coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

आज मन्त्री हेरफेर : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्ने जनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा आफू रहेको सुनाउँदै कुनै सार्वजनिक कार्यक्रम नराख्न मन्त्रीहरूलाई निर्देशन दिएका हुन्।

बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्का केही सदस्यको जिम्मेवारी हेरफर हुने र केहीले बिदा लिनुपर्ने अवस्था आउने बताए। तर, बिदा हुनेले अक्षम भएको ठान्न नहुने पनि ओलीले बताए। ‘कसैको जिम्मेवारी हेरफेर हुन सक्छ। कोही कायमै रहन पनि सक्नुहुन्छ ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै बैठकमा सहभागी एक मन्त्रीले भने, ‘कसैले बिदा लिनुपर्ने पनि हुन सक्छ। बिदा हुनेहरूलाई अन्यथा नलिन आग्रह गर्छु, अक्षम भएर हटाउन लागेको होइन।’

प्रधानमन्त्री ओलीले पार्टीमा सबैलाई पालो पु-याउन पनि मन्त्रिपरिषद् हेरफेर गर्नुपरेको बताए। ‘यहाँ पालो पनि पु-याउनुपर्ने छ। त्यसकारण तपाईंहरुमध्ये कसैले छोड्नुपर्ने हुन सक्छ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै ती मन्त्रीले भने, ‘म त्यसका लागि भोलि (बुधबार) आग्रह गर्न सक्छु। तयार रहनु होला।’

‘सबैलाई पालो पु-याउन पनि मन्त्रिपरिषद् हेरफेर गर्नुपरेको छ’

कुनै पनि मन्त्रीको नाम नतोकीकन अहिलेसम्म गरेको काम र सहयोगका लागि धन्यवादसमेत दिएका प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बुधबार कुनै पनि सार्वजनिक कार्यक्रम नराख्न र कतै नजान पनि आग्रह गरे। ‘म भोलि नै मन्त्रिपरिषद् पुनर्गठन तयारी गर्र्दैछु,’ स्रोतले भन्यो, ‘केहीले नयाँ जिम्मेवारी पाउनु हुनेछ, केहीले बिदा लिनुहुन्छ।’ बैठकमा उनले को–को हट्ने, को–को दोहोरिने र को–को थपिने भन्नेबारे भने केही जानकारी गराएनन्। ओलीले बुधबार नै मन्त्रिपरिषद् पुनर्गठन र शपथ गराउने योजना बनाएको स्रोतको दाबी छ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा केही परिवर्तन गर्ने संकेत गरेको जानकारी दिए। ‘उहाँ (प्रधानमन्त्री) ले मन्त्रिपरिषद् परिवर्तन हुने केही संकेत गर्नुभयो। भरसक बुधबार सार्वजनिक कार्यक्रम नराख्नु भन्नुभएको छ,’ बाँस्कोटाले भने, ‘उहाँले केही संकेत गर्नुभएकाले भोलि (बुधबार) केही परिवर्तन हुने अपेक्षा छ।’

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले बुधबार बिहान ९ बजे पार्टी सचवालय बैठक पनि बोलाएका छन्। सचिवालयको आइतबारको बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैद्धान्तिक सहमति दिएको थियो।

यसैबीच नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सचिवालयले मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको भएको भन्दै यस विषयमा उनलाई नजोड्न आग्रह गरेको छ। ‘मन्त्री फेरबदल प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको भन्नेमा अध्यक्ष प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ,’ दाहालको सचिवालयबाट मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ४ मंसिर २०७६ ००:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App