७ वैशाख २०८१ शुक्रबार
अर्थ

धरानमा थपियो नयाँ प्याराग्लाइडिङ कम्पनी

व्यावसायिक उडान सुरु गर्नेबारे जानकारी दिदै बुढासुब्बा प्याराग्लाइडिङ प्रालिका सञ्चालकहरु । तस्बिर: रोहित राई

धरान–साहसिक खेल पर्यटन अन्र्तगतमा पर्ने प्याराग्लाइडिङको धरानमा व्यावसायिक सुरुवात गर्न नयाँ कम्पनी थपिएको छ । बुढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रालिले धरानमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ गर्न सरकार तथा नागरिक उड्यान प्राधिकरणबाट सबै प्रक्रिया पूरा गरी अनुमति लिएको हो। प्रालिले यही सोमबार (मंसिर २७ गते) देखि व्यावसायिकरुपमा टेण्डम उडान शुरु गर्ने जनाएको छ ।

‘टेण्डम उडानको लागि मन्त्रालय र प्राधिकरणबाट लिनुपर्ने सबै अनुमति र प्रक्रिया पुरा भइसकेको छ, अब सोमबारदेखि व्यावसायिक उडान सुरुवात गर्छौैं,’ बिहीबार पत्रकार सम्मेलन गर्दै प्रालिका अध्यक्ष लेखमणि जिमीले भने, ‘उद्घाटनको मौकमा तीन दिन पर्यटकहरुलाई सहुलियतमा उडाउछौं।’ उनका अनुसार प्राधिकरणबाट इजाजत पत्र र सेफ्टी डिपार्टबाट ‘रिक्रिएस्नल एयर अपरेसन सर्टिफिकेट’ पनि पाएपछि उडान गर्ने बाटो खुलेको हो।

धरानमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ गर्ने कम्पनी बुढासुब्बा दोस्रो हो । धरानमा प्याराग्लाइडिङको पहिलो पटक उडान परीक्षण र पुर्वाधार तयारी गर्ने पाइलटहरु मिलेर नै बुढासुब्बा कम्पनी खोलेका हुन्। आफूहरु पुर्वाधार तयारमा केन्द्रित भएको र अनुमति प्रक्रिया लम्बिएकोले व्यावसायिक उडानमा ढिलाई भएको अध्यक्ष जिमीको भनाइ छ।

धरानमा यसअघि स्काई एड्भेञ्चरले धरान २० छोटीमोरङबाट व्यावसायिक प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु गरिसकेको छ। प्रालिले धरान २४ चिण्डे (रमिते) डाँडाबाट टेकअफ गर्नेछ भने ल्याण्डिङस्थल धरान १७ सर्दु किनारमा तयार गरेको छ। गत चैतमा माउण्टेन स्पोर्ट्स फेण्टिवल अन्र्तगतको प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिप पनि सोही स्थानमा भएको थियो। बुढासुब्बाले पाँच जना टेण्डम पाइलटको अनुमति पाएको छ ।

उद्घाटन अवसरमा २७, २८ र २९ गते बिशेष सहुलियतमा पर्यटकहरुलाई ४ हजार ९ सय ९९ मा उडाइनेछ भने त्यसपछि उडान शुल्क ५ हजर ५ सय र थप १३ प्रतिशत भ्याट जोडिने प्रालिका मार्केटिङ डाइरेक्टर राम राईले बताए। ‘यो शुल्कमा आधा घण्टाको उडान र टेकअफ पुर्याउने, ल्याण्डिङबाट ल्याउने यातायात सुविधा पनि हुन्छ’, उनले भने,‘हरेक दिन फ्लाइट गराउने गरी मार्केटिङमा लागेका छौं, उत्तर चीन र भारतसँगको रोड जोडियो भने अबको ५ बर्षभित्र पूर्वको पर्यटनले धेरै फड्को मार्नेछ।’ आन्तरिक पर्यटकहरुलाई उडानमा आकर्षित गर्न नियमितरुपमा सोलो फ्लाइट गरिरहने उनले बताए।

प्रालिको टेकअफ स्थल चिण्डे डाँडा पर्यटकीय गन्तव्य पनि हो। त्यहाँ दैनिकरुपमा सय भन्दा बढी धराने तथा अन्तरिक पर्यटकहरु पदयात्रा गर्दै पुग्ने गर्छन् । त्यहाँबाट देखिने धरानको सुन्दर दृष्य प्रमुख आकर्षण हो । प्याराग्लाइडिङको व्यावसायिक शुरुवात हुँदा तिनै पर्यटकहरुलाई आकर्षित गर्न सकिने प्रालिले आशा लिएको छ। प्रालिले भविष्यमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गर्ने उद्देश्यले ३ ठाउँमा टेकअफ स्थल पनि निर्माण गरिसकेको छ।

प्रकाशित: २३ मंसिर २०७३ ०८:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App