coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश सांसद र नगर सभापतिबीच कुटाकुट

वीरगन्ज - नेपाली कांग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र कांग्रेसकै वीरगन्ज महानगरपालिका समितिका सभापति भोला कलवारबीच बुधबार बिहान कुटाकुट भएको छ। वीरगन्जको आदर्शनगरस्थित एउटा चियापसलमा बिहान उनीहरूबीच नगर सभागृहबारे सुरु भएको विवाद बढ्दै गई कुटाकुटको स्थितिसम्म पुगेको थियो। घटनामा दुवैजना घाइते भएका छन्। उनीहरूको नारायणी अस्पतालमा उपचार गरिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

कलवार थप उपचारका लागि काठमाडौं गएको जनाइएको छ। वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको नगर सभागृह कलवारले २२ वर्षका लागि लिजमा लिएर सञ्चालन गर्दै आएका छन्। महानगरपालिकाले सो सभागृह निजी तवरमा सञ्चालनका लागि दिएको ठेक्कामा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। अख्तियारले महानगरपालिकासँग त्यससम्बन्धी कागजात र फाइलसमेत मागेको छ।

प्रदेशसभा सदस्य शर्माले सार्वजनिक कार्यक्रममा नगर सभागृह नगरवासीको साझा धरोहर भएकाले त्यसको सञ्चालन लागि व्यक्तिलाई दिनु उपयुक्त नभएको टिप्पणी गरेपछि कलवार उनीप्रति रुष्ट रहँदै आएका थिए। यसकारण शर्मा र कलवारबीच केही समयदेखि सम्बन्ध बिग्रेको बताइएको छ। पहिलादेखि हुँदै आएको उनीहरूबीचको मनमुटाव बुधबार बिहान भने कुटाकुटमा परिणत भएको हो। प्रदेशसभा सदस्य शर्मा वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन्।

केही वर्षअगाडि घडिअर्वा पोखरीनजिक गोली लागेर कलवार घाइते भएका थिए। आफैंले बोकेको बन्दुक पड्केर उनी घाइते भएको भनी हल्ला चले पनि आपराधिक समूहले निसाना बनाएको उनले बताएका थिए। उक्त घटनापछि चर्चामा आएका कलवार पछिल्लो समय कांग्रेसका पर्सा सभापति अजयकुमार द्विवेदीका खास व्यक्तिका रूपमा चिनिँदै आएका छन्। कांग्रेस राजनीतिमा द्विवेदी र शर्मा दुवै एकै खेमाका मानिन्छन्।

प्रकाशित: ५ मंसिर २०७६ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App