८ वैशाख २०८१ शनिबार
राजनीति

स्थानीय तहमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अघि बढ्यो

प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठलाई शपथग्रहण गराउँदै प्रदेशप्रमुख विष्णुप्रसाद प्रसाईंलगायत । तस्बिर:अशोकसुजन/नागरिक

मकवानपुर - प्रदेश ३ सरकारको संरचना र स्थानीय तहमा कर्मचारी नियुक्त गर्ने प्रक्रिया अघि बढेको छ। प्रदेश लोकसेवा आयोगका अध्यक्ष नियुक्तिसँगै कर्मचारी परिपूर्ति सुरु हुने अपेक्षा सरकारको छ।

प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले शपथग्रहणसँगै पदभार ग्रहण गरेका छन्। प्रदेशप्रमुख विष्णुप्रसाद प्रसाईंले पद तथा गोपनीयताको शपथग्रहण गराएपछि उनले सोमबारै प्रदेश लोकसेवा आयोगको कार्यालयमा पदभार ग्रहण गरेका हुन्। नवनियुक्त अध्यक्ष श्रेष्ठले प्रदेश लोकसेवा आयोगलाई निष्पक्ष ढंगले अघि बढाउने प्रतिबद्धता जनाएका छन्। पत्रकारसँग प्रतिक्रिया दिँदै पूर्वसचिवसमेत रहेका उनले सबैलाई समान ढंगले निष्पक्ष रूपमा काम गर्ने बताए।

‘कसैलाई काखा, कसैलाई पाखा नगरी काम गर्नेछु,’ उनले भने, ‘आयोगले निष्पक्ष ढंगले जसरी सक्षम व्यक्तिलाई कर्मचारीको रूपमा छनोट गर्दै आएको छ, त्यसरी नै प्रदेश आयोगको काम हुनेछ।’ आयोगमा महिलासहित दुईजना सदस्य प्रदेश सरकारले सिफारिस गर्ने भन्दै उनले छिट्टै टिम निर्माण गर्न आयोगले सरकारसँग सदस्यको माग गर्नेसमेत बताए।

निजामती सेवामा ३२ वर्ष काम गरेका श्रेष्ठलाई प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँको प्रदेश लोकसेवा आयोग सिफारिस समितिले कात्तिक २८ गते सिफारिस गर्ने निर्णय गरेको थियो। २०१५ सालमा लमजुङको दुराडाँडामा जन्मिएका श्रेष्ठले २०४१ मा शाखा अधिकृतबाट निजामती सेवा सुरु गरेका थिए।

 

 

प्रकाशित: ३ मंसिर २०७६ ०१:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App