coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नाडाल नै विश्व नम्बर एक

पेरिस – स्पेनिस स्टार राफाइल नाडालले सोमबार पाँचौं पटक विश्व नम्बर एक भएर एटिपी सिजनको अन्त्य गरेका छन्।

नाडालले लन्डनमा सम्पन्न गत एटिपी फाइनलमा समूहचरण पार गर्न नसके पनि शीर्ष स्थानका अर्का प्रतिद्वन्द्वी नोभाक जोकोभिच सेमिफाइनलको यात्रा तय गर्न नसकेपछि यस सिजनको अन्त्यमा स्पेनिस स्टार विश्व नम्बर एक रहने पक्का भएको थियो। यस सिजनको अन्त्य हुँदा नाडालले ९ हजार ९ सय ८५ अंक बनाएका छन्। जुन सर्बियन स्टार जोकाभिचभन्दा ८ सय ४० अंक बढी हो।

यस सफलतासँगै नाडालले जोकोभिच र रोजर फेडेररको पाँचौं पटक विश्व नम्बर एक भएर सिजन अन्त्यको रेकर्ड बराबरी गरेका छन्। यद्यपि, उनी पिट साम्प्रासको रेकर्डभन्दा एक सिजनले पछाडि छन्। अमेरिकी स्टार साम्प्रास सर्वाधिक ६ पटक सिजनको अन्त्यमा विश्व नम्बर एक भएका छन्। यद्यपि, नाडाल र जोकोभिचले यस सिजन समान दुई ठूला प्रतियोगिताको उपाधि पनि आफ्नो बनाएका छन्।

यस सिजन जोकोभिचले अस्ट्रेलियन ओपन र विम्बल्डनको उपाधि जित्दा नाडालले रोलान्ड गारोस (फ्रेन्च ओपन) र युएस ओपनको उपाधि उचाले। स्विस स्टार फेडेररले भने लगातार दोस्रो पटक विश्व नम्बर तीनका रूपमा सिजनको अन्त्य गरे। गत अगस्टमा ३८ वर्ष लागेका फेडेरर यस सिजन ठूला प्रतियोगिता जित्नबाट चुके।

उनी यस सिजन फ्रेन्च ओपनको सेमिफाइनलमा पुग्दा नाडालसँग स्तब्ध भएका थिए। युएस ओपनमा पनि फेडेरर अन्तिम आठभन्दा माथि पुग्न असफल भएका थिए। त्यस्तै विम्बल्डनको फाइनलमा पनि फेडेरर जोकोभिचसँग स्तब्ध भएका थिए। पाँचौं सेटसम्म चलेको उक्त फाइनलमा ऐतिहासिक प्रतिस्पर्धा भएको थियो।

यद्यपि, आगामी सन् २०२० मा भने फेडेरर २१औं मुख्य उपाधि जित्ने लक्ष्यमा छन्। त्यस्तै यस सिजन फ्रेन्च ओपनको फाइनलमा नाडालसँग पराजित भएका अस्ट्रियाका डोमिनिक थिम पनि चौथो स्थानमा पुगेका छन्। उनी सिजनको अन्तिम प्रतिस्पर्धा एटिपी फाइनलमा ग्रिसका स्टेफानोस सिटसिपाससँग पराजित भएका थिए। सिटसिपास पनि विश्व नम्बर ६ मा रहन सफल भए।

उनीभन्दा अगाडि रसियाका डानियल मेडभेडेव छन्। पूर्व विश्व नम्बर एक ब्रिटेनका स्टार एन्डी मुरेले पनि विश्वको २ सय ४०औं वरीयतामा रहेर आगामी वर्षको सुरुआत गर्नेछन्। यद्यपि, उनले आगामी वर्ष संन्यास लिन सक्ने पनि अनुमान गरिँदै आएको छ। उनी पछिल्ला समय चोटका कारण बाहिर रहँदै आएका छन्।

विश्व नम्बर ६ मा रहेका सिटसिपासले लन्डनमा सम्पन्न एटिपी उपाधि जित्दा फाइनलमा अस्ट्रियाका थिमलाई २–१ को प्रतिस्पर्धात्मक सेटमा हराए। २१ वर्षे सिटसिपासले एक सेटले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै १८ वर्षपछि एटिपी फाइनल्स जित्ने सबैभन्दा कान्छा खेलाडी बने। उनले पहिलो सेटमा ६–७(६÷८) को हार भोगेका थिए। तर, उत्कृष्ट पुनरागमन गर्दै उनी त्यसपछिका दुई सेट आफ्नो बनाउन सफल भए।

दुई सेटमा सिटसिपास ६–२ र ७–६(७÷४) ले विजयी भए। लन्डनको ओटु एरेनामा दुई घण्टा ३५ मिनेट चलेको खेलमा सफलता हात पारेपछि सिटसिपासले दुई मिलियन पाउन्ड पुरस्कार प्राप्त गरे। ‘यो उपाधि उचाल्न पाउँदा अभूतपूर्व आनन्द भइरहेको छ,’ सिटसिपासले भने, ‘आज मेरो सपना पनि पूरा भएको छ।’

नाडालले लन्डनमा सम्पन्न गत एटिपी फाइनलमा समूहचरण पार गर्न नसके पनि शीर्ष स्थानका अर्का प्रतिद्वन्द्वी नोभाक जोकोभिच सेमिफाइनलको यात्रा तय गर्न नसकेपछि यस सिजनको अन्त्यमा स्पेनिस स्टार विश्व नम्बर एक रहने पक्का भएको थियो।

 

प्रकाशित: ४ मंसिर २०७६ ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App