८ वैशाख २०८१ शनिबार
अर्थ

सिक्टा पश्चिम मूल नहर मर्मतबिनै परीक्षण

सिक्टा सिँचाइ आयोजनाले परीक्षणका क्रममा पश्चिम मूल नहरमा पुनः छाडेको पानी। तस्बिर : अर्जुन/नागरिक

नेपालगन्ज – बाँकेस्थित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले विवादित पश्चिम मूल नहर परीक्षणको काम पुनः सुरु गरेको छ। यसअघि उक्त नहर परीक्षणका क्रममा पटक–पटक भत्किएको थियो।

नहर परीक्षणको काम सफल हुन नसक्दा लामो समयदेखि सिक्टाले किसानको खेतबारीमा पानी प-याउन सकेको छैन। यसपटक पश्चिम मूलनहरमा थोरै परिमाणको पानी छाडेर परीक्षण थालेको आयोजना निर्देशक कृष्ण नेपालले बताए।

पश्चिम मूल नहरमा अहिले डेढ क्युमेक्स पानी बगिरहेको उनले जनाए। निर्देशक नेपालका अनुसार आयोजनाले केही दिनदेखि पश्चिम मूल नहरमा पानी छाडेर परीक्षण थालेको हो। ‘हामीले पश्चिम मूल नहरको डुडुवा शाखा (३४ किमी) सम्म पानी पु-याएर खोलामा खसाल्ने गरेका छौं, सुरुमा एकैपटक धेरै पानी छाड्दा समस्या होला कि भनेर सुरुमा एक क्युमेक्सबाट बढाउँदै अहिले पानीको मात्रा डेढ क्युमेक्स पु-याएका छौं,’ उनले भने, ‘अहिलेसम्म कुनै समस्या देखिएको छैन, एकदमै चासो दिएर निरीक्षण गरिरहेका छौं।’ कुल ५० क्युमेक्स क्षमता रहेको मूल नहरमा यसअघि बर्खामा चार क्युमेक्स पानी छाड्दा पनि नहर भत्किने गरेको थियो।

यसपटक भने केही दिनसम्म डेढ क्युमेक्स पानी छाड्ने र त्यसपछि बन्द गरेर नहरलाई सुक्खा छाड्ने योजना रहेको आयोजना कार्यालयले जनाएको छ। ‘हामी यो क्रमलाई निरन्तर रुपले अघिबढाउँदै लैजान्छौं, विस्तारै पानीको मात्रा बढाएपछि कस्ता रिजल्ट आउँछ, त्यो कुरा हेर्छौं,’ नेपालले थपे, ‘बर्खा र हिउँदमा माटोको अवस्था धेरै फरक हुन्छ, बर्खामा माटो भिजेको हुन्छ, हिउँदमा सुकेको हुन्छ।’

केही दिनअघि मात्र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनआयोजनाको निरीक्षण गरेर फर्किएका थिए। त्यस क्रममा उनले एक वर्षभित्र आयोजनाको नहरको काम सम्पन्न गर्न निर्देशन समेत दिएका थिए। पश्चिम मूल नहरको विभिन्न भागमा चिरा परेको छ, नहरभित्रै रुख र झाडी फैलिएको छ। आयोजनाको ‘आइसिपी–टू’ ठेक्का अन्तर्गत ठेकेदार ‘सिटिसिई कालिका जेभी’ले निर्माण गरेको १७.७ देखि ३५ किलोमिटर खण्ड बढी जीर्ण देखिन्छ। आयोजनाको पश्चिम मूल नहरको ४५ किलोमिटरमध्ये ४२ किलोमिटर क्षेत्र सिटिसिई कालिका जेभीले निर्माण गरेको थियो।

पटक–पटक मूल नहर भत्किन थालेपछि संसदीय समिति, सिँचाइ मन्त्रालय, सिँचाइ विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टा–छुट्टै रुपमा छानबिन तथा अनुसन्धान सुरु गरेका थिए। लामो अनुसन्धानपश्चात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ अर्ब ५९ करोड ८८ लाख रुपैयाँबराबरको आर्थिक अनियमितता भएको ठहर गर्दै आयोजनाका बहालवाला र पूर्वकर्मचारी, ठेकेदार र परामर्शदाता कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता ग-यो। उक्त मुद्दा अदालतमा विचाराधीन छ।

आयोजनाले पछिल्लोपटक पश्चिम मूल नहर पुनः परिक्षणमा ल्याएपनि त्यस क्षेत्रका स्थानीय बासिन्दा भने अझै ढुक्क हुन सकेका छैनन्। राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९, ढकेरीका श्रीधर उपाध्यायकुल ५० क्युमेक्स क्षमता रहेको जीर्ण अवस्थामा रहेको मूल नहरलाई मर्मत नगरी परीक्षण गर्दा अर्को दुर्घटना निम्तिन सक्ने तर्क गर्छन्। ‘किसानको हितको लागि त सिक्टा नहरमा सधैंभरी पानी सञ्चालन भइदिए राम्रो हुन्थ्यो, तर केही ठाउँमा मात्रै सामान्य मर्मत गरेर पानी सञ्चालन गर्न थालियो भने अर्को दुर्घटना नहोला भन्न सकिन्न,’ उनले भने।

गतवर्ष परीक्षणका क्रममा भत्केको ढकेरीस्थित चंगाई नाला आसपास क्षेत्र बाहेक पश्चिम मूल नहरको अन्यत्र कतै मर्मत नभएको उपाध्यायको जिकिर छ। पश्चिम मूल नहरको कुल क्षमता ५० क्युमेक्स बराबर पानी हालेपछि मात्र यसलाई सफल भएको मान्न सकिने उनको तर्क छ।

ढकेरीकै रमेश चौधरीले सिक्टाको पश्चिम मूल नहरमा पानी छाडेपछि गाउँमा त्रास छाएको सुनाए। ‘ढकेरी गाउँको बीच भागबाट पश्चिम मूल नहर निर्माण गरिएको छ, पटान गरिएको माटो भरपर्दो नभएको हुँदा जे घटना पनि हुन सक्छ। अहिले गाउँमा धेरैलाई यही चिन्ताले सताएको छ,’ उनले भने। जीर्ण नहर मर्मत नगरी पानी छाडिएकोमा गाउँले चिन्तित रहेको चौधरीले सुनाए।

स्थानीय बासिन्दाको भनाइ र आयोजना निर्देशक नेपालको तर्क भने फरक छ। पश्चिम मूल नहरको चंगाई नालासहित बालापुरदेखिढकेरीसम्मको क्षेत्रमा गत असारयता मर्मत कार्य चलिरहेको जानकारी दिँदै उनले भने, ‘हामीले पश्चिम मूल नहर मर्मतको काम निरन्तर गर्दै आएका छौं, अझैपनि नहर परिक्षणको काम सँगसँगै मर्मतको काम पनि अघि बढाउने हाम्रो योजना छ।’ जीर्ण अवस्थामा रहेको पश्चिम मूल नहरको धेरै ठाउँमा मर्मत नभएको स्थानीय बताउँछन्। नहरमा १ देखि डेढ क्युमेक्स मात्र पानी छाडिएको हुँदा स्थानीय बासिन्दा त्रसित हुन नपर्ने नेपालको भनाइ छ।

प्रकाशित: ४ मंसिर २०७६ ०४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App