८ वैशाख २०८१ शनिबार
खेल

एन्फाकै कारण गम्भीर क्षति

भदौमा मंगोलियाको राष्ट्रिय रंगशालामा प्लेअफका लागि छनोट भएपछि थ्रीस्टारका खेलाडी तथा पदाधिकारी। फाइल तस्बिर

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को लापरबाहीले नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लब एएफसी कपको प्लेअफ खेल्ने अधिकारबाट वञ्चित भएको छ। भदौमा मंगोलियामा सम्पन्न एएफसी कप प्लेअफ छनोटअन्तर्गत समूह 'बी' को च्याम्पियन बन्दै थ्री स्टार अघिल्लो चरणका लागि छानिएको थियो। प्रारम्भिक छनोटको आफ्नो समूहमा दुई खेलबाट ४ अंक जोड्दै शीर्ष टोलीका रुपमा थ्री स्टार चयन भएको थियो। अन्य सहभागी मंगोलियाको इर्चिम एफसी ३ अंकले दोस्रो तथा कम्बोडियाको नागावर्ल्ड क्लब १ अंकले पुछारमा सीमित भएको थियो।

एएफसीले बारम्बार ताकेता गर्दा पनि एन्फाले टिम दर्ता नगराउँदा थ्री स्टार क्लब एएफसी कपको प्लेअफ खेल्न वञ्चित।

समूहको शीर्ष टोली स्वतः प्लेअफका लागि छानिने प्रस्ट प्रावधान भए पनि नेपाली फुटबलको सर्वोच्च निकायको असावधानीले थ्री स्टारको ठाउँमा उपविजेता इर्चिमले प्लेअफ खेल्ने मौका पाएको छ।

एन्फाले समयमा एसियाली फुटबल महासंघ (एएफसी) मा क्लब तथा टिम दर्ता नगराएका कारण थ्री स्टार छनोट चरण पार गरे पनि पहिलो एएफसी कप खेल्नबाट वञ्चित भएको हो। एएफसी कपको प्लेअफका लागि अर्को मंगलबार एएफसी मुख्यालयमा 'ड्र' हुँदै छ। त्यसका लागि एएफसीले आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको देश र टिमको नामावलीमा नेपाल र छनोट चरण पार गरेको थ्री स्टार क्लबको नाम छैन।

एएफसीले बारम्बार ताकेता गर्दा पनि एन्फाले टिम दर्ता प्रक्रियामा उदासीनता देखाउँदा थ्री स्टारको ठाउँमा इर्चिमलाई समावेश गरेको बताइएको छ। एन्फालाई मंगलबार प्रेषित इमेलमा एएफसीका प्रतियोगिता विभाग निर्देशक सिन मान गिलले चारपटक ताकेता गर्दा पनि एन्फाले जवाफ नदिएकाले थ्री स्टारलाई सहभागी गराउने सम्भावना सकिएको प्रस्ट्याएका छन्।

'हामीले सेप्टेम्बर २६ मा प्रारम्भिक पत्र पठाएपछि पनि तीनपटक (अक्टोबर ३०, नोभेम्बर २१ र नोभेम्बर २५) मा इमेलमार्फत स्मरण गराउँदासमेत एएफसीले एन्फाबाट कुनै जवाफ पाएन। साथमा सहभागी टिमको सम्झौता, दर्ता फारम र जर्सीको रङजस्ता डकुमेन्ट पनि एएफसीमा तपाईंको संघबाट उपलब्ध गराइएन,' एन्फा महासचिव धीरेन्द्र प्रधानलाई सम्बोधन गर्दै गिलले मंगलबार पठाएको इमेलमा लेखिएको छ, 'नोभेम्बर १४ सम्मको समयसीमामा टिम दर्ता नभएपछि हामीले नोभेम्बर २१ मा स्मरण गराउँदै नोभेम्बर २३ सम्मको नयाँ समयसीमा दिएका थियौं तर त्यसमा पनि दर्ता नभएपछि एक साताभित्र 'ड्र' गर्नुपर्ने अवस्थामा एएफसीले थ्री स्टार क्लबको दर्ता स्वीकार गर्न नसक्ने जानकारी गराउँछौं।'

थ्री स्टारका महासचिव सञ्जीव शिल्पकारले एएफसीको वेबसाइटमा नेपाल र थ्री स्टारको नाम नदेखेको तर एन्फाबाट कुनै आधिकारिक जानकारी नआएको बताए। 'हामीले एएफसीको वेबसाइटमा थ्री स्टारको नाम देखेनौं। यस विषयमा एन्फासँग हामीले जानकारी माग गरेका छौं। एन्फाबाट सत्य तथ्य प्रष्ट पारिएपछि थप बोल्न सकिन्छ,' शिल्पकारले नागरिकसँग भने, 'हामीले एएफसी कप खेल्न पाएनौं भने त्यो नेपाली फुटबलका लागि दुर्भाग्यको विषय हुनेछ। हामीले छनोट चरणमा मात्र ७० लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेका छौं। धेरै मिहिनेत र ठूलो आँटका कारण हामी प्लेअफमा छनोट हुन सफल भयौं। छनोट भएपछि हामीले दोस्रो चरणका लागि तयारी पनि सुरु गरिसकेका थियौं तर अन्तिम समयमा यस्तो सुन्दा हामी निकै निराश छौं। तथापि खेल्न पाउनेमा हामी आशावादी छौं।'

समुदायमा आधारित क्लब थ्री स्टारमा बिहीबार बिहानैदेखि यस विषयमा जानकारी लिने समर्थकको घुइँचो लागेको शिल्पकारले बताए। 'थ्री स्टार नेपालको प्रतिनिधिका रुपमा एएफसी कप प्लेअफलाई छानिएको थियो। त्यसैले यो विषय क्लबको मात्र नभई सम्पूर्ण समर्थक र नेपाली फुटबलको चासोको विषय हो,' शिल्पकारले भने, 'कसैको उदासीनताका कारण देशको प्रतिनिधिमाथि अन्याय हुनु हुँदैन।'

भदौ पहिलो साता सुरु छनोट चरणमा नेपाली प्रतिनिधि थ्री स्टारले पहिलो खेलमा घरेलु टोली इर्चिम एफसीलाई २–० ले हराएपछि अर्को खेलमा नागावर्ल्डसँग १–१ को बराबरी नतिजा निकाल्दै शीर्ष स्थान हासिल गरेको थियो। भदौ ५ मा सम्पन्न पहिलो खेलमा अजायी मार्टिन्स कायोडे र कप्तान विक्रम लामाको गोलमा विजय हासिल गरेको थ्री स्टारले दोस्रो खेलमा बराबरी नतिजा निकाल्दा नाइजेरियाका मार्टिन्सले नै गोल गरेका थिए। सँगै भएको छनोट प्रतियोगिताअन्तर्गत समूह 'ए' बाट किर्गिस्तानको डोर्डोई डाइनामो तथा समूह 'सी' बाट चाइनिज ताइपेईको टाटुङ एफसी प्लेअफका लागि छानिएका थिए।

एसियाली फुटबल महासंघ (एएफसी) को क्यालेन्डरअनुसार आठ टोली सहभागी हुने प्रतियोगिताको प्लेअफ जनवरीमा हुनेछ भने प्लेअफको 'ड्र' मंगलबार क्वालालम्पुरमा हुँदै छ।

सन् २००५ मा पहिलोपल्ट प्रेसिडेन्ट्स कप फुटबल हुँदा नेपालको प्रतिनिधित्व गरेको थ्री स्टारले गत वर्षको राष्ट्रिय लिग जित्दै एएफसी कप पनि पहिलोपटक खेल्ने मौका पाएको थियो। त्यतिबेला काठमाडौंमा सम्पन्न प्रेसिडेन्ट्स कपको सेमिफाइनलसम्म पुगेर टाई–ब्रेकरमा पराजित थ्री स्टार यसपालि पनि अघिल्लो चरणका लागि छानिएको थियो तर एन्फाको गैरजिम्मेवारीले टोली एएफसी कपमा भने दोस्रो चरण खेल्नबाट वञ्चित भयो।

एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले एन्फाबाट टिम दर्तामा त्रुटि भएको स्विकार्दै जिम्मेवारी लिने बताए। 'प्रेसिडेन्ट्स कपमा जस्तै छनोट भइसकेपछि दर्ता गर्नु पर्दैन भन्ने लागेर हामीले एएफसीको पत्रमा खास ध्यान दिएनौं। पछि उनीहरुले रिमाइन्डर पठाउँदा पनि त्यही होला भन्ने ठानियो। यसपालिका लागि छनोट भइसकेको छ, यो पत्र अर्को वर्षका लागि होला भन्ठान्यौं,' तुलाधरले भने, 'केही दिनअघि चाहिँ हामीलाई सबथोक प्रस्ट भयो तर त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो। एन्फाबाट गल्ती भएको छ। हामी जिम्मेवारी लिन्छौं, तर हाल विदेशमा रहनुभएका अध्यक्ष र महासचिव आएपछि मात्र यस विषयमा विस्तृतमा भन्न सकिन्छ।'

सोमबार फिफाको कार्यक्रममा सहभागी हुन सिंगापुर गएका एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ र महासचिव प्रधान बिहीबारै राति ढिलो गरी नेपाल फर्किएका थिए। तुलाधरका अनुसार अध्यक्ष र महासचिव सिंगापुर पुगिसकेपछि थ्री स्टारको सहभागिता नहुने विषयमा सबथोक जानकारी भएको थियो। त्यही जानकारीका आधारमा एन्फा अध्यक्ष श्रेष्ठले एएफसीका अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खलिफा तथा फिफाका पदाधिकारीसँग विशेष अनुरोध गरेपछि थ्री स्टार सहभागी हुने झिनो आशा बाँकी रहेको उनले बताए।

'अध्यक्षले असमझदारी सिर्जना भएको भन्दै एएफसी अध्यक्षलाई विशेष अनुरोध गर्नुभएको छ। एएफसीका अध्यक्षको निर्देशनअनुसार हामीले उहाँलाई पत्राचार गरेका छौं। गाह्रो भए पनि थ्री स्टार सहभागी हुने झिनो आशा बाँकी छ,' तुलाधरले भने।

यसैबीच, शुक्रबार सातदोबाटोस्थित मुख्यालयमा एन्फाको बोर्ड बैठक बस्दै छ। विधान संशोधनका लागि मस्यौदा समिति बनाउने, आर्थिक नियमावली तथा कर्मचारी नियमावली बनाउने, खाली रहेको एक उपाध्यक्ष पदमा मनोनयन तथा एएफसी सोलिडारिटी कप विजेता राष्ट्रिय टोलीको सम्मान गर्नेलगायत विषयलाई अजेन्डा बनाएर बोलाइएको बैठकमा यस विषयले पनि प्रवेश पाउने तुलाधरले बताए।

एएफसी कप एएफसीले एसियाली क्लबका लागि स्थापना गरेको दोस्रो श्रेणीको प्रतियोगिता हो। यसअघि एएफसीले सदस्यराष्ट्रलाई तीन श्रेणीमा विभाजन गरी 'ग' श्रेणीका राष्ट्रका लिग च्याम्पियनबीच एएफसी प्रेसिडेन्ट्स कपमा प्रतिस्पर्धा गराउँथ्यो। प्रेसिडेन्ट्स कप २०१४ मा अन्तिमपल्ट आयोजना भएको थियो।

अर्को वर्ष हुने एएफसी कप चौधौं संस्करण हो।

प्रकाशित: २४ मंसिर २०७३ ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App