८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सिरियामा इजरायलको क्षेप्यास्त्र हमला

सिरियाली भूभागमा इजरायलले प्रहार गरेको क्षेप्यास्त्र। तस्बिर : एजेन्सी

जेरुसेलम (एजेन्सी) – इजरायलले सिरियामा क्षेप्यास्त्र हमला गरेको छ।इजरायली हमलाका कारण सिरियामा दुईजनाको मृत्यु भएको बताइएको छ। सिरिया सरकार र उसको गठबन्धन इरानी फौजको नेतृत्वमा रहेका दर्जनौं निशानामा क्षेप्यास्त्र हमला गरेको इजरायलले दाबी गरेको छ।

इरानी एकाईले इजरायलमा रकेटहरु प्रहार गरेको प्रतिक्रियास्वरुप ठूलो मात्रामा क्षेप्यास्त्र हमला गरेको इजरायली सेनाले दाबी गरेको छ।

सिरियाले भने इजरायली हमलाका कारण दुई सर्वसाधारणको मृत्यु भएको जिकिर गर्दै आफ्ना सेनाले राजधानी दमास्कसमाथि आएका अधिकांश क्षेप्यास्त्रलाई खसालेको बताएको छ।

सिरियाली सरकारले आफ्ना दुई नागरिकको मृत्यु भएको बताए पनि अन्य स्रोतका अनुसार मृतकको संख्या त्योभन्दा बढी छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी दमास्कसमा विस्फोटनका ठूला आवाज सुनिएका थिए। सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका तस्बिरमा कैयौं क्षेप्यास्त्र दमास्कसतर्फ उडिरहेको देखिएका छन्।

सिरियाबाट उत्तरी इजरायतर्फ प्रहार गरिएका चारवटा रकेटलाई इजरायली सेनाले मंगलबार बिहान खसालेको दाबी गरिएको थियो। उसले सिरियाबाट प्रहार गरिएको रकेट आफ्नो भूमिसम्म पुग्दै नपुगेको जिकिरसमेत गरेको थियो।

सन् २०११ मा गृहयुद्ध सुरु भएदेखि इजरायलले सिरियामा सयौं पटक हवाई हमला गरिसकेको छ। उसले सिरियामा इरानी सेनाको संलग्नता रहेको र उसले लेबनानको हेजबुल्लाहलाई हतियार आपूर्ति गरिहेको भन्दै त्यस्ता हमला गर्दै आएको छ।

इजरायलले के भन्यो ?
क्षेप्यास्त्र हमलाबारे बुधबार बिहानै इजरायलको सैन्य विभागले ट्विट गरेको थियो। इजरायल डिफेन्स फोर्सेस् (आइडिएफ)ले गरेको ट्विटमा इरानी कुर्द फौज र सिरियाली सशस्त्र फौजलक्षित कैयौं क्षेप्यास्त्र हमला गरिएको दाबी गरिएको थियो।

‘आतंक फैलाउने सिरियाली र इरानी क्षेत्रमा हामीले  गरेको आक्रमणका दौरान सिरियाली रक्षा क्षेप्यास्त्र पनि हामीतर्फ प्रहार गरिएको थियो। हामीले चेतावनी दिँदा पनि सिरियाले त्यस्तो आक्रमण गरेको थियो। जसका कारण उसका कैयौं हवाई रक्षा संयन्त्र ध्वस्त भएका छन्,’ आइडिएफको ट्विट उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

‘सिरियाली भूभागमा इजरायलले गरेको क्षेप्यास्त्र हमलाका लागि सिरियाली सरकार नै जिम्मेवार छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सिरियामाथिको क्षेप्यास्त्र हमला उसलाई चेतावनी दिनका लागि पनि हो।’

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसँग सिधैं सम्पर्कमा रहने इरानी कुर्द फौज इस्लामिक रिभोल्युस्नरी गार्ड कर्पस् (आइआरजिसी)को बाह्य हमला गर्ने मोर्चा हो।

इजरायलले सिरियाली र इरानी फौजलक्षित हमला गरे पनि सिरियामा तैनाथ रुसी फौजको शिविरनजिकै रहेको रुस निर्मित जमिनबाट हावामा क्षेप्यास्त्र प्रहार गर्न मिल्ने प्रणाली एस–३०० मा भने कुनै आक्रमण नगरिएको इजरायली सञ्चारमाध्यमले जनाएका छन्।

गृहयुद्धले आक्रान्त सिरियामा रुसी फौजले राष्ट्रपति बसर अल–असदको पक्षमा साथ दिइरहेको छ। सिरियामाथि इजरायलले गरेको क्षेप्यास्त्र हमलाको रुसले निन्दा गरेको छ।

सिरियाले के भन्यो ?
सिरियाको राज्य सञ्चालित समाचार एजेन्सी सानाका अनुसार देशको ‘हवाई रक्षा प्रणालीले इजरायलबाट प्रहार गरिएका दर्जनौं क्षेप्यास्त्रलाई हस्तक्षेप गरेको छ।’ उसका अनुसार इजरायलले प्रहार गरेका अधिकांश क्षेप्यास्त्र देशको रक्षा प्रणालीले रोकेको थियो।

सानाका अनुसार सिरियाली भूभागमा क्षेप्यास्त्र प्रहार ‘लेबान र प्यालेस्टिनी भूभाग’बाट गरिएको थियो। लेबनानी एयरस्पेसमा रहेका युद्धक विमानबाट सिरियामा कैयौं क्षेप्यास्त्र हमला भएको उसले जिकिर गरेको छ।
पछिल्लो इजरायली आक्रमणका कारण आफ्ना दुई नागरिकको मृत्यु भएको सिरियाले बताएको छ। यसैबीच, बेलायत आधारित एउटा समूह ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले भने इजरायली आक्रमणका कारण ११ लडाकु मारिएको र त्यसमा सातजना विदेशी नागरिक रहेको बताएको छ।
इजरायली क्षेप्यास्त्र हमलाबारे इरानले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

प्रकाशित: ५ मंसिर २०७६ ०२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App