६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

उपचारका लागि सरिफ लन्डन प्रस्थान

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ।

लाहोर (एजेन्सी) – पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ उपचारका लागि मंगलबार बेलायत प्रस्थान गरेका छन्।

एयर एम्बुलेन्समार्फत सरिफ बेलायतको राजधानी लन्डन प्रस्थान गरेका हुन्। भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका सरिफ जेलमै सिकिस्त विरामी भएपछि पाकिस्तानकै एक अस्पतालमा उपचार गराइएको थियो। त्यसपछि उनलाई आफ्नै निवासमा अति सघन कक्ष (आइसियु)को व्यवस्था गरेर उपचार भइरहेको थियो।

स्वदेशमा गरिएको उपचारबाट सन्तोषजनक सुधार नभएपछि उनलाई मंगलबार थप उपचारका लागि लन्डन लगिएको हो।

जेल सजाय भोगिरहेका सरिफलाई जेल बाहिर निकालेर उपचार गर्न अदालतले आदेश दिएको थियो भने विदेश गएर उपचार गर्न सरकारले अनुमति दिएको थियो।

तीन पटकसम्म पाकिस्तानी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका ६९ वर्षीय सरिफलाई रगतमा समस्या भएको चिकित्सकले बताएका छन्। उनका चिकित्सकका अनुसार सरिफले ‘जीवनसँग संघर्ष’ गरिरहेका छन्।

उनलाई उपचार गर्न विदेश जान दिने की नदिने भन्ने बारेमा लामो समयसम्म छलफल भएपछि सरकारले उनको अवस्था थप नाजुक हुँदै गएकाले विदेश जान दिने अनुमति दिएको हो। सरिफले चार साताभित्र स्वदेश फर्कने बताएका छन्।

प्रकाशित: ४ मंसिर २०७६ ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App