८ वैशाख २०८१ शनिबार
अर्थ

बाटैबाट हराउँछ सहुलियतका चामल

मुगुको तारापानी बजारमा खाद्यन्न लिन आएका दिलबहादुर र विरबहादुर फडेरा खसिमा बोकाउने भारी तयार गर्दै। तस्वीरः सुमन/नागरिक

मुगु– नेपाल खाद्य संस्थानले दुर्गमका गाउँवस्तीमा पठाएको खाद्यन्न बीच बाटैमा हराउने गरेको छ।

हुम्लाको सर्केगाड वितरण केन्द्रका लागि खाद्य संस्थान सुर्खेत र मुगुको गमगढी वितरण केन्द्रबाट सर्केगाढ तर्फ पठाईएको चामल सम्बन्धित स्थानमा नपुगे पछि उक्त तथ्य बाहिर आएको हो। 

गाँउमा खाद्यन्न नपुगेपछि मुगुका जनता १० दिन हिँडेर चामलको जोहो गर्दै आएका छन्। खाद्यन्न ढुवानीको जिम्मा लिएका ठेकेदारहरुले सम्बन्धित वितरण केन्द्रमा खाद्यन्न नपुर्याए पछि स्थानीयवासी भेडा च्याँग्र सहित मुगु सदरमुकाम गमगढी र आसपासका बजारमा जाने गरेका छन्। 

नेपाल खाद्य संस्थानको सर्केगाड डिपोबाट बर्षमा मुस्किलले तीस केजीको एक प्याक चामल मात्र पाउने गरेको उनीहरुले गुनासो गरेका छन्। 

सर्केगाड गाउँपालिका वडा नम्बर ३ उनपानी गाउँका दिलबहादुर फडेरा दशैं तिहारमा समेत ठेकेदारले चामल नल्याएपछि तारापानी बजारमा पुगेर खाद्यन्न लिन आए।

‘सुहुलियतको चामल गाउँमा पुगेको भए १५ सय पाइन्थ्यो’ तीस केजी चामल खरिद गरेका उनी गुनासो गर्छन,‘बजार झरेर आफैं लिन जाँदा १६ सय ८० रुपैयाँ तिर्न पर्यो।’ बजारमा आउन र जान दश दिन लाग्ने फडेरा बताउँछन्। ‘यसरी ढुवानी खर्च पनि जोड्ने हो भने एक प्याक चामलको तीन हजार देखि ३५ सय पर्छ’, फडेरा भन्छन्। 

यता खाद्य संस्थान मुगुले सर्केगाडका लागि एक हजार क्वीण्टल खाद्यन्न पठाउने गरेको बताएको छ। तर अहिलेसम्म ढुवानी ठेकेदार सम्पर्कमा नआएको जनाएको संस्थानले जनाएको छ। हरेक वर्ष खाद्य संस्थानले सर्केगाडका लागि खाद्यन्न पठाएको छ। यता सुर्खेतबाट सोझै ढुवानी भई जाने खाद्यन्नको विषयमा गमगढी वितरण केन्द्रलाई जानकारी नहुने संस्थानले जनाएको छ। 
ढुवानीको जिम्मा पाएको ठेकेदार ओम जयदर्गे जनरल अडर सप्लायर्स भने बाटोका कारण ढुवानी गर्न नसकिएको बताउँछ। उक्त कम्पनीका दुर्गबहादुर बुढाका अनुसार दसैं तिहार र बाटोका कारण आफुले खाद्यन्न सर्केगाड वितरण केन्द्रमा खाद्यन्न लैजान नसकेको हो।

‘गमगढी देखि सर्केगाडसम्म पाँच सय क्वीण्टल खाद्यन्न ढुवानी गर्ने जिम्मा हामीले पाएका हौं’ बुढाले भने,‘अबको केही दिनमा ढुवानी सुरु हुनेछ।’ 

 

प्रकाशित: ४ मंसिर २०७६ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App