coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नदीमा सवारी साधन नखस्ने संरचना आवश्यक

दुर्घटनास्थलको सुरक्षागर्दै सशस्त्र प्रहरी। तस्बिरः दीपक खरेल

काठमाडौं– पूर्व गृहमन्त्री माधव घिमिरे वेपत्ता रहेको सडक दुर्घटनाको छानबिन गर्न गठित समितिले तत्काल सडकका छेउमा दुर्घटना भै हाले पनि सवारीसाधन नदीमा खस्न रोक्न सक्ने बलियो संरचना निर्माण गर्न सरकारलाई सुझाव दिएको छ। समितिले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई प्रतिवेदन बुझाउदै दुर्घटनामा कुनै बाह्य तत्वको हात नरहेको र दुर्घटना घिमिरे आफैले चलाएको जिप ओभरटेक गर्दा अनियन्त्रित भएर नदीमा खसेको जनाएको हो।

पूर्व मुख्य सचिव तथा गृहमन्त्री घिमिरे चढेको जिप असोज ९ गते साँझ पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो।  घिमिरेसहित उनका एक भाईको अवस्था अझै अज्ञात रहेको छ । दुर्घटनामा घिमिरेकी आमा ८० वर्षीया चैतन्यकुमारी घिमिरे, सुरक्षागार्ड सशस्त्र प्रहरी नायब निरीक्षक सई रामचन्द्र कार्की र आफन्त नारायण काफ्लेको मृत्यु भएको थियो।

पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको नेतृत्वमा गठित पाँच सदस्य रहेको छानबिन समितिले साढे दुई महिना लामो स्थलगत अध्ययन अनुसन्धानपछि प्रतिवेदन सरकारलाई बुझाएको हो। समितिमा रहेका एक सदस्यका अनुसार घिमिरेको सम्पर्क सुत्र केलाउनेदेखि दुर्घटना भएको समय र स्थानमा आएका सम्पूर्ण कल डिटेल निकालेर समितिले अध्ययन गरेको थियो। घटनापछि घिमिरेको हत्या भएको हुनसक्ने आशंका परिवारले गरेपछि छानबिन समितिले अपराध अनुसन्धानको कोणबाट समेत छानबिन गरेको हो।

‘हामीले धेरै पटक दुर्घटनास्थलसम्म पुगेर अध्ययन अनुसन्धान गरेका थियौ, कुनै बाह्य तत्व भन्दा बिशुद्ध सडक दुर्घटना भएको तथ्य भेटिएको हो,’समितिका सदस्य सचिवसमेत रहेका गृहप्रवक्ता बालकृष्ण पन्थीले भने। उनका अनुसार समितिले बुझाएको प्रतिवेदन अनुसार सडक सुधार र पहिचान भएका दुर्घटना स्थलमा आवश्यक संरचना निर्माणको पहल तत्कालै कार्यन्यवनमा लैजाने तयारी सरकारले गरेको छ।

असोज ११ गतेको मन्त्रिपरिषद बैठकले पूर्व गृहमन्त्री माधव घिमिरे चढेको कार दुर्घटनाको छानबिन गर्न रानाको संयोजक्त्वमा प्रहरी अतिरिक्त महानिरीक्षक केदारप्रकाश साउद, सशस्त्र अतिरिक्त महानिरीक्षक प्रेमकुमार शाही र भौतिक योजना मन्त्रालयका सहसचिव दयाराम झा सदस्य रहेको समिति गठनगर्ने निर्णय गरेको थियो। सरकारले छानविन समितिलाई पृथ्वी राजमार्ग र मुग्लिङ– नारायणगढ सडक खण्डमा आवागमनलाई सरल बनाउन र सवारी दुर्घटनालाई न्युनीकरण गर्न आवश्यक सुधारका बिषयमा  सुझाव पेस गर्न समेत निर्देशन दिएको थियो।

३८ स्थानमा जोखिम, ६ उच्च जोखिममा

काठमाडौं–चितवन सडकखण्डका ४० स्थानमा तत्काल सुधार नगरिए थप दुर्घटना हुनसक्ने प्रवल सम्भावना रहेको प्रारम्भीक स्थलगत विवरण चितवन ट्राफिकले सम्बन्धीत निकायमा दिएको छ। चाडपर्वका समयमा सडक दुर्घटना न्युनीकरण गर्न तत्काल सडक, रेलिङ, प्यारापिट, सेफ्टी ब्यारियर र रंगरोगन गर्न अनिबार्य भएको प्रतिवेदनमा उल्लेख छ। प्रहरीले भदौ १५ गते सडक, जिल्ला प्रशासन सहित सरोकारवालालाई बुझाएको प्रतिवेदनमा मुग्लिङ बजारदेखि मौवाखोलासम्मका ६ स्थानमा तत्काल निर्माण तथा मर्मत सम्भार गर्न भनिएको छ।

प्रहरीले खतयारयुक्त स्थान पहिचान गरेका ४० स्थानमध्ये मुग्लिङ बजार मोडमा पर्खाल मर्मत, नाग्दी पुलको रेलिङ मर्मत, रमाईलो डाँडामा सडक साईडको डनेरेटर सरसफाई, कुरिनटार बजारको साईड ब्यारियर मर्मत, डाहाकी पुल छेउ प्यापिट मर्मत र फिस्लीङ क्षेत्रमा साईडवाल निर्माण गर्न आवश्यक रहेको हो। यस्तै जोखिम क्षेत्रमा १६ किलो, लामु वालुवा पुल, खानी पुल, १७ किलो, भोर्ले र भोर्ले पुल, २० किलो, २१ किलो, घुमाउने, भालु पहडा घुम्ती, २७ किलो, २८ किलो, जलबिरे र घुम्ती, २९ किलो, ५ किलो पहिरो, चार किलो हाईट, टोपे खोला, कालीखोला, ३५ किलो,र ३३ किलो रहेका छन । प्रहरी प्रतिवेदन अनुसार एक, दुई र तीननम्बर पुलमा तत्काल रेलिङ मर्मत, प्यारापिट निर्माण र रंगरोगन गर्न अनिबार्य छ।

यस्तो थियो दुर्घटनास्थल

बाटो फराकिलो छ । नजिकै घुम्ती छ । बाटो दुर्घटनास्थल तर्फ केही उठेको र अर्को तर्फ होचो छ । मुग्लिङबाट काठमाडौं आँउदा उकालो र जाँदा ओरालो पर्छ । पूर्व गृहमन्त्री माधव घिमिरेले आफै हाँकेको गाडीको अनुमानित गति ६० को हाराहारीमा थियो । विपरित दिशाबाट अर्को कुनै गाडी अझै तीव्र गतीमा आयो।

‘घुम्तीमा साईड चेपेर आएको गाडी छल्दा अनियन्त्रीत भएर तल खसेको घटनास्थलको मुचुल्काले देखाउछ,’ धादिङ ट्राफिकका प्रमुख राजन भेटवालले नागरिकसँग भने। उनका अनुसार गाडी तीन बल्डयाङ खादै त्रिशुलीमा पुगेको हो । पहिलो बल्डयाङमा गाडी अगाडीको भागले भिरमा बजारिएको र त्यसपछि अर्को बल्डयाङमा उत्तानोपर्दै उछ्टिटिएर नदीमा पुगेको घटनास्थलले पुष्टि गरेको हो ।

प्रहरी मुचुल्का अनुसार आमा घिमिरेसँगै चारजना पछाडी र दुईजना अन्तिम पक्तिमा बसेका थिए । गाडीले बल्डयाङ खाएपछि आमा, ब्यक्तीगत सुरक्षाकर्मी र अन्य एकजना उछ्टििएर बाहिर पुगेपनि चारजना बल्डयाङ खादै गाडीसँगै नदीमा पुगेका हुन । गाडीसँगै नदीमा पुगेका चालक बिष्णु राई भने पौडिएर बाहिर आएको बयान प्रहरीमा दिएका छन् ।

‘आमा, नारायण र ब्यक्तीगत सुरक्षाकर्मीको शब फरक फरक स्थानमा विभत्स अवस्थामा फेला पारेका थियौ, चालक पौडिएर बाचे, अन्य तीन गाडीको कुनै भागमा अडकिएर खोलामा बगेको वा डुबेको हुनसक्छ,’ प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई घटना विवरण देखाउदै भेटवालले भने । यसअघि भदौ २४ गते भएको ट्रक दुर्घटनामा भत्किए पुलबाटै घिमिरे चढेको गाडी खसेको हो । नदीको गहिराई ५० मिटरभन्दा बढि र नदीको बहाव तिब्र भएका कारण खोजी र उद्दार कार्यमा कठिनाई भै रहेको सुरक्षाकर्मीको भनाई छ ।

प्रहरीका अनुसार घिमिरेको पारिवारीक टोली मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्किने क्रममा दुर्घटना भएको हो। बा ९ च १५३१ नम्बरको निजी नम्बर प्लेटको स्क्रोपियो जिप दुर्घटनामा परेको हो । पूर्व मुख्य सचिव घिमिरे खिलराज रेग्मी सरकारको अन्तरिम मन्त्रिपरिषदका गृह तथा परराष्ट्र मन्त्री थिए।

दुर्घटना स्पट ‘दारेचोक’

प्रहरीले २०७१  जेठ ९ यता घिमिरे चढेको जिप खसेकै स्थानमा १० वटा दुर्घटना भै सकेको जनाएको छ । पछिल्लो समय भदौ २४ गते सोही स्थानबाट ना ३ ख ६०१७ नम्बरको ट्रक खसेको  थियो । यकिन मृतक, घाईते र बेपत्ताको विवरण खोजी भै रहेको उक्त दुर्घटना अघि नौवटा दुर्घटना सोहीस्थानमा भै सकेका छन । यस्तै पछिल्लो तीनवर्षमा भएका २० दुर्घटनामा १० वटा दुर्घटना दारेचोकमा भएका हुन । प्रहरीका अनुसार दुर्घटनामा ४० जनाको मृत्यु, १९ जना वेपत्ता र ५८ घाईते भएको तथ्याँक प्रहरीसँग छ ।

 

प्रकाशित: २३ मंसिर २०७३ १४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App