६ वैशाख २०८१ बिहीबार
खेल

फुटबल मैदानमा प्यारापिट जडान सुरु

पोखरा रंगशाला फुटबल मैदान। सिन्थेटिक ट्य्राकसहित प्यारापिट तयार गरिँदै। तस्बिर उमेश पुन/नागरिक

पोखरा - पोखरा रंगशाला फुटबल मैदानको दायाँबायाँ प्यारापिट जडान (ग्रान्ड स्ट्यान्ड इन्स्टलेसन) सुरु गरिएको छ। आइतबार र सोमबार गरी १५ कन्टेनर सामान आइपुगेपछि दुई फ्रान्सेली प्राविधिकको उपस्थितिमा प्यारापिट जडानको काम सुरु भएको हो। पहिलो चरणमा फुटबल मैदानको पूर्व र पश्चिमतर्फ प्यारापिट जडान गरिने छ। मंसिर १५ गते पोखरा रंगशाला फुटबल मैदानमा १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल प्रतियोगिता हँुदै छ। त्यसको तयारीस्वरूप प्यारापिट जडान कार्य सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ।

फुटबल मैदान निर्माण कम्पनी भारतीय ग्रेट स्पोटर््स प्रालि तथा एम.ए. कन्स्ट्रक्सन प्रालिको ज्वाइन्ट भेन्चरमा गत फागुनदेखि फुटबल मैदान निर्माण कार्य सुरु गरिएको थियो। कम्पनीका प्रोजेक्ट म्यानेजरको रूपमा रहेका दीपक बरालका अनुसार एक साताभित्रमा प्यारापिट जडान गरिसकिनेछ। ५ हजार ४ सय दर्शक क्षमताको प्यारापिट जडान गरिनेछ। प्रतियोगिताका लागि ८ देखि १० हजार सिट प्यारापिट क्षमताको बनाइने लक्ष्य छ। ‘८ देखि १० हजार सिट क्षमताको प्यारापिट निर्माण हुन्छ।’ राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरुङले भने,‘प्यारापिटको सामान आउँदै छ।’  

मैदान भने अझै तयार भइसकेको छैन। मरेको दुबोको ठाउँमा नयाँ दुबो हाल्ने क्रममा छ। मैदानका लागि प्राविधिकहरूले आवश्यकताअनुसार पानी, मलको प्रयोग गर्दै आएका छन्। फुटबल प्रतियोगिता सुरु हुन केही दिन मात्रै बाँकी रहँदा काम भने रातदिन भइरहेको छ। यद्यपि दुबोकै कारण पोखरा रंगशालामै महिला फुटबल प्रतियोगिता हुनेमा अझै अन्योल कायमै छ। कम्पनीले अहिले १२ वटा शौचालय निर्माण गरिएको छ। चेन्जिङ रुम र अन्य कक्ष भने तयार हुने अवस्था छैन। चेन्जिङ रुम भने बहुउद्देश्यीय कभर्ड हललाई प्रयोग गरिने बोर्ड सदस्य गुरुङले बताए।

मैदानको चारैतिर रहेको एथलेटिक्स ट्य्राकमा भने सिन्थेटिक हाल्ने काम अन्तिम चरणमा छ। कालो सिन्थेटिक हालिसकेपछि फाइनल टच दिन कम्पनीले रातो ग्रानुयल्स रबर ट्य्राक हालेको छ। ट्य्राकमाथि अब लाइनिङ गर्ने काम बाँकी छ। लाइनिङ गरेपछि ट्य्राकको काम भने पूरा हुने कम्पनीले जनाएको छ। कम्पनीले गएको फागुनदेखि पोखरा रंगशाला फुटबल मैदान निर्माण कार्य सुरु गरेको हो। रंगशालाको लागत एक अर्ब २८ करोड रुपैयाँ रहेको छ। कम्पनीले पोखरा रंगशाला फुटबल मैदानसँगै वरिपरि सडक कालोपत्रे गर्ने कामसमेत गरिरहेको छ।

प्रकाशित: ५ मंसिर २०७६ ००:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App