८ वैशाख २०८१ शनिबार
समाज

सरसफाइ नहुँदा दैनिक चार बालबालिकाले गुमाउँछन् ज्यान

काठमाडौं – नेपालमा सरसफाइ अभावमा दैनिक औसत चार बालबालिकाले ज्यान गुमाउने गरेको पाइएको छ। सातौं विश्व शौचालय दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय सरसफाइ तथा समन्वय समितिका सदस्य सचिव देवेन्द्र झाले नेपालमा सरसफाइ अभावमा वार्षिक १४ सय ५ वर्ष मुनिका बालबालिकाको ज्यान जाने गरेको बताए।

उनका अनुसार सन् २००० मा वार्षिक १० हजार ८ सय बालबालिकाको ज्यान भएको थियो। सन् २००८ मा भने यो संख्या ७ हजारमा झरेको थियो। ‘यसको समाधानका लागि सहरी क्षेत्रमा पूर्ण सरसफाइका लागि काम गर्नुपर्ने आवश्यकता देखिन्छ,’ उनले भने।

शौचालय दिवसमा विविध कार्यक्रम
सातौं विश्व शौचालय दिवस विविध कार्यक्रम गरी मनाइएको छ। मंगलबार काठमाडौं महानगरपालिका, वाटर एड नेपाल, गैरसरकारी संस्था, गुठीलगायत संघसंस्थाले प्रभातफेरि कार्यक्रम गरी सो दिवस मनाएका हुन्।

भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरि भद्रकाली, सहिदगेट, सुन्धारा, नयाँ सडक हुँदै वसन्तपुर पुगेर समापन भएको थियो।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले भएका सार्वजनिक शौचालयको अवस्था सुधार गर्ने र नयाँ निर्माणलाई बराबरी महŒव दिएर महानगरले काम गरिरहेको बताए। ‘नयाँ बनाइने शौचालयलाई आवश्यकता आधारमा स्मार्ट, सहुलियत र व्यवस्थित गरिने छ,’ उनले भने, ‘सार्वजनिक शौचालय सबैले प्रयोग गर्न सक्ने खालको हुनुपर्छ। यसमा हामी सचेत छौं।’

सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले २० प्रकारका ढाँचामा सार्वजनिक शौचालयको डिजाइन गरिरहेको बताए। उनले भने, ‘एक पटकमा एक जनाका लागि मात्र उपयुक्त हुनेदेखि तीन जनासम्मले प्रयोग गर्न सक्ने खालका तथा शौचसँगै नुहाउन मिल्ने खालका शौचालय डिजाइन गरिएका छन्।’ बस्नेतका अनुसार यसरी बनाइएका डिजाइन कम्तीमा १५ लाखदेखि बढीमा १ करोड रूपैयाँसम्म लागतका छन्।

कार्यक्रमका सहभागीले उपत्यकाको सार्वजनिक शौचालयलाई व्यवस्थित गर्नेमा सरकार लागि पर्नुपर्नेमा जोड दिएका थिए।
एक अध्ययन अनुसार काठमाडौं उपत्यकामा एक सय १५ सार्वजनिक शौचालय छन्। तर, सरसफाइ तथा साबुन र पानी अभावलगायत कारणले कतिपय प्रयोगविहीन छन्।

प्रकाशित: ४ मंसिर २०७६ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App