७ वैशाख २०८१ शुक्रबार
अर्थ

रसुवागढीमा सुक्खा बन्दरगाह बन्दै

रसुवाको टिमुरेमा निर्माण हुन लागेको सुक्खा बन्दरगाह शिलान्यास गरिँदै। तस्बिर : हिमनाथ/नागरिक

रसुवा – रसुवागढी नाकामा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको शिलान्यास गरिएको छ। रसुवाको टिमुरेमा बुधबार एक कार्यक्रम आयोजना गरी बन्दरगाहको शिलान्यास गरिएको हो।

नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव पार्वती अर्याल र चीनको इन्टरनेसनल इकोनोमिक एक्सचेन्ज सर्भिस सेन्टर अफ टिबेट कमर्स डिपार्टमेन्ट अफ चाइनाका निर्देशक पियान चनले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

चीन सरकारको सहयोगमा साढे दुई वर्ष (३० महिना)मा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको मन्त्रालयकी उपसचिव पार्वती अर्यालले बताइन्।  बन्दरगाह निर्माणका लागि निर्माण सामग्रीसहित चिनियाँ कामदार साइडमा आइसकेका छन्। निर्माणको जिम्मा पाएको तिब्बेत फुली कन्स्ट्रक्सनले सामग्री आयात गर्नुमा साथै जग्गा सम्माउने काम गरिसकेको छ।

निर्माण कार्य सुरु भइसकेको र मुआब्जा पाउन बाँकी रहेका प्र्रभावितको अध्ययन गर्ने काम भइरहेको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। समितिका सिभिल इन्जिनियर प्रमोद आचार्यका अनुसार बन्दरगाह निर्माणका लागि टोली आइसकेकाले काम प्रभावित हुन नदिन नेपाली पक्षले आवश्यक समन्वय गर्ने छ।

‘चीन सरकारको लगानीमा चिनियाँ टोलीले नै निर्माण गर्ने भएकाले हामीले समन्वय मात्रै गर्छौं,’ उनले नागरिकसँग भने, ‘नेपाली पक्षले के काम गर्ने र चिनियाँ पक्षले कसरी काम गर्ने विषयमा छलफल भइरहेको छ।’ बन्दरगाह अभावका कारण धेरै समस्या झेल्नुपरेको र शिलान्यास भएसँगै बन्दरगाह निर्माण हुने निश्चित भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए।

चीन सरकारले दुई चरणमा बन्दगाह निर्माण गर्ने जनाएको छ। डिजाइन अनुसारको काम पहिलो चरणमा पूरा गर्ने र बाँकी काम दोस्रो चरणमा गरिने छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा बन्ने बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरिसकिएको छ।

लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको एक सय नौ रोपनी गरी साढे आठ हेक्टर जग्गा अधिग्रहण गरिसकिएको छ। चिनियाँ लगानीमा चिनियाँ पक्षले नै निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने द्विपक्षीय सम्झौता भएको छ।

समितिले २०७५ माघ १ गते चीनको छेन्दु पुगेर सुक्खा बन्दरगाहको डिजाइन स्वीकृतिको सम्झौता गरेको थियो। नेपाली पक्षले स्थानीय समस्या समाधान गर्ने, सुरक्षाको प्रबन्ध मिलाउने, सामग्री आयातमा भन्सार छुटको व्यवस्था गर्ने लगायत कार्य गर्नेछ।

निर्माण अवधिभर नेपाली पक्षले अनुगमन, निगरानी र समन्वयको भूमिका निर्वाह गर्नेछ। आर्किटेक्चरल रिकन्नाइन्सेन्स एन्ड डिजाइन इस्टिच्युट अफ द तिबेत अटोनोमस रिजनले डिजाइन तयार पारेको थियो। बन्दरगाहमा पार्किङस्थल, गोदाम घर, प्रशासनिक भवन, जाँचपास स्थल, भन्सार, क्वारेनटाइन, बैंक, ल्याब रहने छ।

बन्दरगाहमा पाँच हजार वर्गमिटरको पाँचतले प्रशासनिक भवन, सात सय ५० वर्गमिटरको एउटा गोदाम, दुई हजार ८० वर्गमिटरका दुईवटा जाँचपास स्थल रहने उनले बताए। निर्माण सुरु भएको ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको चिनियाँ पक्षले जनाएको छ। बन्दरगाहमा तीन सय ५० वटा मालवाहक गाडी पार्किङ गर्न सकिनेछ। साढे आठ हेक्टर जमिनमा बन्दरगाह निर्माण हुने समितिले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०७६ ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App