coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

राष्ट्रिय गौरवको आयोजना कामप्रति सिँचाई मन्त्री असन्तुष्ट

नेपालगन्ज–सिँचाई मन्त्री दीपक गिरीले राष्ट्रिय गौरवको आयोजनाको काममा देखिएको सुस्ततालाई अन्त्य गर्न सरकारले नीतिगत रुपमा सुधार गरिरहेको बताएका छन्। मुलुकमा सञ्चालनमा आइरहेका राष्ट्रिय गौरवका आयोजनाले नाम अनुसारको काम गर्न नसकेको भन्दै उनले असन्तुष्टि जनाए ।

‘राष्ट्रिय गौरवको आयोजनालाई कुनैपनि चिजमा बाधा आउन दिनु हुँदैन,  राष्ट्रिय गौरवको आयोजना त फरक हुनुपर्छ,’ नेपाल प्रेस युनियन बाँकेले बिहीबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा मन्त्री गिरीले भने।

सरकारले यसकालागि चाँडै सिँचाई ऐन ल्याउने तयारी गरेको उनले जानकारी दिए । ‘राष्ट्रिय गौरवको आयोजनालाई फरक बनाउनुपर्ने विषयमा मैले क्याबिनेटमा पनि कुरा उठाँए, सिँचाई ऐन तत्काल आउँदैछ,’ उनले थपे, ‘आगामी पुस १५ वा २० गते भित्र ऐन पास हुन्छ ।’

राष्ट्रिय गौरवको सिक्टा आयोजनाको कामप्रति असन्तुष्टि जनाउँदै उनले माटोको अवस्था अनुसार डिजाइनमा केही त्रुटी भएको आशंका गरे। ‘म कुनै विज्ञ त होइन, तरपनि स्लोपको ४ इन्च मोटाई कम हो,’ उनले भने। आयोजनाकालागि सरकारले बजेटमा कमी हुन नदिएको उनले प्रष्ट्याए ।

मन्त्री भएपछि आफूले तीन वटा महत्वपूर्ण योजना पास गराएको जानकारी दिए । अति जोखिमयुक्त पहिरो परियोजना, वृहत्तर दाङ सिँचाई परियोजना र रुपाताल संरक्षण योजना मन्त्रिपरिषदबाट पारित भइसकेको उनको भनाइ छ। ठूला आयोजना सञ्चालनकालागि बजेटमा कुनै कमी नभएको सिँचाई मन्त्री गिरीले बताए।

अर्कौ प्रसंगमा उनले संघीयताको विवादले संविधान कार्यान्वयनमा समस्या आएको धारणा राखे । राजनीतिक इगोलाई छाडेर राष्ट्रिय हितका लागि सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्नेमा नेपाली कांग्रेसका नेतासमेत रहेका गिरीले जोड दिए ।
 

प्रकाशित: २३ मंसिर २०७३ ०८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App