coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

पहिरोले टहरा बगाएपछि गाउँउले बस्ती छाडे

पहिरोले बगेको केरौंजा गाउँ । तस्बिर सौजन्य: नारायण भट्ट

गोरखा–पहिरोले गाउँ बगाउने खतरा भएपछि उत्तरी गोरखाको केरौंजाका दुई सय धुरीले घर छाडेका छन् । केरौंजा वडा नम्बर १, २ र ४ का एक सय १३ धुरी गाउँमाथि रहेको जंगलछेउ नयाँ अस्थायी टहरा बनाउन जुटेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले तत्काल अन्यत्रै स्थानान्तरण गर्न नसक्ने भन्दै गाउँनजिकै सुरक्षित ठाउँमा बस्न स्थानीयलाई भनेको हो ।

‘त्रिपाल र टेन्ट पुर्याएका छौं, तत्काललाई टहरा बनाएर बस्न धेरै घर भएकाले समस्या छ,’ प्रमुख जिल्ला अधिकारी नारायण भट्टले भने, ‘केही आफन्तकोमा बसेका छन् ।’ वडा नम्बर ३ का ३८ धुरीका मानिस पनि बिहीबार गाउँ छाडेर अन्यत्रै सरेका छन् । गाविसभरि नै उपयुक्त ठाउँ नभेटिएपछि पीडित केरौंजावासीलाई दीर्घकालीन स्थानान्तरण गर्ने योजना जिल्ला दैवीप्रकोप उद्धार समितिले बनाएको छ ।

करिब चार सय धुरीको सिंगो केरौंजा गाउँ नै पहिरोको जोखिममा रहेकाले त्यहाँबाट अन्यत्रै लैजानुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी भट्टले बताए । उहीया १, खोर्लाबेसीमा पनि पहिरोले गाउँ नै बग्ने खतरा छ । तीनवटा घर बगिसकेको छ । ‘गाउँलेहरु बस्ती छाडेर अन्यत्रै जाने तयारी गरिरहेका छन्, बस्तीनजिकै रहेको सार्वजनिक जग्गामा,’ आफन्तकोमा गएर बसेका खोर्लाबेसीका कान्छा गुरुङले बताए ।अहिले पहिरो गएका र उच्च जोखिममा रहेको बस्ती भूकम्पलगत्तैको सर्वेक्षणमा प्राविधिकले तत्काल स्थानान्तरण गर्नुपर्ने बताएका थिए ।

त्यतिबेला जोखिममा रहेको भनिएका विभिन्न गाविसका २३ बस्तीमध्ये अहिलेसम्म कुनै पनि स्थानान्तरण भएको छैन । बस्ती स्थानान्तरण नहुँदा वर्षातसँगै पहिरोले अझै थुप्रै गाउँ बग्ने खतरा छ । सरकारले जोखिम क्षेत्र पहिचान गरेर स्थानान्तरण सुरु गर्ने स्थानीय विकास अधिकारी नारायण आचार्य बताउँछन् ।
प्रयोगविहीन सामुयिक आवास

नेपाली सेनाले भूकम्पपीडितलाई राख्न बनाएको सामूहिक आवास प्रयोगविहीन भएको छ । भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखाका विभिन्न पाँच ठाउँमा नेपाली सेनाले ५६ परिवार बस्न मिल्ने सामूहिक आवास निर्माण गरेको भए पनि प्रयोगमा आएको छैन । जिल्लाको ग्रामीण दुर्गम भेग केरौंजा, स्वाँरा, मुच्चोक, खरिबोट, र थुमी गाविसमा सेनाले आवास निर्माण गरेको हो । केरौंजामा पहिरो बगेपछि भूकम्प पीडित थातथलो छाड्न बाध्य छन् तर पनि सेनाले बनाएको सामूहिक आवास प्रयोग गरेका छैनन् । जग्गा अभावले केरौंजा २ जुतिङमा भने योजनाअनुसार १२ कोठे भवन बनाउन नसकिएको सेनाले जनाएको छ । त्यहाँ आठकोठे सामूकिक भवन छ ।


गाउँ विकास समितिको जिम्मा रहेको उक्त भवनमा पहिरो पीडितलाई राख्न गाविसले चासो दिएको छैन । अन्य चार ठाउँमा पनि १२ परिवार बस्न मिल्ने सामूहिक आवास निर्माण भएको छ । तर कुनैमा पनि पीडित बस्न थालेका छैनन् । सेनाले निर्माण सम्पन्न गरिसकेको बताएको छ । गाविसको जिम्मा रहेको उक्त भवनमा बस्ने पीडित आफैंले खाने जोहो गर्नुपर्छ । बस्नका लागि मात्र उक्त ठाउँ उपलब्ध गराइने र तयारी भइरहेको प्रजिअ भट्ट बताउँछन् । स्वाँरा, मुच्चोक, खरिबोट र थुमीमा बनेको आवास कुनैमा पनि पीडित बस्न थालेका छैनन् । कस्ता पीडितलाई राख्ने भन्ने निक्र्योल गाविसले गर्न नसक्दा पहिरो पीडित खुला आकाशमा त कोही आफन्तको टहरामा गुजारिरहेका छन् ।

 

प्रकाशित: १७ असार २०७३ ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App