coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

राष्ट्रका लागि षडानन्दको योगदानबारे चर्चा

काठमाडौं– पूर्वी पहाडी जिल्ला भोजपुरको दिङ्लामा विद्यालय स्थापना गरेर नेपालमा शिक्षाको जग बसाउन उल्लेखनीय भूमिका खेल्ने आबाल ब्रह्मचारी षडानन्दको सम्झना गर्दै उनले राष्ट्रका लागि दिएको योगदानको चर्चाबारे गोष्ठी सम्पन्न गरिएको छ।

प्रज्ञा–प्रतिष्ठानमा प्रज्ञा प्रतिष्ठान, संस्कृति विभाग र आबाल ब्रम्हचारी षडानन्द प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रका लागि आबाल ब्रम्हचारी षडानन्दको योगदान’ विषयक विचार गोष्ठी गरिएको थियो।

कार्यक्रमका नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आबाल ब्रम्हचारी षडानन्दको योगदान र विचारलाई नेपाली समाजमा लागू गर्न सकेमा समाजले गति लिन सक्ने उल्लेख गरे। उनले षडानन्दका सत्कर्म र योगदानबारे प्रज्ञा–प्रतिष्ठानले अध्ययन–अनुसन्धान गरी ग्रन्थ प्रकाशन गर्ने विश्वास दिलाए।

उपकुलपति डा.जगमान गुरुङले षडानन्दले बालेको ज्ञानको ज्योति निभेको हुनाले अब त्यो ज्योतिलाई पुनः बाल्नुपर्ने बताए। उनले विज्ञानलाई पनि फेल गराउन सक्ने शक्ति अध्यात्म साधनामा हुने जिकिर गर्दै षडानन्द सौर्य शक्तिको उपासक रहेको जानकारी दिए।

कार्यक्रममा प्रदेश–१ का सांसद राजेन्द्र राई, भोजपुरका नगर प्रमुख वीरबल राई, आबाल ब्रम्हचारी षडानन्द प्रतिष्ठानका अध्यक्ष प्रा.चेतोनाथ गौतम, सचिव प्रा. लालानाथ सुवेदी र षडानन्द–सीताराम गुठी दिङ्लाका अध्यक्ष कृष्णप्रसाद पौडेलले षडानन्द र उनले समाजलाई दिएको योगदानबारे प्रकाश पारेका थिए। 

साथै प्रा.डा. गोविन्दमानसिंह कार्कीले ‘नेपालको सामाजिक तथा शैक्षिक इतिहासमा षडानन्दको योगदान’ र यादव चापागाईंले ‘जनसहयोगको परिचालन र संस्थागत व्यवस्थापनमा षडानन्दको योगदान’ विषयमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए। 
प्रा.डा. कार्कीले षडानन्दले गुरुकुल शिक्षाको थालनी गरेर मुलुकको शैक्षिक अवस्थालाई सुधार्न अहम् भूमिका खेलेको बताइन्। उनले भनिन्, ‘संस्कृत पाठशालाको स्थापना आबाल ब्रम्हचारीद्धारा भएको हो, तर अहिलेको पुस्ताले त्यसको संरक्षण गर्न सकेको छैन्।’

आबाल ब्रह्मचारी गुरु षडानन्दले निर्माण तथा स्थापना गरेका मन्दिर, पुस्तकालय, विद्यालय, बगैँचा आदि कार्यहरू सुचारु रहुन् र दीर्घकालसम्म तिनको संरक्षण होस् भनेर एउटा बृहत् गुठीको पनि स्थापना गरिएको छ।

प्रकाशित: २ मंसिर २०७६ ११:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App