८ वैशाख २०८१ शनिबार
अर्थ

मेवा खोलाको परीक्षण प्रशारणले लोडसेडिङ घट्यो

खोटाङलाई लोडसेडिङमुक्त बनाउने मेवा खोला हाईड्रोपावरको पावरहाउस । तस्बिरः दमन राई

खोटाङ– एक मेगावाट क्षमताको मेवा खोला हाईड्रोपावरको परीक्षण प्रशारण सुरु भएपछि खोटाङ र ओखलढुंगामा लोडसेडिङ घटेको छ। दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवा खोलाबाट उत्पादन गरिएको हाईड्रोपावरको परीक्षण प्रशारण सुरु गरिएसँगै केन्द्रीय प्रशारणलाईन बिस्तार भइसकेका ठाउँमा लोडसेडिङ घटेको हो।

साप्सु–कालिका हाईड्रोपावर कम्पनी प्रालि काठमाडौंको प्रवद्र्धनमा दुई वर्षमा पूरा भएको हाईड्रोपावरको परीक्षण उत्पादन सुरु भएसँगै मंगलबार यता दुबै जिल्लामा लोडसेडिङ हटेको छ। मेवा खोला हाईड्रोपावरका कारण हाल छिटफुटबाहेक चौबिसै घण्टा बत्ती बलिरहेको छ। निरन्तर बत्ती आउन थालेपछि बिद्युतीय उपकरणका माध्यमबाट हुने काम नियमित भइरहेको छ।

मेवा खोलाबाट उत्पादित बिद्युतलाई दिक्तेल–गाईघाट ११ केभीए ट्रान्समिसन लाईनमा जोडिएका कारण खोटाङ र ओखलढुंगामा लोडसेडिङ घटेको नेपाल बिद्यूत प्राधिकरण शाखा दिक्तेलका प्रमुख पुरुषोत्तम रेग्मीले बताए। स्थानीयस्तरमै उपयोग गर्न पाउनेगरी मेवा खोलाको एक मेगावाट बिद्युत केन्द्रीय प्रशारणलाइनमा थप गरिएको हो। जिल्लालाई लोडसेढिङमुक्त बनाउने लक्ष्यकासाथ साप्सु–कालिका हाईड्रोपावर कम्पनी प्रालिले पहिलोपल्ट २०७१ साल मंसिरदेखि हाईड्रोपावरको काम सुरु गरेको थियो।

केन्द्रीय प्रशारणलाइन अन्तर्गत दिक्तेल–गाईघाट ३३ केभीए ट्रान्समिसन लाईनको बुईपास्थित सवस्टेशनमा जोडिएको मेवा खोलाको बिद्युतको शनिबारदेखि मिटरमा पैसा उठ्न थालेको प्राधिकरणका प्रमुख रेग्मीले बताए।

‘प्राधिकरणकातर्फबाट पावर हाउसमा जेनेरेटरको टेस्टिङ एण्ड कमिसनिङ गर्ने, सवस्टेशनमा मिटरिङ यूनिट राख्ने र टिओडी मिटर कनेक्सन गर्ने काम भइसकेको छ,’ रेग्मीले भने, ‘मेवा खोलाकै कारण हाल जिल्लामा लोडसेडिङ घटेको छ, शनिबारदेखि यसको बिलिङ पनि सुरु भएको छ ।’

केन्द्रीय प्रशारणलाइनमा जोडिए पनि स्थानीयस्तरमै प्रयोग गर्न मिल्नेगरी सुरु गरिएको हाईड्रोपावरको काम पूरा भएपछि लोडसेडिङको मार खेपिरहेका जिल्लाबासी उत्साहित छन्। मंगलबारदेखि नै बत्ती बले पनि मंसिर १८ गतेदेखि १५ दिनसम्मलाई परिक्षण प्रशारण मानिने विद्युत् प्राधिकरणले जनाएको छ। समुदायको ३० प्रतिशत तथा सानिमा बैंकको अगुवाईमा बैंक आफ काठ्माण्डौंको ७० प्रतिशत गरी २२ करोडको लागतमा हाईड्रोपावरको काम पूरा भएको साप्सु–कालिका हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईले बताए।

औपचारिक उदघाटन पछि खोटाङका ४७ गाबिस तथा ओखलढुंगाको सिद्धिचरण नगरपालिका, रुम्जटार, माम्खालगायतका गाबिस लोडसेडिङमुक्त हुने जनाइएको छ। २०७२ साल असोजमा बत्ती बाल्ने भनिएको हाईड्रोपावरको काम लगातार दुई पटक आएको बाढी, भूकम्प र भारतीय नाकाबन्दीका कारण वर्षदिन पछि धकेलिएको हो ।

पाँच वर्षअघि सम्पन्न खोटाङको १८ औं जिल्ला परिषदले जिल्लालाई लोडसेडिङ मुक्त बनाउने योजना पारित गरेपछि मेवा खोला लगायतका हाईड्रोपावरको कामलाई द्रुत गतिमा अघि बढाइएको थियो ।

 

प्रकाशित: २३ मंसिर २०७३ १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App