१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसका प्रदेश सांसद र नगर अध्यक्षबीच कुटाकुट

वीरगन्ज– नेपाली कांग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र कांग्रेसकै वीरगन्ज महानगरपालिका समितिका सभापति भोला कलवारबीच बुधवार बिहान कुटाकुट भएको छ।

वीरगन्जको आदर्शनगरमा रहेको एउटा चिया पसलमा बिहान दुबै जनाबीच नगरसभा गृहको विषयमा विवाद भएको थियो। विवादले चर्को रुप लिएपछि उनीहरुबीच हानाहान भएको हो। घटनामा दुबै जना घाइते भएका छन।

प्रदेशसभा सदस्य शर्मा र कांग्रेस नगर सभापति कलवार दुबै जनाको प्राथमिक उपचार नारायणी अस्पतालमा गरिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए। शर्मा उपचार पछि घर फर्केका छन् भने कलवार थप उपचारका लागि भन्दै काठमाडौं गएको बताइएको छ। 

वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको नगरसभा गृह कलवारले २२ वर्षका लागि लिजमा लिएर सन्चालन गर्दै आएका छन्।

महानगरपालिकाले नगरसभा गृह निजी तवरमा सन्चालनका लागि दिएको ठेक्कामा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। महानगरपालिकासँग त्यस सम्बन्धित कागजात र फाइलसमेत मागेको छ। 

प्रदेशसभा सदस्य शर्माले सार्वजनिक कार्यक्रममा नगरसभा गृह नगरवासीको साझा धरोहोर भएकाले त्यसलाई व्यक्तिलाई संचालनको लागि दिनु अनुपयुक्त भएको टिप्पणी गरेपछि कलवार रुष्ट थिए।

यसै कारण शर्मा र कलवारबीच केहि समय सम्बन्ध बिग्रेको बताइएको छ। बुधवार बिहान भने हानाहान नै हुनपुग्यो। प्रदेशसभा सदस्य शर्मा वीरगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष हुन्।

केही बर्ष अगाडि घडि अर्वा पोखरी नजिक गोलि लागि कलवार घाइते भएका थिए। अपराधिक समुहको नशाना परेका उनले घटनालाई ढाँटछोप गर्न आफैले बोकेको गोली लागेको भन्दै हल्ला फिँजाएका थिए। 

उक्त घटनासंगै चर्चामा आएका कलवार पछिल्लो समयमा कांग्रेसका पर्सा सभापति अजयकुमार द्विवेदीको खास ब्यक्तिको रुपमा चिनिदै आएका छन्। राजनीतिमा द्विवेदी र शर्मा दुबै एउटै खेमामा गनिन्छन्। 

 

प्रकाशित: ४ मंसिर २०७६ १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App