७ वैशाख २०८१ शुक्रबार
समाज

कक्षा २ मा अध्ययनरत ७६ वर्षीय वृद्धा सम्मानित

कक्षा २ मा अध्ययनरत जुरीमायाँ राईलाई सम्मान गर्र्दै । तस्बिरः दमन/नागरिक

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बुढेसकालमा कक्षा २ मा अध्ययनरत बृद्धालाई सम्मान गरेको छ। ७६ वर्षको उमेरमा सरस्वती मावि दिक्तेलमा कक्षा २ मा अध्ययनरत केपीलासगढी गाउँपालिका–४ बाक्सिलाकी जुरीमायाँ राईलाई सम्मान गरेको हो। विद्यालय नर्स, डिजिटल विद्यालय तथा विद्यालय स्वास्थ्य कार्यक्रम उद्घाटनका क्रममा नगरपालिकाले सोमबार ज्येष्ठ विद्यार्थीलाई सम्मान गरेको हो।

किताब कापी बोकेर नातीनातिनी उमेरका बालबालिकासँगै विद्यालय धाइरहेकी जुरीमायाँलाई नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेवी राईले सरस्वती माबिको प्रांगणमा आयोजित कार्यक्रममा दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका छन्। वृद्धावस्थामा पनि विद्यालय धाएर समाज तथा अन्य विद्यार्थीलाई शिक्षाप्रति प्रोत्साहित गरेको कदर स्वरुप सम्मान गरिएको नगरपालिकाले जनाएको छ। बुढेसकालमा विद्यालय भर्ना भएर ‘शिक्षा लिनका लागि उमेरले नछेक्न’े उदाहरण बनेकोमा उनलाई सम्मान गरिएको मेयर रिजालले बताए।

पढ्ने धोको पूरा गर्नका लागि जुरीमायाँ बुढेसकालमा २०७५ साल बैशाख ६ गते सरस्वती माविमा कक्षा १ मा भर्ना भएकी थिईन्। हाल उनको दिनचर्या स्कुल धाइरहेका स–साना विद्यार्थीकोभन्दा फरक छैन्। किताब कापी बोकेर नातीनातिनी उमेरका बालबालिकासँगै विद्यालयमा पुग्छिन्। उसैगरी घर फर्किन्छिन्।

समाजमा ‘महिलाले पढ्नु हुन्न’ भन्ने मान्यता थियो। रहर हुँदाहुँदै पनि पढ्ने रहरलाई मारेर बस्नुपर्ने अवस्था थियो। २००१ साल साउनमा जन्मिएकी जुरीमायाँले पनि लेखपढ गर्ने अवसर पाउने कुरै भएन। उसमाथि हिजोआज जस्तो जताततै विद्यालय पनि थिएन। उसबेला पढ्न नपाएको रहर पूरा गर्न उनी बुढेसकालमा विद्यालय भर्ना भएकी हुन्।

बाक्सिला घर भए पनि जुरीमायाँ २०७२ साल फागुनदेखि दिक्तेलको संगमपार्कमा बस्न थालेकी हुन्। इसाई धर्मावलम्बी राईको लेखपढ गर्न जान्ने भएपछि बाईबल लगायतका पुस्तक पढ्ने र प्रवचन दिने धोको छ। त्यही धोको पूरा गर्नका लागि उनले बुढेसकालमा विद्यालयमा भर्ना भएको बताईन्।

जुरीमायाँको २०१९ सालमा बिवाह भएको थियो। विवाह भएको केही वर्षपछि श्रीमान सिंगापुर प्रहरीमा भर्ती भए । श्रीमानसँगै सिंगापुर पनि पुगे । तर, उनका बालबच्चा भएन। सन्तानका लागि श्रीमानले दोश्रो बिवाह गरे। कान्छीपट्टी छोराछोरी जन्मिए । त्यसपछि उनी श्रीमानबाट अलग्गै बस्न थालेकी हुन्। उनले हाल श्रीमानको आधा पेन्सन लिँदैआएकी छन्।

प्रकाशित: २ मंसिर २०७६ १२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App