८ वैशाख २०८१ शनिबार
राजनीति

प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिएपछि कर्मचारीबीच द्वन्द्व सिर्जना भएको छ। साउनदेखि प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक २४ गते नगरपालिकामै कार्यरत स्थानीय निकायतर्फका अधिकृत (सातौं तहका) रविकिरण आचार्यलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेपछि कर्मचारीबीच द्वन्द्व सिर्जना भएको हो।

स्थानीय निकायतर्फका अधिकृत आचार्यलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएपछि नगरपालिकामै कार्यरत लेखा अधिकृत (सातौं तहका) शेखर ढकालले अन्यत्र सरुवा माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महालेखा परीक्षक, कोष तथा लेखा नियन्त्रकको कार्यालयलगायतलाई निवेदन दिएका छन्। आफूभन्दा जुनियर अधिकृत त्यसमा पनि जिल्ला समन्वय समिति खोटाङबाट समायोजन भएर आएका स्थानीय निकायका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको भन्दै लेखा अधिकृत ढकाल असन्तुष्ट बनेको स्रोतले जनाएको छ। स्रोतका अनुुसार सिनियर कर्मचारीले जुनियर कर्मचारीको अधिनमा रही कामकाज गर्ने व्यवस्था नभएको भन्दै ढकालले कात्तिक २६ गते नै सरुवाका लागि निवेदन दिएका हुन्।

स्थानीय निकायबाट समायोजन भएर आएका कर्मचारीलाई आर्थिक कारोबारसम्मको अधिकारसहितको निमित्त दिने कुनै पनि व्यवस्था नरहेको र विधिसम्मत नभएको उल्लेख गर्दै लेखा अधिकृत ढकालले नगरपालिका कार्यालयमा बसी कामकाज गरिरहनुको औचित्य नभएको भन्दै समायोजन संशोधनका लागि माग गरेका छन्। निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिएपछि नगरपालिकाको कामकाज सहज हुनुको सट्टा समस्या थप बढेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।

कार्यरत प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई साउनमा गृह–मन्त्रालयमा तानिएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतबिहीन बनेको हो। प्रमुख प्रशासकीय अधिकृत नहुँदा ११ वडा रहेको नगरपालिकाको कामकाज प्रभावित भएको छ। संघीय सरकारले अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउन आलटाल गरेर स्थानीय सरकारलाई असफल बनाउन खोजेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले बताए।

प्रमुख प्रशासकीय अधिकृत अभावमा नगरपालिकाको दैनिक कामकाज सञ्चालन, योजना सम्झौता, अनुगमनदेखि आर्थिक कारोबार ठप्प बनेको छ। कार्यालयीय काममा ढिलाइ हुँदा नगरपालिकाका सर्वसाधारण मारमा परेका छन्। दसैंमा कर्मचारीलाई तलब खुवाउन समस्या परेपछि गृह मन्त्रालय पु-याइएका प्रमुख प्रशासकीय अधिकृत राईलाई पुःन केही दिनका लागि नगरपालिकामा ल्याएर तलब निकासा गरिएको थियो।

प्रकाशित: ५ मंसिर २०७६ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App