८ वैशाख २०८१ शनिबार
अर्थ

ठूला आयोजनालाई प्रभाव नपार्ने गरी मुआब्जा लिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सिंहदरबारको एक्सन रुमबाट ६० मेगावाट त्रिशुुली थ्री ए जलविद्युुत आयोजनाको डिजिटल प्रविधिबाट उद्घाटन गर्दैै । तस्वीर:चन्द्रकला क्षेत्री/रासस

रसुवा - प्रधानमन्त्री केपी शर्मा ओलीले र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले माथिल्लो त्रिशूली थ्रि ‘ए’ जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन्। उत्पादन सुरु भएको पाँच महिनापछि ओलीले प्रधानमन्त्री कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५, सिम्लेमा उपस्थित भएर आयोजनाको उद्घाटन गरेका हुन्।

उद्घाटनपछि प्रधानमन्त्री ओलीले ठूला आयोजनाहरुलाई प्रतिकूल प्रभाव नपार्ने गरी जग्गाको मुआब्जा लिने काम गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले नागरिकले अनुचित ढंगले जग्गाको मुआब्जा लिने गरेकाले हाम्रा ठूला आयोजनाहरु विलम्ब हुने र महंगो हुने भएकाले त्यसलाई सहज ढंगले अघि बढाउन सहयोग गर्न सबैलाई आग्रह गरेका हुन्।

प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट स्विच अन गरेर उद्घाटन गर्दै उनले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि नागरिकहरुले ठूलो आयोजनाको जग्गाको मुआब्जाको मूल्य महंगो बनाउन नहुने पनि स्पष्ट पारे। प्रधानमन्त्री ओलीले सरकारले अघि बढाएको आयोजना देश र जनताको हितका लागि भएकाले पनि यसमा धेरै महंगो हुने गरी मुआब्जा लिने काम गर्न नहुने पनि बताए।

प्रधानमन्त्री ओलीले जनताले अनुचित ढंगले जग्गा मुआब्जाको मूल्य तोकेकै कारण मुलुकको समृद्धिका लागि योगदान पु-याउने ठूल्ठूला जलविद्युत आयोजनाहरुलाई अघि बढाउने काममा बिलम्व भइरहेको पनि धारणा राखे। उनले सो विद्युत आयोजनाले मुलुकमा विद्युत आयात न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताए।

प्रधानमन्त्री ओलीले सरकारले उर्जा, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकास गरेर मुलुकलाई सामाजिक न्यायसहितको समृद्धिको दिशामा अघि बढाउन चाहेको पनि बताए।

२०६८ वैशाखदेखि निर्माण सुरु भएको आयोजनाले गएको जेठ २ गतेबाट परीक्षण उत्पादन सुरु गरेको थियो। भूकम्प, नाकाबन्दी, स्थानीयको अवरोधलगायतका समस्या छिचोलेर निर्माण सम्पन्न गरेको आयोजनाले सोमबारदेखि व्यवसायिक उत्पादन सुरु गरेको छ।

६० मेगावट क्षमताको आयोजनाले पाँच महिनाअघिदेखि नै उत्पादन सुरु गरेको थियो। आयोजनाको केही काम बाँकी रहेपछि आयोजना व्यवसायिक उत्पादनमा गएको थिएन्। उद्घाटन भएसँगै आयोजनाले सोमबार नै टेकिङ ओभर सर्टिफिकेट दिएको छ।

सोमबारदेखि व्यवसायिक उत्पादन सुरु भएको जानकारी दिँदै आयोजना प्रमुख फडिन्द्रराज जोशीले वर्षको नौ महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने बताए। बाँकी तीन महिना आयोजनाले ४५ मेगावट विद्युत् उत्पादन गर्ने छ। 

रसुवामा बाँध र नुवाकोेटमा विद्युत्गृह रहेको आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हो। ६० मेगावट क्षमताको आयोजनाको पहिलो युनिटबाट उत्पादित ३० मेगावट विद्युत् गत जेठ ३ गते र दोस्रो युनिटबाट उत्पादित ३० मेगावट विद्युत् साउन १७ गते राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो। व्यवसायिक उत्पादन सुरु भएपछि एक वर्षसम्म त्रुटि सच्याउने अवधि हुन्छ।

यो आयोजनाले मुलकभित्र खपत हुने ऊर्जामा करिब ८ प्रतिशतको योगदान गरेको छ। दुवै युनिटबाट ३०÷३० मेगावट विद्युत् उत्पादन हुन्छ। आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु २०७४ भदौमा भएको थियो। आयोजनाको निर्माण ठेकेदार चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) ले गरेको हो।

इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी) सँग २०६७ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो।

आयोजना २०६८ साल वैशाखबाट निर्माण सुरु भएको थियो। भूकम्पका कारण करिब २२ महिना निर्माण कार्य प्रभावित बनेको थियो। भूकम्प र नाकाबन्दीले आयोजनाको संरचनामा क्षति पु-याएको थियो। आयोजनाबाट उत्पादन भएको विद्युत् थ्रिबि हबदेखि मातातीर्थ सबस्टेसनसम्म ४५ किलोमिटर दूरी रहेको प्रसारण लाइनमार्फत लगिएको छ। जसमा पावर हाउस (सिम्ले) देखि थ्रिबी हबसम्म १३२ केभी, थ्रिबी हबदेखि बाँडभञ्ज्याङसम्म २२० केभी डबल सर्किट र बाँडभञ्ज्याङदेखि मातातीर्थसम्म २२० केभी फोर सर्किट प्रसारण लाइन निर्माण गरिएको छ।

प्रकाशित: २ मंसिर २०७६ ०७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App