coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

किसान 'पेल्न' चिनी मूल्य घटाउने तयारी

रौतहट- चिनी उद्योगीहरु कम मूल्यमा किसानको उखु हात पार्न चिनीको थोक मूल्य नै घटाउने रणनीतिमा रहेको बुझिएको छ। चिनीको थोक मूल्यलाई आधार मानेर उखुको मूल्य तोकिनुपर्ने अडान किसानले राखेपछि उद्योगीले यस्तो रणनीति अपनाउने तयारी गरेका हुन्।

पोहोर–परार उद्योगीले चिनीको थोक मूल्यलाई आधार बनाएर उखुको मूल्य तोकिनुपर्ने अडान राखेका थिए। सोही अनुसार प्रतिक्विन्टल उखुको मूल्य ४ सय ४८ रुपैयाँ तोकिएको थियो।

विगतमा उद्योगीले नै लिएको अडान यसपालि किसानले लिएपछि उनीहरु मूल्य घटाउने निष्कर्षमा पुगेको स्रोतको भनाइ छ। पोहोर उखु क्रसिङ सुरु हुने यो बेला चिनीको थोक मूल्य ५० रुपैयाँ किलो थियो। अहिले ७० रुपैयाँ छ।

उखु किसानले भने चिनीको थोक मूल्य बढेको आधारमा उखुको मूल्य बढाउनुपर्ने अडान राखेका छन् ।

गत वर्ष चिनी उद्योग सञ्चालन हुने बेलाभन्दा अहिले ४० प्रतिशतले चिनीको थोक मूल्य बढेको भन्दै उखु उत्पादक महासंघ नेपालले उखुको मूल्य पनि सोही अनुपातमा तोकिनुपर्ने अडान राखेको हो।

पोहोर उखु क्रसिङ सिजन सकिनेबित्तिकै उद्योगीले चिनीको थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ कायम गरेका थिए, जुन अहिलेसम्म कायम छ।

उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले गत वर्षको मूल्यमा ४० प्रतिशत बढाउँदा प्रतिक्विन्टल उखुको ६ सय रुपैयाँ नाघ्ने बताए। किसानले मूल्य वृद्धिको अनुपातमा उखुको मूल्य बढाउन माग गरे पनि उद्योगी दिन तयार नभएपछि उखु उत्पादक र चिनी उत्पादकबीचको पहिलो वार्ता असफल भइसकेको छ।

स्रोतका अनुसार चिनी उद्योग सञ्चालकको संस्था चिनी उत्पादक संघले वर्षभरि महँगोमा चिनी बेचे पनि अहिले उखुको मूल्य घटाउन चिनीको थोक मूल्य घटाउने तयारी गरेको हो। यसो गर्दा किसान प्रतिनिधिसँगको वार्तामा 'बार्गेनिङ' सजिलो हुने उनीहरुको बुझाइ छ। 'त्यसैले केही समयका लागि चिनीको थोक मूल्य नै घटाउने तयारी छ,' चिनी उद्योगसँगै सम्बन्धित भएकोले नाम नछापिदिन आग्रह गर्दै स्रोत भन्यो।

चिनी उत्पादक संघसँगको वार्तामा उखु उत्पादक महासंघले प्रतिक्विन्टल ६ सय २८ रुपैयाँ प्रस्ताव गरेको र चिनी उत्पादक संघले किसानले हातमा पाउने गरी प्रतिक्विन्टल ४ सय ९३ रुपैयाँ प्रस्ताव गरेकोले दुवै पक्षबीच सहमति हुन नसकेको वार्तामा सहभागी स्रोतले जनाएको छ।

उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल भने चिनी उत्पादन नभएका कारण आपूर्ति घटेर थोक मूल्य बढेको तर्क गर्छन्। 'तर चिनी उद्योग सञ्चालनमा आएर उत्पादन हुन थालेपछि मूल्य कम हुने हुँदा किसानले मागेको मूल्य तिर्न उद्योगीले सक्दैनन्,' अग्रवालले भने। भारतमा पनि गत वर्षको तुलनामा यो वर्ष उखुको मूल्य २५ रुपैयाँ बढेकोले सोही अनुपातमा मात्र बढाउन सक्ने अग्रवाल बताउँछन्।

किसान भने विगतमा भारतीय मूल्यलाई आधार मान्न नमानेका उद्योगीले यसपालि त्यस्तो सर्त अघि सार्नु उचित नहुने बताउँछन्। यस वर्ष भारतमा भन्दा नेपालमा चिनीको मूल्य निकै बढी रहेकाले भारतको अनुपातमा नेपालमा मूल्य तोक्ने प्रस्ताव आफूहरुलाई मान्य नभएको मैनालीको भनाइ छ।

उखुको मूल्य निर्धारण हुन नसक्दा चिनी उद्योगहरु अझ सञ्चालनमा आएका छैनन्।

प्रकाशित: २३ मंसिर २०७३ ०५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App