coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भैरहवा सेजबाट पाँच उद्योग बाहिरिए

भैरहवा सेज। फाइल तस्बिरः नागरिक

काठमाडौं – उत्पादित वस्तुको ६० प्रतिशत निर्यात गर्नुपर्ने कसिलो सरकारी नीतिका कारण भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) बाट आधा दर्जन उद्योग बाहिरएका छन्। आयात उच्च दरले वृद्धि हुन थालेपछि सरकारले निर्यात बढाउने उद्देश्यले सेज स्थापना गरेको हो। तर डेढ दशकसम्म पनि आवश्यक पूर्वाधार निर्माण नगर्ने तर उल्टै निर्यातका लागि कठोर नीति ल्याएपछि उद्योगी व्यवसायी सेजमा उद्योग स्थापना गर्न हच्किएका हुन्। भैरहवास्थित सेजबाट बाहिरिने उद्योगमा न्युमेटल इन्डस्ट्रिज प्रालि, सिद्धार्थ पाइप प्रालि, सिद्धार्थ पेट प्लास्ट प्रालिका दुई उद्योग र सुगम नानो हर्बल प्रालि छन्।

अहिले मुलुकको कुल व्यापार घाटा प्रतिमहिना एक खर्ब रुपैयाँ हाराहारी छ। निर्यात भने १० अर्ब रुपैयाँ पनि पुगेको छैन। यस्तो अवस्थामा निर्यातमूलक उद्योगलाई सहुलियत दिएर प्रोत्साहन गर्नुपर्नेमा उल्टै सेजबाट व्यवसायी बाहिरिनुले नराम्रो संकेत गरेको छ। सेजबाट बाहिरिने अधिकांश उद्योगी व्यवसायीले सरकारले सेज स्थापना गरेर निर्यात बढाउने हल्ला गरे पनि त्यसअनुसारको काम गर्न नसकेको आरोप लगाएका छन्।

ती उद्योग करिब एक वर्ष भाडा तिरेपछि सेजबाट बाहिरिने निर्णयमा पुगेका हुन्। न्युमेटल इन्डिस्ट्रिज प्रालिले करिब एक अर्ब रुपैयाँ लगानीमा स्टिल सामान बनाउने उद्योग सञ्चालन गर्ने तयारी गरेको थियो। उत्पादनको प्रमुख हिस्सा स्वदेशी बजारमा बिक्री गर्न नपाउने भएपछि उद्योग स्थापना नगर्ने निर्णयमा पुगेको प्रालिका प्रबन्ध निर्देशक रोहित गुप्ताले बताए। ‘सेजमा उत्पादन गरेको ठूलो हिस्सा विदेशी बजारमा बिक्री गर्नुपर्ने नीति व्यावहारिक भएन,’ गुप्ताले भने, ‘विदेशबाट कच्चा पदार्थ ल्याएर विदेश नै निर्यात गर्न सम्भावना नदेखेपछि सेजबाट बाहिरियौं।’ वस्तु स्वदेशी बजारमा बिक्री गर्न सके आयात प्रतिस्थापन हुने उनको दाबी छ। ‘आयात प्रतिस्थापन भनेको निर्यात गरेसरह हो,’ उनले भने, ‘तर सरकारको नीति यस्तो नभएपछि उद्योग लगाएनौं।’

सेजसँग २२ वटा उद्योग स्थापना गर्न सम्झौता भए पनि अहिलेसम्म तीनवटाले मात्र उत्पादन सुरु गरेका छन्। सरकारले निर्यात बढाएर व्यापार घाटा घटाउने, रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, विदेशी लगानी र प्रविधि भिœयाउन विशेष आर्थिक क्षेत्रको अवधारणा ल्याएको थियो। सेज स्थापनाको निर्णय भएको डेढ दशकसम्म पनि भैरहवा सेजमा उद्योग स्थापना हुन सकेका छैनन्।

आयात उच्च दरले वृद्धि हुन थालेपछि सरकारले निर्यात बढाउने उद्देश्यले सेज स्थापना गरेको हो। तर डेढ दशकसम्म पनि आवश्यक पूर्वाधार निर्माण नगर्ने तर उल्टै निर्यातका लागि कठोर नीति ल्याएपछि उद्योगी व्यवसायी सेजमा उद्योग स्थापना गर्न हच्किएका छन्।

सिद्धार्थ पाइप प्रालिका सञ्चालक प्रदीपकुमार अग्रवालले सेजमा उद्योग स्थापना गर्न राखिएका सर्त उद्योगीलाई आकर्षित गर्ने खालका नभएको बताए। ‘सेजमा स्थापना हुने उद्योगलाई थप सहुलियत केही देखिएन,’ अग्रवालले भने, ‘सेजका सर्त र पूर्वाधार निर्माणमा ढिलाइ भएकाले सेजबाट बाहिरियौं।’ सरकारले पटकपटक नीतिनियम फेर्ने भएकाले सेजमा फाइदा नदेखिएको उनले बताए। नेपालमा उद्योग स्थापना गरेर उत्पादिन सामान भारत, चीन पठाउन कठिन भएको उनले बताए। निर्यात प्रवद्र्धन गर्ने सेजको नीति सकरात्मक भए पनि विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादित सामान विदेशमै निर्यात गर्न कठिन हुने उनको भनाइ छ।

पाँचवटा उद्योगले सम्झौता तोडेर उद्योग स्थापना नगर्ने निर्णय गरेको सेजका सूचना अधिकारी सुन्दर थापाले पुष्टि गरे। ‘करिब एक वर्ष भाडा तिरेर सेज छाडेका छन्,’ थापाले भने। उनका अनुसार २२ वटा उद्योगले अनुमति लिएकोमा अहिलेसम्म तीनवटाले मात्र उत्पादन सुरु गरेका छन्। सेजका उद्योगले उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने पुरानो व्यवस्थामा परिमार्जन गरेर ६० मा झारेको थापाले बताए। ‘उद्योगीले स्वदेशी बजारमा पनि बिक्री गर्न पाउनुपर्ने माग गरेपछि ७५ प्रतिशतबाट ६० प्रतिशतमा झारेका छौं,’ थापाले भने, ‘अब उत्पादनको ४० प्रतिशत स्वदेशी बजारमा बिक्री गर्न पाउँछन्।’

सेजमा उद्योग स्थापना गर्ने उद्योगीले प्रतिस्वायर फिट २० रुपैयाँ भाडा तिर्नुपर्छ। सेजमा समयमा विद्युत् सबस्टेसन स्थापना गर्न नसक्नु कमेजोरी भएको थापाले स्वीकार गरे। उनले भने, ‘यो महिना सबस्टेसनको टेन्डर हुँदैछ।’ अन्तरनिकाय समन्वयका कारण ढिला भएको थापाले बताए।

उत्पादन वृद्धि गरेर व्यापार घाटा घटाउने सरकारी रणनीति छ। चालू आर्थिक वर्ष ०७६/७७ को साउनदेखि असोजसम्मको व्यापार घाटा तीन खर्ब सात अर्ब ७८ करोड रुपैयाँ छ। भन्सार विभागका अनुसार असोजसम्म तीन खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँको सामान आयात छ। निर्यात २७ अर्ब १६ करोड ६७ लाख रुपैयाँमा सीमित छ।

सेजमा उत्पादन सुरु गरेका केही उद्योगले निर्यात सुरु गरिसकेका छन्। शक्ति मिनरलले सेजमा उद्योग स्थापना गरेर ५० लाख रुपैयाँको सामान निर्यात गरेको छ। केही उद्योगले गत साताबाट उत्पादन सुरु गरेका छन्। ग्लोबल स्टिल भाँडाबर्तन र लिडलाइटले असोज २८ देखि व्यावसायिक उत्पादन सुरु गरेका छन्। पञ्चकन्या, जयबुद्ध मेटललगायतका उद्योगले पूर्वाधार तयार गरिरहेका छन्। सेज विशेष आर्थिक क्षेत्र ऐन २०७३ अनुसार सञ्चालन हुँदै आएको छ। सेजमा जग्गाको भाडादर घटाउनुपर्ने उद्योगीको माग छ। उद्योगीको सजिलोका लागि सेजमा स्थापना भएका उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको एक वर्षसम्म उत्पादित वस्तु स्वदेशी बजारमै बिक्री गरे पनि हुने र त्यसपछि भने तोकिएको परिमाणमा विदेश निर्यात गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसैगरी आयकरमा पनि छुट दिइएको छ। पाँच वर्षसम्म शतप्रतिशत आयकर छुट र त्यसपछि ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।

प्रकाशित: ४ मंसिर २०७६ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App