८ वैशाख २०८१ शनिबार
समाज

अग्ला घरको चेपुवामा कारागार

काठमाडौं सुन्धारास्थित जगन्नाथदेवल कारागार। तस्बिर: नागरिक

काठमाडौं - तलबाट हेर्दा आँखैले तला छुट्याउन नसकिने अग्ला घर। टाँसिएझैं देखिने घरको बीचमा खाल्डो परेको साँघुरो भूभाग। करिब ११ रोपनी क्षेत्रफल भएको त्यो भूभागलाई छुट्याएको छ– गोलो पारेर बेरिएको काँडेतारले। त्यही काँडेतारको बीचबीचमा साना गोला घर (क्याम्प) छन्। त्यति मात्र होइन, हतियारसहितका मान्छे पनि उभिएका छन्। त्यो हो– नख्खु कारागार। हतियारसहित उभिएकाहरू त्यसको सुरक्षा दिइरहेका छन्।

कारागार इलाकामा सयभन्दा बढी सुरक्षाकर्मी पनि छन्। तर, सुरक्षाकर्मी यसो ठाडो भएर नियाल्दा तीन घरमात्रै देखिन्छ। उनीहरूले कारागारको भूभागबाहेक बाहिरी दृश्य देख्दैनन्। अग्ला घरले वरिपरिको दृश्य छेकिदिएको छ। कारागार अहिले वरिपरिका अग्ला घरको चेपुवामा रहेको सुरक्षाकर्मी नै बताउँछन्। गहिरो भागमा पर्ने कारागारलाई अग्ला घरले छेकेका कारण कारागारको सुरक्षामा चुनौती थपिएको उनीहरूको भनाइ छ।

‘अहिले जुनसुकै संवेदनशील क्षेत्रलाई पनि अग्ला घरले चुनौती थपिदिएका छन्,’ कारागारका कार्यालयका डिएसपी सरोज कार्कीले भने, ‘वरिपरि छ्याङ्गै नदेखिने क्षेत्रमा यस्ता ठाउँ बनाउनु सुरक्षाको हिसाबले पनि उत्तिकै गम्भीर हो।’

उनका अनुसार वरीपरीको दृश्य नदेखिने हुँदा बाहिरी सुरक्षा थे्रटको डर र कैदीबन्दी भाग्न सक्ने सम्भावना देखिन्छ। विगतमा कारागारको पर्खाल चढेर अग्ला घरबाट कैदी भागेको घटना प्रहरीसँग रहेको उनको भनाइ छ। ‘भित्र जतिसुकै सुरक्षाकर्मी राखिए पनि वरिपरिको दृश्य सहज छैन भने अवश्य पनि त्यहाँको सुरक्षा व्यवस्थामा केही चुनौती पक्कै हुन्छ, त्यसकारण बाहिरी सुरक्षामा पनि कडाइ हुनुपर्छ,’ उनले भने।

नख्खु कारागार मात्रै होइन, उपत्यकाका सबै कारागार वरिपरिको दृश्य यस्तै छन्। सुन्धारास्थित जगन्नाथदेवल कारागार र डिल्लीबजार कारागारको अवस्था पनि उस्तै छ। सुन्धारा कारागारालाई पनि अग्ला घरले छेकिदिएको छ। कारागार इलाकामा तैनाथ सुरक्षाकर्मी राखिएपछि तीनै अग्ला घरलाई प्रयोग गरेर कारागारमाथि अर्को अपराध गर्न सक्ने सम्भावना समेत देखिएको नख्खु कारागार प्रशासनका कार्यालय प्रमुख सुरेन्द्र पौडेल बताउँछन्। उनका अनुसार उपत्यकाका सबैजसो कारागारको अवस्था उस्तै छ। ‘मैले धेरै ठाउँका कारागार प्रशासनमा रहेर काम गरेँ, उपत्यका बाहिरका कारागारमा त त्यति समस्या छैन। तर, यहाँका कारगार अग्ला घरका चेपुवामा छन्,’ उनले भने, ‘यसले कारागार इलाकालाई असुरक्षितसमेत बनाएको हुन्छ।’

त्यसो त कारागार वरिपरि निजी घर बनेकाले त्यसको खासै समाधान खोज्न नसकिने पौडेलको भनाइ छ। तर, नयाँ कारागार र सुरक्षा अंगका कार्यालय बनाउँदा वरिपरिको दृश्य र जमिनलाई पनि मध्यनजर गर्नुपर्ने उनको सुझाव छ। कारागार व्यवस्थापन विभागका कायम मुकायम महानिर्देशक वासुदेव घिमिरेले कारागारलाई पर्याप्त ठाउँ भएका कारण व्यवस्थित नभएको बताए। उनले सुरुमै कारागार बनाउँदा स्थानको ख्याल नगर्दा वरिपरि अव्यवस्थित तरिकारले अग्ला भवन बनेको उनको भनाइ छ। ‘उपत्यकाका कुनै पनि कारागारलाई पुग्दो भूभाग छैन, साँघुरो स्थानमा कारागार व्यवस्थापन गर्नुपर्ने अवस्था छ। ठाउँ साँघुरो हुँदा त्यसले सुरक्षा व्यवस्थामा पनि चुनौती थपेको छ,’ उनले भने।

उनका अनुसार वरिपरि अग्ला भवन हुँदा कैदी भाग्न सक्ने र घरको प्रयोग गरेर पनि कारागार क्षेत्रमा अपराध बढाउन सक्नेजस्ता विभिन्न घटना हुने डर देखिन्छ। उनले भने, ‘सुरक्षा व्यवस्थापनको हिसाबले पनि अग्ला घर चुनौती हुन्। सुरक्षा निकायको सामुन्ने यस्ता ठूला भवन बनाउँदा त्यसले सुरक्षा क्षेत्रलाई नै मलिन बनाउँछ।’ उनले कारागारको क्षेत्रफल सानो भएकाले त्यसभित्रका संरचना समेत साँघुरो भएको बताए।

प्रकाशित: ५ मंसिर २०७६ ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App