coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

परीक्षण प्रसारणको तयारीमा भोटेकोसी

पुनर्निर्माण गरिएको भोटेकोसी जलविद्युत् आयोजनाको बाँध। तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक – मुलुककै निजी क्षेत्रको सबैभन्दा ठूलो ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत् आयोजनाले परीक्षण प्रसारणको तयारी थालेको छ। साढे तीन वर्षअघिको भोटेकोसी बाढीले क्षतिग्रस्त आयोजना पुनर्निर्माण सकिएपछि व्यावसायिक उत्पादनमा जानुअघि परीक्षण प्रसारणको तयारी अघि बढाएको हो।

आयोजना सञ्चालक भोटेकोसी पावर कम्पनीका प्रबन्धक बबिन प्रधानले आन्तरिक परीक्षण सफलतापूर्वक सकिएको बताए। ‘अब परीक्षण प्रसारणमा जाने तयारी गरिरहेका छौं,’ उनले नागरिकसँग भने। उत्पादन प्रसारण परीक्षणका लागि विद्युत् प्राधिकरणसँग अनुरोध गरिएको प्रधानले जानकारी दिए। उनका अनुसार आयोजना व्यावसायिक उत्पादनमा जानुअघि प्राधिकरणले परीक्षण गर्नुपर्ने प्रावधान छ।

‘अबको एक सातामा प्राधिकरणले परीक्षणको काम सक्ने आशा छ,’ प्रबन्धक प्रधान भन्छन्, ‘प्राधिकरणको काम सकिँनासाथ व्यावसायिक उत्पादनमा जान्छौं।’ चाँडोमा एक हप्तादेखि ढिलोमा दुई साताभित्रै आयोजना व्यावसायिक उत्पादनमा जाने उनले बताए। पुनर्निर्माण सकिएपछि आयोजनाले संरचना र मेसिनरी उपकरणको परीक्षण गरेको थियो। निर्मित संरचना र जडित उपकरणले सफलतापूर्वक काम गरेपछि आयोजना परीक्षण उत्पादनको चरणमा पुगेको हो।

कम्पनीले आयोजनाको बाँध, सुरुङ, टनेल, ट्रान्सफर्मर, जेनेरेटर र टर्बाइनसहितको हेडवक्र्सको परीक्षण सफल भएको जनाएको छ। आयोजना पुनर्निर्माण सकिएपछि दुई साताभन्दा बढी समय लगाएर आन्तरिक परीक्षण गरिएको थियो। आयोजनाले कात्तिकभित्रै व्यावसायिक उत्पादनमा जाने तयारी साथ काम अघि बढाएको थियो। तर, आन्तरिक परीक्षणमा समय लाग्दा उत्पादन केही ढिलो हुन पुगेको आयोजनाका महाप्रबन्धक विक्रमरत्न स्थापितले बताए। ‘व्यावसयिक उत्पादनमा जान तीव्र गतिले काम भइरहेको छ,’ उनले भने।

परीक्षण प्रसारण सकेर चाँडोमा एक हप्तादेखि ढिलोमा दुई साताभित्रै आयोजना व्यावसायिक उत्पादनमा जाने भोटेकोसी पावर कम्पनीका प्रबन्धक बबिन प्रधान बताउँछन्। पूर्ण क्षमता ४५ मेगावाट भए पनि हिउँदको समय भएकाले आयोजनाले तत्काल २५–३० मेगावाट विद्युत् उत्पादन गर्ने प्राविधिकले औंल्याएका छन्।

हिमनदी भोटेकोसीको पानी बहाव घटेकाले पूर्णक्षमतामा भने उत्पादन नहुने उनले जानकारी दिए। उनका अनुसार हिँउद पानी घट्ने समय हुँदा उत्पादन पनि घट्छ। फागुन अन्तिम सातादेखि पानी बहाव बढ्दा उत्पादन पनि क्रमशः बढ्दै जान्छ। असारदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ। आयोजनाले तत्काल २५–३० मेगावाट विद्युत् उत्पादन गर्ने प्राविधिकले औंल्याएका छन्।

२०७३ असार २१ गते तिब्बती हिमताल फुटेर आएको भोटेकोसी बाढीले प्रारम्भदेखि नै पुनर्निर्माण गर्नुपर्ने गरी आयोजना क्षतिग्रस्त बनाएको थियो। कम्पनीले २० महिना समय लगाएर आयोजना पुनर्निर्माण सकेको हो। चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो ११ ब्युरोले ‘फास्ट ट्र्याक’मार्फत ठेक्कामा आयोजना पुनर्निर्माण सकेको कम्पनीले जनाएको छ। ठेक्का र आयोजनाको समग्र पुनर्निर्माणमा सात अर्ब रुपैयाँ खर्च भएको कम्पनीका महाप्रबन्धक स्थापितले जानकारी दिए।

पुनर्निर्माणमा खर्च भएको रकम नयाँ आयोजना बनाएसरहकै लागत भएको कम्पनीको भनाइ छ। उसकाअनुसार क्षति धेरै भएकाले लागत बढेको हो। भूकम्प, बाढीलगायत प्राकृतिक प्रकोपबाट पाठ सिक्दै आयोजना पहिलेका भन्दा बलियो बनेको कम्पनीले दाबी गरेको छ। आयोजनाको बाँध, उत्पादन गृह, पेनस्टक पाइपलाई छुट्टै संरचनाद्वारा संरक्षण गर्ने काम भएको छ। कम्पनीले आयोजनाको सबै इलेक्ट्रोनिक्स सामान नयाँ फेरेको जनाएको छ।

भोटेकोसी बाढीले तातोपानीको १० किलोस्थित आयोजनाको बाँध पुरिदिएको थियो भने त्यहाँ ठूलो परिमाणमा ग्रेगर र ठुल्ठूला ढुंगा थप्र्रिँदा बाँध फुट्नुका साथै हेडवक्र्स नै क्षतिग्रस्त बनेको थियो। बाढीले बाँधको एउटा भाग खोतलेर बालुवा थेग्राउने पर्खाल ध्वस्त बनाउँदै पावर हाउसको इलेक्ट्रो मेकानिकल संरचनामा क्षति पु-याएको थियो।

२०७२ वैशाख १२ को भूकम्पले आयोजनामा ठूलो क्षति पु-याएको थियो। भूकम्पबाट आयोजनाले तीन अर्ब रुपैयाँको भौतिक नोक्सानी बेहोरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार २५ मिलियन अमेरिकी डलरमा आयोजना मर्मत ८० प्रतिशत सकिँदा बाढी निम्तियो। भूकम्पबाट क्षतिग्रस्त आयोजनाका दुईमध्ये एक जेनेरेटरको परीक्षण सफल भइ अर्कोलाई हिटिङ दिने काम भइरहँदा बाढीले सबै काम व्यर्थ बनाउँदै भूकम्प अघिकोभन्दा ठूलो क्षति पु-याएको थियो। कम्पनीका अनुसार पटक–पटकको प्राकृतिक प्रकोपले सुरु लगानी मूल्यको ६० प्रतिशतभन्दा बढी लागत आयोजनाले नोक्सानी बेहोर्नु परेको छ। बाढी अघि आयोजनाको कुल मूल्य ९८ मिलियन अमेरिकी डलर (झन्डै १० अर्ब रुपैयाँ) थियो।

यसअघि २०७१ साउन १७ को जुरे पहिरोले ट्रान्समिसन लाइन बगाउँदा आयोजनाको उत्पादन ६ महिना रोकिएको थियो। मर्मतपछि आयोजना उत्पादनमा गएको चार महिना बित्न नपाउँदै भूकम्प गएको थियो। भूकम्पपछि आयोजनाको उत्पादन बन्द हुँदै आएको छ। लगातार पाँच वर्षदेखि आयोजना बन्द हुँदा कम्पनीले वाषर््िाक २२–२४ मिलियन अमेरिकी डलर विद्युत् महसुल नोक्सानी बेहोर्दै आएको छ।

भोटेकोसी गाउँपालिकाको तातोपानी र फूल्पिङकट्टीमा रहेको आयोजनाले सुरुका १० वर्ष ३६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको थियो। आयोजना सन् २०११ मा विद्युत् खरिद सम्झौता (पिपिए) पछि ४५ मेगावाट क्षमतामा गएको थियो।

प्रकाशित: ५ मंसिर २०७६ ०३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App