coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

फिल्म साउथ एसियामा ‘ब्याम्बो स्टोरिज’ उत्कृष्ट

काठमाडौं  – निर्देशक साहिन डिल्ली रियाजले बंगलादेशमा बाँस व्यापारका जोखिमबारे बनाएको डकुमेन्ट्री ‘ब्याम्बो स्टोरिज’ उत्कृष्ट घोषित हुँदै यलमाया केन्द्रमा आयोजना भइरहेको चार दिने फिल्म साउथ एसिया २०१९ महोत्सव सकिएको छ। आइतबार यलमाया केन्द्रमा आयोजित फिल्म साउथ एसियाको अवार्ड समारोहमा उत्कृष्ट डकुमेन्ट्री घोषित हुँदै ‘ब्याम्बो स्टोरिज’ ले रामबहादुर ट्रफीसहित दुई हजार अमेरिकी डलर जितेको थियो ।

‘ब्याम्बो स्टोरिज’ मा बाँस काटेर जीविकोपार्जन गर्ने मानिसको कथासँगै परिवारलाई समय दिन नपाएको पीडा समेटिएको छ। महोत्सवमा भारतीय निर्देशक अमित महन्तीको ‘स्क्र्याचेज अन स्टोन’ रनर अप घोषित हुँदै एक हजार अमेरिकी डलरसहितको पुरस्कार जित्यो। ‘स्क्र्याचेज अन स्टोन’ भारतको नागाल्याण्ड आसपासका आदिवासी, सशस्त्र युद्ध र परिवर्तित जीवनमा आधारित रहेको छ।

महोत्सवमा उत्कृष्ट डेब्यु निर्देशकलाई प्रदान गरिने एक हजार अमेरिकी डलरको ‘द तारेक मसुद’ अवार्ड ‘आफ्टर प्रेयर्स डकुमेन्ट्रीका लागि इटालीका निर्देशक सिमोनी मेस्ट्रोनीले पाए। भारत र इटालीको संयुक्त निर्माणमा बनेको सो डकुमेन्ट्री कश्मीरवासीको आशा र निराशामा केन्द्रित रहेको थियो।

पत्रकार कुन्द दीक्षित संयोजकत्वमा श्रीलंकाली निर्देशक सुमाथी शिवमोहन र भारतीय कलाकार आयशा अब्राहम सदस्य रहेको निर्णायक समितिले तीन भारतीय डकुमेन्ट्रीहरूलाई स्पेशल मेन्सन प्रदान गरे। हेमन्तकुमार गाबाको ‘एन इन्जिनियर्ड ड्रिम’, सुप्रियो सेनको ‘स्विमिङ थ्रु द डार्कनेस’ र जेसी अल्कको ‘परिया डग’ लाई स्पेशल मेन्सन प्रदान गरिएको थियो। बालबालिकाको मुद्दामा केन्द्रित अफगानस्तानका निर्देशक अबोजार अमिनीको ‘काबुल, सिटी इन द विन्ड’ डकुमेन्ट्रीले युनिसेफ अवार्डसहित एक हजार अमेरिकी डलर जित्यो।

नेपालका आशिष लिम्बू र देवेन राईले बनाएको ‘द विन्टर ट्याप’ र भारतका ऐश्वर्या ग्रोवरले बनाएको ‘मेमोरिज अफ साइरा एन्ड सलिम’ ले पाँच सय डलरको उत्कृष्ट विद्यार्थी डकुमेन्ट्री संयुक्त रूपमा जिते । दुवैलाई जनही पाँच सय डलर र फिल्म साउथ एसिया २०१९ थान्काद्वारा पुरस्कृत गरिएको थियो।

सन् १९९७ देखि प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको महोत्सव यलमाया केन्द्रमा चार दिन चलेको थियो। ‘ह्वेयर द माइन्ड इज फ्रि’ नारासहित सुरु हुने महोत्सवमा दुई वर्षयता बनेका दक्षिण एसियाका सम–सामयिक विषयहरूमा केन्द्रित रहेका तीन सय डकुमेन्ट्रीमध्ये छनिएका ६३ डकुमेन्ट्री प्रदर्शन भएका थिए। महोत्सवमा ५१ वटा डकुमेन्ट्री उत्कृष्ट पुरस्कारको लागि प्रतिस्पर्धामा परेका थिए।

महोत्सवको यो १२ औं संस्करणमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, बंगलादेश, अफगानस्तान र म्यानमारलगायतका देशबाट २५ सयभन्दा बढी डकुमेन्ट्री प्राप्त भएको जानकारी आयोजकले दिएको थियो। महोत्सवको आयोजना हिमाल साउथ एसियाले गरेको थियो।

प्रकाशित: ३ मंसिर २०७६ ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App