलाई सरल बनाउन र सवारी दुर्घटनालाई न्यूनीकरण गर्न आवश्यक सुधारका विषयमा समेत सुझाव पेस गर्न निर्देशन दिएको थियो।

प्रकाशित: २४ मंसिर २०७३ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App