coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्याराग्लाइडिङमा कडाइ

काठमाडौं – नवीकरण समेत नगरेका कम्पनीले निषेधित क्षेत्रमा प्याराग्लाइडिङ उडान गर्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा कडाइ गर्ने नीति लिएको छ। नागरिक उड्डयन प्राधिकरणले एक सूचना जारी गर्दै दर्ता भएका तर नवीकरण नगरेका कम्पनीमाथि पनि निगरानी बढाएको जनाएको छ।

कतिपय प्याराग्लाइडिङ कम्पनीले नवीकरण नै नगरी लामो समयदेखि उडान गरिरहेकाले त्यसप्रति ध्यान केन्द्रित भएको प्राधिकरणको मनोरञ्जनात्मक उड्डयन शाखा प्रबन्धक देवेन्द्रप्रसाद पाण्डेले बताए।

अग्ला पहाडले भरिएको नेपालका विभिन्न स्थानबाट प्याराग्लाइडिङ कम्पनीले उडान गरिरहेको भन्दै उनले व्यवसायलाई सुरक्षित राख्न प्राधिकरणले हरेक वर्ष नवीकरण गर्ने गरेको जानकारी गराए। ‘कम्पनी दर्ता र नवीकरणका क्रममा प्राधिकरणले एओसी चेक जाँच गर्ने गरेको छ,’ उनले भने, ‘केही दिनपहिले हेलिकप्टर पाइलटले उडान अनुमति नभएको स्थानमा प्याराग्लाइडिङले उडान भरिरहेको देखेपछि व्यवसायभित्र रहेको अवैधानिक कार्य निरुत्साहित गर्न प्राधिकरणले सूचना जारी गरेको छ।’

पछिल्लो समय उक्त व्यवसाय गर्ने कम्पनीबीच प्रतिस्पर्धा बढ्दै गएको भन्दै प्राधिकरणले यसको नियमनमा थप कडाइ गर्दै प्राधिकरण अन्तर्गतको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले सूचन जारी गरेर अनुमति नलिएका कम्पनीलाई अनुमति लिएर मात्रै उडान प्रक्रियामा जान निर्देशन दिएको हो।

विभागले मनोरञ्जनात्मक उड्डयन नियमावली २०६९ (दोस्रो संशोधन २०७४) को नियम ७ बमोजिम सञ्चालन प्रमाणपत्र नलिई काम गर्ने सबैलाई सूचनामार्फत निर्देशन दिएको हो।

प्राधिकरणले पछिल्लो समय नवीकरण नगर्ने कम्पनीको संख्या बढेको र अनुमति नभएको क्षेत्रमा समेत प्यारासुट देखिएकोप्रति आपत्ति जनाउँदै उक्त कार्य तत्काल बन्द गर्न निर्देशन दिएको हो।  प्राधिकरणले एक वर्षभन्दा बढी समय नवीकरण नगरेका कम्पनीलाई अनुमति नवीकरण गर्न आह्वान गरेकोे हो। ‘म्याद सकिएको ६ महिनासम्म निश्चित दस्तुर तिरेर पुनः उडान भर्न पाउने नियम रहे पनि केही कम्पनी नवीकरण प्रक्रियामा आएका छैनन्,’ मनोरञ्जनात्मक उड्डयन शाखा प्रबन्धक पाण्डेको भनाइ छ।

‘नवीकरणको मिति सकिएको पहिलो ३० दिनसम्म २५ प्रतिशत, ९० दिनसम्म ५० प्रतिशत र एक सय ८० दिनसम्म ७५ प्रतिशत जरिवाना लाग्ने गरेको छ,’ उनले भने, ‘नवीकरण गर्नुपर्ने समय नाघेको ६ महिनाभन्दा बढी भएको खण्डमा कम्पनी स्वतः रद्द वा मन्त्रालयको इजाजतको आधारमा कम्पनीले नवीकरण गर्न नसक्नुको कारण प्रस्ट पार्न सके पुनः नवीकरणको प्रावधान छ।’

उक्त अवधिमा कुनै दुर्घटना भए फौजदारी कानुनअनुसार कारवाही हुने पाण्डेले जानकारी दिए। नवीकरण गर्दा उडान कम्पनीले सुरक्षासम्बन्धी नियम पालना गरे, नगरेको तथा उडान अनुमति भएको व्यक्तिको लाइसेन्स, उडान समय लगायतबारे प्राधिकरणलाई जानकारी गराउनुपर्ने नियम रहेको उनले बताए।

नेपाल हवाई खेलकुद संस्था पोखराका उपाध्यक्ष तथा कार्यकारी निर्देशक कृष्ण भण्डारीले अनुमति नभएको ठाउँमा कुनै पनि कम्पनीले उडान नभरेको दाबी गर्दै विदेशी पाइलटका कारण बेला–बेला समस्या आउने गरेको बताए।

केही विदेशीले बिनाअनुमति उडान गर्ने गरेको जानकारी आफूहरूले पनि पाएको उनले बताए। ‘पछिल्लो समय एभरेस्ट बेस क्याम्पबाट फर्कंदै गरेको सिम्रिक एयरको हेलिकप्टरका पाइलटले मार्दी हिमाल क्षेत्रमा प्याराग्लाइडिङ गरिरहेको देखेको र उक्त प्याराग्लाइडिङले झण्डै आफूलाई छुन खोजेको हामीलाई जानकारी गराएका छन्,’ उनले भने, ‘विदेशीले झोलामा प्यारासुट बोकेर ल्याई आफूलाई मन लागेको ठाउँमा उडाउँछ। त्यसको जिम्मेवारी हामीले कसरी लिने ?’

बिनाअनुमति उडान भरेको खबर आए पनि त्यहाँसम्म पुग्ने स्रोत–साधनको अभावमा नियन्त्रण गर्न नसकिएको उनको भनाइ छ। उनले भने, ‘उक्त कार्यलाई निषेध गर्न कि त एआइपी जारी गरेकोे ठाउँ हुनुप-यो नभए के कति कारणले उक्त क्षेत्रमा उडान भर्न लागेको हो सोबारे नोटाम जारी गर्नुप-यो।’

सरकारले संस्थालाई जिम्मेवारी दिए पनि आवश्यक स्रोत, साधनको अभावमा प्याराग्लाइडिङ क्षेत्रलाई सोचेअनुरूप व्यवस्थापन गर्न नसकिएको उनले बताए।

नागरिक उड्डयन प्राधिकरणले संस्थालाई प्याराग्लाइडिङ व्यवस्थापनको जिम्मेवारी दिए पनि जनशक्ति र अन्य स्रोतको अभावमा काम गर्न समस्या रहेको उनको भनाइ छ। ‘यतिसम्म भइसक्यो कि हामी त कहिले कहीँ त्यो जिम्मेवारी फिर्ता गर्ने मनस्थितिमा पुग्छौं,’ उनले भने।

पोखरा क्षेत्रमा प्याराग्लाइडिङ तथा हवाई क्षेत्रको सुधारका लागि प्राधिकरणका उपनिर्देशक सुभास झाको नेतृत्वमा १२ सदस्यीय समिति गठन भएको र उक्त समितिले संस्कृति, नागरिक तथा उड्डयन मन्त्रालयमा प्रतिवेदन बुझाउने तयारी गरिरहेको उनले जानकारी दिए।

प्याराग्लाइडिङ व्यवसायी शैलेन्द्र रावतले सरकारी प्रक्रियाका कारण भनेकै समयमा नवीकरण हुन नसके पनि समय सीमालाई ध्यानमा राख्दै प्रक्रिया पु¥याई व्यवसाय गर्दै आएको बताए।

पछिल्लो समय हरेक क्षेत्रमा हुने विभिन्न मेला महोत्सवमा बिनाअनुमति प्याराग्लाइडिङ उडान गर्नाले पनि हवाई उडानमा समस्या आएको उनको भनाइ छ। ६७ प्याराग्लाइडिङ कम्पनी प्राधिकरणमा दर्ता छन्। साहसिक पर्यटनको क्षेत्रमा सबैभन्दा बढी रुचाइने प्याराग्लाइडिङ सञ्चालन गर्न प्राधिकरणले पोखराको तोरीपानी, साराङकोट, स्याङ्जाको शीरकोट, धरान, सुर्खेत, पाल्पा र काठमाडौंको शंकरापुर, गोदावरीलगायत स्थानमा अनुमति दिएको छ।

प्रकाशित: ४ मंसिर २०७६ ०४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App