७ वैशाख २०८१ शुक्रबार
समाज

डिल्लीबजार कारागार सार्न आलमको माग

मोहम्मद अफताब आलम। फाइल तस्बिरःनागरिक

काठमाडौं – कारागारमा राम्रो सुविधा नभएको र अहसज भएको भन्दै मोहम्मद अफताब आलमले आइतबार कारागार कार्यालयलाई सानो ‘चिट’ लेख्दै डिल्लीबजार कारागारमा सार्न माग गरेका छन्। उनले महरालाई डिल्लीबजारमा राखेर आफूलाई नख्खुमा राखिएको बताउँदै महरासँगै डिल्लीबजार कारागारमै सार्न माग गरेका हुन्।

राजपुर बमकाण्डका अभियुक्त आलमलाई गौरबाट नख्खु कारागार ललितपुर सारेपछि उनीमाथि निगरानी बढाइएको छ। आलमलाई भेट्न आउनेको संख्या बढी भएको र सुरक्षा ‘थे्रट’लाई महसुस गर्दै निगरानी बढाइएको कारागार कार्यालयले जनाएको छ। चौतफी निगरानीमा बसेका आलमले प्रहरीमाफर्त कारागार कार्यालयलाई ‘चिट’ पठाएका थिए। उक्त चिटमा अन्यत्र सार्न माग गरेका छन्। हिन्दी भाषामा लेखिएको ‘चिट’मा आफूलाई असुरक्षा महसुस भएको र अव्यवस्थित भएको लेखेका छन्। तर, कारागार कार्यालयले भने यस विषयमा कुनै जवाफ दिएको छैन। सरकारले दिएको सेवासुविधा सबै कैदी र थुनुवाको लागि समान हुने भएकोले यसबारे कुनै जवाफ दिन नमिल्ने बताएको छ। ‘कारागारभित्र पनि घरमा जस्तै सुविधा खोजेर हुन्न, सरकारले जेजे सुविधा दिनु भनेका छ हामीले ती सुविधा दिएका छौं, कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले भने, ‘यदि माथिल्लो निकायले नै सार्ने निर्णय ग-यो भने हामीले केही भन्न मिल्दैन, तर यहाँ भित्र पसेपछि सबै कैदीको अधिकार समान हुन्छ।’

आलमलाई कारागारभित्र सीमितलाई मात्रै भेट्न दिइएको छ। ‘दिनहुँ सयौंको संख्यामा भेट्न आउँछन्, हामीले वकिल र आफन्तबाहेक अरुलाई भेट्नै दिएका छैनौं, भेट्न नदिएको भन्दै कतिपयले गेटबाहिरबाटै होहल्लासमेत गरेका छन्, त्यसकारण निगरानी बढाएका हौं,’ कारागार कार्यालय नख्खुका कार्यालय प्रमुख पौडेलले भने।

उनका अनुसार जेलभित्र सबैलाई समान अधिकार हुन्छ। आलमलाई कारागारको दोस्रो ब्लकमा राखिएको छ। उनी बस्ने कोठामा अन्य तीनजना कैदी छन्। आलमलाई अन्य कैदीलाई भन्दा फरक सुविधा दिइएको छैन। सुरक्षाको हिसाबले भने आलमलाई बढी निगरानी राखिएको छ। सशस्त्र तथा नेपाल प्रहरीलाई छुट्टै निगरानी गर्नु भनेर जिम्मा दिइएको छ। यसबाहेक कारागार कार्यालयका कर्मचारीले पनि निगरानी गर्दै आइरहेका छन्। प्रहरीले आलमले आफन्त भेट्दा गरेको कुराकानी र बाहिरबाट आएको टेलिफोनसमेत निगरानी राखिएको छ। कारागार इलाकामा कुनै अराजक गतिविधि नबढोस् भन्नको लागि यसरी निगरानी बढाइएको कार्यालयले जनाएको छ।

जिल्ला अदालत रौतहटले शुक्रबार आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। सुरक्षा ‘थ्रेट’ र अराजक गतिविधि बढ्नसक्ने भन्दै उनलाई शनिबार बिहानै नख्खु कारागार ललितपुर सारिएको थियो। आलमलाई सर्वस्वसहित जन्मकैद माग गर्दै रौतहट जिल्ला अदालतमा मुदा दायर भइसकेको छ। सर्वोच्च अदालतले २०६९ जेठ १६ गते आलमलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको भए पनि उनी बच्दै आएका थिए। पछिल्लो पटक पीडितहरुले सर्वोच्चको आदेश कार्यान्वयन नभएको भन्दै गृह मन्त्रालय र नेपाल प्रहरीविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका थिए। मद्दा दर्तालगत्तै सर्वोच्च अदालतले के कारणले पक्राउ नगरेको भन्दै पत्र लेखेको थियो। अदालतको पत्रपछि प्रहरीले उनलाई असोज २६ गते पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको थियो।

प्रकाशित: ३ मंसिर २०७६ ००:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App