coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डडेल्धुराका दुई वडामा मलेरिया रोगका बिरामी फेला

डडेल्धुरा- भित्रिमधेश जोगबुडा क्षेत्र परशुराम नगरपालिकाका दुई वटा वडामा मलेरिया रोगका बिरामी भेटिएका छन्। परशुराम नगरपालिका– ६ र ७ का स्थानीय बिरामी भई स्वास्थ्य संस्थामा जचाँउन पुगेकाहरुको रगत परिक्षण गर्दा औलो भेटिएको पुष्टि भएको साँदनी स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेन्ट जय बहादुर धामीले बताए।

करिब दुई साता अघि साँदनी स्वास्थ्य चौकीमा पुगेका बिरामीहरुमा मलेरियाका लक्षण देखा परेको उनको भनाइ छ। दुई साता अघिदेखि फैलिएको मलेरियाको संक्रमणबाट हालसम्म १० जना बिरामीहरु संक्रमित भई निःशुल्क औषधि सेवन गरि रहेका छन्।

विशेष गरी गत दुई साता अघि पहिलो पटक वडा नं.६ को रामपुर गाँउका एक जना स्थानीय संक्रमित भएका थिए। मलेरिया रोगको प्रकोप वडा तहमा दिनानुदिन बढ्दै गएकाले यस बारे जोगबुडा अस्पताल र जिल्ला स्थित स्वास्थ्य कार्यालयमा समेत खबर गरिसकेको स्वास्थ्य चौकी प्रमुख धामीले बताए।

पछिल्लो समयमा स्वास्थ्यकर्मीको टोलीले संक्रमण रहेको सम्भावित रामपुर, भोरकुण्डा, थालिगडा, ठुलागडा लगायतका क्षेत्रमा सर्च गरिरहेका छन्। सर्चका साथ–साथै हाल स्थानीयहरुलाई जनचेतनाका सन्देश दिई रहेको पनि स्वास्थ्य प्रमुख धामीको भनाइ छ।

सामान्यतया औलो रोग परजिबी भएको लामखुट्टेले टोकेको १०–१५ दिन भित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्निहरु दुख्ने, असजिलो महशुुस हुने जस्ता सामान्य लक्षणहरु देखा पर्दछन्। निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरिरका महत्वपूर्ण भित्री अङ्गहरु फियो, कलेजो सुनिने, शरिरमा रगतको मात्रा कमी हुने तथा परजिबीको प्रकृती अनुसार विभिन्न लक्षण तथा समस्याहरु देखिने गर्दछन्।

पोथी एनोफेलेस जातिको लामखुट्टेले टोकेपछि सर्ने भएकोले लामखुट्टेको टोकाइबाट बच्न स्थानीयलाई स्वास्थ्यकर्मीको सुझाब छ।

 

प्रकाशित: ४ मंसिर २०७६ १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App