८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

घेराबन्दीमा परेका प्रदर्शनकारी डोरी प्रयोग गरेर भागे

प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि हङकङ पोलिटेक्निक विश्वविद्यालयबाट बाहिरिँदै सरकारविरोधी प्रदर्शनकारी। तस्बिर : एजेन्सी

हङकङ (बिबिसी) – प्रदर्शन गरिरहेकै बेला एउटा विश्वविद्यालयमा प्रहरी घेराबन्दीमा परेका प्रदर्शनकारीको एउटा समूह पुलमा बाँधेको डोरी प्रयोग गरेर भाग्न सफल भएको छ।

हङकङको पोलिटेक्निक विश्वविद्यालयभित्र प्रहरी घेराबन्दीमा परेका करिब सयजना जति प्रदर्शनकारीलाई भने प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेर नियन्त्रणमा लिन सफल भएको बताइएको छ।

गत सातादेखि प्रदर्शनकारीहरु सो विश्वविद्यालयभित्र रहेका थिए। सुरुमा आगो लगाएर र प्रहरीमाथि पेट्रोल बम प्रहार गरेर विश्वविद्यालयमा प्रवेश गर्न नदिएका प्रदर्शनकारीहरु आखिरीमा आफैं प्रहरीको घेराबन्दीमा परेका थिए।

विश्वविद्यालयभित्र घेराबन्दीमा परेका ती प्रदर्शनकारीहरुलाई खाद्यान्नलगायतका अत्यावश्यक सामग्रीको समेत अभाव हुँदै गएका कारण पनि उनीहरु भाग्न खोजिरहेका थिए। उनीहरूले भण्डार गरेको आवश्यक सामग्री कम हुँदै गएको हो।

अत्यावश्यक सामग्री कम हुँदै गए पनि प्रहरीले पक्राउ गर्ने चेतावनी दिएका कारण उनीहरु विश्वविद्यालय हाताबाट बाहिर निस्कन हच्किएको बताइएको छ।

अझै दुई सयजति प्रदर्शनकारी प्रहरी घेराबन्दीमै रहेको बताइएको छ। उनीहरु लगातार तीन दिनदेखि घेराबन्दीमा रहेका हुन्।

सोमबार पनि विश्वविद्यालयभित्र रहेका प्रदर्शनकारीहरु भाग्न खोजेका थिए तर उनीहरुमध्ये धेरैलाई प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेर नियन्त्रणमा लिएको थियो।

हङकङ प्रहरीले आइतबार राति १० बजेभित्रै पोलिटेक्निक विश्वविद्यालय हाताभित्र रहेका प्रदर्शनकारीलाई सो क्षेत्र छोड्न चेतावनी जारी गरेको थियो। दिइएको समयभित्र पनि प्रदर्शनकारीले विश्वविद्यालय नछोडेपछि प्रहरीले उनीहरु लक्षित कारबाही सुरु गरेको थियो।

प्रहरीको गोली र अश्रुग्यास प्रहारबाट सोमबार पनि हङकङमा हिंसा मच्चिएको थियो, जसका कारण दर्जनौं मानिस घाइते भएका थिए।

पोलिटेक्निक विश्वविद्यालय हङकङमा लामो समयदेखि चलिरहेको सरकारविरोधी प्रदर्शनको मुख्य केन्द्रमा परिणत भएको छ। चीनको अर्धस्वशासित भूभागका रूपमा रहेको हङकङमा आन्दोलन सुरु भएयता पछिल्ला दिनका प्रदर्शनले सबैभन्दा उग्र रूप लिएका छन्।

सरकारले मुख्यभूमि चीनसमक्ष हङकङका नागरिक सुपुर्दगी गर्न सकिने प्रावधान भएको एउटा विधेयक ल्याउन लागेको विरोधमा गत जुन महिनामा हङकङमा सरकारविरोधी प्रदर्शन सुरु भएको थियो।

निरन्तरको प्रदर्शन र आन्दोलनका कारण सुरुमा विधेयक स्थगन गरेको हङकङ सरकारले प्रदर्शन झन उग्र हुँदै गएपछि हाल उक्त योजना पूर्ण रूपमा फिर्ता लिएको भए पनि पछिल्लो समय आन्दोलनको माग र स्वरूप बदलिएको छ।

हाल हङकङमा बृहत् प्रजातान्त्रिक अधिकार दिइयोस् र प्रहरीलाई उत्तरदायी बनाइयोस् भन्ने मागसहित आन्दोलन भइरहेको छ। यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी प्रमुख कार्यकारी क्यारी लामको राजीनामा मागसमेत गर्दै आएका छन्।

हङकङका प्रदर्शनकारीले विशेषतः पाँचवटा माग अघि सारेका छन्। जसमा, प्रशासनले प्रदर्शनलाई ‘दंगा’ भनेर परिभाषित गरेकाले सो फिर्ता हुनुपर्ने, पक्राउ परेका सबैलाई माफी दिइनुपर्ने, प्रदर्शनकारीमाथि प्रहरीद्वारा गरिएको बल प्रयोगको जाँचबुझका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने र हङकङको प्रमुख कार्यकारी र विधायन परिषद्को निर्वाचनका लागि विश्वव्यापी मान्यता प्राप्त हुनुपर्ने रहेका छन्।

‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गतको व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ।

प्रस्तावित सुपुर्दगी विधेयकले हङकङको न्यायिक स्वतन्त्रतामा कमी आउने भन्दै प्रदर्शन सुरु भएको थियो। प्रस्तावित सुपुर्दगी विधेयकमा मूख्यभूमि चीनबाट अपराधिक कार्यमा संलग्न ताइवान र मकाउका संदिग्धलाई  सुपुर्दगीको अनुरोध आएमा हङकङ अदालतले हरेक मुद्दाका आधारमा गरेको निर्णयबमोजिम सुपर्दगी गर्न सकिने व्यवस्था गरिएको थियो।

ताइवानमा बिदा मनाउन गएका बेला हङकङका एक व्यक्तिले आफ्नी केटी साथीको हत्या गरेको आरोप लागेपछि ताइवान सुपुर्दगी गर्न नसकेको सन्दर्भ पारेर नयाँ विधेयक अघि सारिएको थियो।

प्रमुख कार्यकारी क्यारी लामसहित हङकङका अधिकारीहरुले सहरलाई अपराधीबाट बचाउन त्यस्तो कानुन आवश्यक रहेको बताउँदै विधेयक ल्याउन लागेका थिए। तर कैयौं आलोचकले भने चीनको राजनीतिक विपक्षीलाई लक्षित गर्न यो विधेयक प्रयोग हुन सक्नेतर्फ पनि शंका व्यक्त गरेका थिए।

औपचारिक रूपमै विवादित विधेयक फिर्ता लिने निर्णय गरे पनि यसले आक्रोशित प्रदर्शनकारीका पाँचमध्ये एउटा मात्रै मागको सम्बोधन भएको भन्दै लोकतन्त्र पक्षधर प्रदर्शनकारीले आफ्ना पाँचवटै माग पूरा हुनुपर्ने भन्दै प्रदर्शनलाई निरन्तरता दिँदै आएका छन्।

यसैबीच, हङकङ प्रहरीले सोमबार पोलिटेक्निक विश्वविद्यालयमा प्रहार गरेको सामग्रीको विवरण मंगलबार सार्वजनिक गरेको छ। जसमा, एक हजार चार सय ५८ वटा अश्रुग्यास, एक हजार तीन सय ९१ वटा रबरका गोली, तीन सय २५ वटा बिन ब्याग राउन्ड्स र दुई सय ६५ वटा स्पन्ज गोली रहेका छन्।

प्रहरीले विश्वविद्यालयबाट पक्राउ परेका प्रदर्शनकारीलाई दंगा फैलाएको आरोपमा मुद्दा चलाउने भएको छ। हङकङ कानुनअनुसार दंगा फैलाएको आरोप पुष्टि भए १० वर्षसम्म जेल हुन्छ।

हङकङ प्रहरीले आइतबार राति १० बजेभित्रै पोलिटेक्निक विश्वविद्यालय हाताभित्र रहेका प्रदर्शनकारीलाई सो क्षेत्र छोड्न चेतावनी जारी गरेको थियो। दिइएको समयभित्र पनि प्रदर्शनकारीले विश्वविद्यालय नछोडेपछि प्रहरीले उनीहरु लक्षित कारबाही सुरु गरेको थियो। विश्वविद्यालय प्रवेश गर्न खोजेका प्रहरीलाई रोक्नका लागि प्रदर्शनकारीले पेट्रोल बम र ढुंगा प्रहार गरेका थिए।

जुन महिनामा सुरु भएको सरकारविरोधी प्रदर्शनका क्रममा पोलिटेक्निक विश्वविद्यालयमा भएको प्रदर्शन सबैभन्दा हिंस्रक रहेको अधिकारीहरुले बताएका छन्।

प्रकाशित: ४ मंसिर २०७६ ०२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App