टुक्रिएको टुँडिखेल

सोमबार, ०२ मङि्सर २०७६, ११ : ५९ केदारभक्त माथेमा

मेरो बाल्यकालको कुरा गर्ने हो भने त टुँडिखेल पूरै खुला थियो। जाडोका बेला घाम तापेर बदाम खाने, साइकल चलाउने, भेटघाट गर्ने ठाउँ थियो। ४० वर्षअघि मेरा मित्र पूर्णकान्त अधिकारी अमेरिकाबाट पिएचडी गरेर आएका थिए। उनले ‘ल केदार यसो भेटघाट, गफ गरौं’ भने। मैले कता रेस्टुरेन्टतिर बस्नु टुँडिखेलमा आउ न भनेर बोलाएँ। उनीसँग त्यहाँ बसेर हामीले भुटेका बदाम खाँदै नेपालको विकास र उनको ‘अमेरिका पढाइ’बारे छलफल गरेको अझै याद छ। हामी स्कुल पढ्दा फुटबलको ‘क्रेज’ थियो। टुँडिखेलमा हामी फुटबल खेल्थ्यौं।

त्यो बेला मानिससँग पैसा पनि धेरै हुँदैनथ्यो। रेस्टुरेन्ट पनि कम थिए। फुर्सद हुँदा साथीहरू भेट्न पर्दा हामी टँुडिखेलमै भेला हुन्थ्यौं। घाम तापेर बदाम खाँदै गफगाफ गर्ने धेरै समूह हुन्थे, त्यहाँ। बाइक, मोटरहरू त्यहाँवरिपरि हुँदैनथे। धुलो, धुँवा पनि नहुने आनन्दको खुला, रमाइलो स्थान थियो– टुँडिखेल।

पुराना खुला स्थानको संरक्षण गर्नुप-यो भनेरै युवा पुस्ताले अकुपाई टुँडिखेल आन्दोलन सुरु गरेको हो। यसमा हामी सबैले साथ दिन जरुरी छ।

पञ्चायतकालबाट त्यसलाई टुक्र्याउन थालिएको हो। राजा महेन्द्रले आफ्नी रानीको नाममा त्यहाँ रत्नपार्क बनाए। नागरिकका लागि खुलामञ्च बन्यो। सैनिकलाई केही स्थान दिइयो। सहिदगेट बन्यो। सहिदगेटदेखि रंगशालासम्मको स्थान पनि सेनाले नै ओगट्यो। यसरी त्यो विशाल स्थानलाई टुक्राटुक्रा बनाउने काम भयो।

अहिले त त्यहाँ फोहोर थुपार्ने, सानो त्यो रत्नपार्कमा जादाँ पनि शुल्क लाग्ने, अझ त्यो खुलामञ्चमा त बसपार्क पो बनेको छ। साथै त्यो विभिन्न सामान थन्क्याउने स्थानका रूपमा प्रयोग भएको छ। एउटा ‘डम्पिङ साइट’जस्तो बनेको छ– त्यो खुला स्थान।

त्यही स्थानबाट बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, मदन भण्डारी तथा अहिलेका जीवित कतिपय नेताले विभिन्न आन्दोलनमा भाषण गरेका थिए। यिनै नेताहरूको शासनकालमा टुँडिखेल यो अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण छ। टुँडिखेल त एउटा उदाहरण मात्र हो। देशभर सार्वजनिक खुला स्थान अतिक्रमण भएका छन्। कुनै न कुनै तरिकाबाट हडपिएका छन्।

उता जापानतिर त घरचाहिँ ससाना हुन्छन् भने सार्वजनिक र खुला स्थानचाहिँ ठूला र फराकिला हुन्छन्। त्यतातिरका मानिस बिदाका दिन घर बस्दैनन्। खानेकुरा घरमै बनाएर पार्कमा जान्छन् र त्यहीं बसेर रमाइलो गर्दै खानेकुरा खान्छन्। जापानको टोकियोमा मात्र नेपालको जनसंख्या बराबर मानिस बसोबास गर्छन्। त्यहाँ जताततै मानिसको भीडभाड हुन्छ। तर पनि त्यहाँ यति धेरै खुला स्थान छन् कि मानिस बिदा र फुर्सदका बेला त्यहीं भेट गर्छन्।

यहाँ काठमाडांैमा पनि मानिस खचाखच छन्। घरभाडा पनि महँगो छ। कतिपय घरमा घाम पनि लाग्दैन, मनलाग्दी तरिकाले अग्ला–अग्ला घर बनाइएका छन्। एउटै कोठामा बसेर जीवन निर्वाह गरिरहेका मानिस धेरै छन्, यहाँ। यस्ता मनिसलाई त चाहिन्छ नि खुला ठाउँ। राज्यले यस विषयमा सोच्नुपर्ने हो। राज्य भनेको त आम जनताको हो। धनी मनिसका त घरै ठूला हुन्छन्। ठूलो कम्पाउन्ड हुन्छ। करेसाबारी, बगैंचा हुन्छन्। घुम्न कुनै खुला स्थान गइरहनुपर्ने आवश्यकतै पर्दैन, उनीहरूलाईइ। खुला स्थान त सामान्य मानिसलाई चाहिने हो। आम जनतालाई चाहिने हो। काठमाडौंका बहुसंख्यक मानिसलाई खुला ठाउँ आवश्यक छ। अझ विद्यार्थीका लागि त खुला ठाउँ ज्यादै जरुरी छ। एकान्त, सफा वातावरणमा बसेर पढ्ने, थकाइ लाग्दा घुम्नका लागि।

पञ्चायतकालबाट टुँडिखेल टुक्र्याउन थालिएको हो। राजा महेन्द्रले आफ्नी रानीको नाममा त्यहाँ रत्नपार्क बनाए। सहिदगेटदेखि रंगशालासम्मको स्थान पनि सेनाले नै ओगट्यो। यसरी त्यो विशाल स्थानलाई टुक्राटुक्रा बनाउने काम भयो।

पुरानो बसपार्कमा टावर बनाउन लागेको देखें, काठमाडौंलाई टावरको खाँचो छ ? स्वयम्भू, शिवपुरी, जामाचोलगायत डाडाँमा उक्लिनुस् न, टावर त्यै हो। काठमाडौंमा अग्ला घर र टावर बनाउनु भनेको हास्यास्पद कुरा हो। यहाँ त खुला ठाउँ आवश्यक छ। बाटो राम्रो हुनुप-यो, साइकलमैत्री हुनुप-यो। पैदल यात्रुलाई हिँडडुल गर्न सहज हुनुप-यो। बालबालिका, वृद्धवृद्धामैत्री वातावरण हुनुप-यो। प्रशस्त स्थान भएको ठाउँमा हो– टावर बनाउने। यहाँ कहाँ छ प्रशस्त ठाउँ ?

अहिले युरोप, अमेरिकालगायत देशहरूले सडक सानो तर फुटपाथ ठूलो बनाउन लागेका छन्। साइकल लेन विकास गरिरहेका छन्। मोटर कम चढ्ने र सकेसम्म हिँड्ने गरेका छन्। पहिलो प्राथमकिता हिँड्ने मान्छेलाई दिनुपर्छ। काठमाडौंका सडक पहिला हिँड्ने मान्छेका लागि बनाइएका हुन्। अहिले त भित्री गल्लीमा पनि मोटरसाइकल कुदाउँछन्। सवारीसाधनले पनि अतिक्रमण गरिरहेका छन्, सार्वजनिक स्थलहरू।

कुनै पनि सहरको सौन्दर्य भनेको त्यहाँको खुला स्थान हो। त्यस्तो स्थान प्रजातन्त्रको विम्ब पनि हो। अहिलेका मूलधारका नेताहरूले काठमाडौंका यिनै खुला स्थानमा भाषण गरेर जनाता जगाएका थिए। अहिले यिनैले यो खुला स्थान बचाउन सकिरहेका छैनन्। टुँडिखेललाई झनै फराकिलो र व्यवस्थित बनाउनुपर्ने स्थानमा पुगेका मानिस नै निदाएपछि कसले संरक्षण गर्ने ? सामान्य जनताले त आवाज उठाउने मात्र हो।

बेलायततिर म पढ्न जाँदा त्यहाँ त पार्क नै पार्क, यसो पार्कको कुनै कुर्सीमा बसेर यताउती हेर्दा त कतै लोखर्के, कतै चरा, कुनै न कुनै साना जनावर देखिने। पार्कमा भएका बोटबिरुवाको नाम लेखेको, यसो पार्क घुम्दा केही न केही सिक्ने मौका मिल्ने। त्यहाँका मनिस त घरमा भन्दा पार्कमा धरै समय बिताउने। यस्ता खालका खुला स्थान यहाँ पनि चाहियो।

यो अकुपाई टुँडिखेल, सहरका मानिसले आफ्नो हक माग्ने आन्दोलन हो। पुराना खुला स्थानको संरक्षण गर्नुप-यो भनेरै युवा पुस्ताले अकुपाई टुँडिखेल आन्दोलन सुरु गरेको हो। यसमा मेरो पूर्ण समर्थन छ। सहरमा शौचालय, पानी, पार्क चाहियो भनेर आन्दोलन गर्नुपर्ने दिन आउनु नै विडम्बना हो। पानीका साना÷ठूला पोखरी, रूखबिरुवा, ठाउँठाउँमा शौचालय, खानेपानीको व्यवस्था, फुटपाथमा थकाइ लाग्दा बस्ने कुर्सीलगायत वातावरणमैत्री स्थान बनाउन आजको समयमा आन्दोलन गर्नुपर्ने अवस्था आउनु दुःखद हो।

काठमाडौंका बासिन्दाका लागि मात्र होइन टुँडिखेल, यो त सम्पूर्ण नेपालीकै सार्वजनिक स्थल हो। अझ हाम्रो देशको एउटा मुख्य व्यवसाय भनेको पर्यटन हो। आन्तरिक वा बाह्य पर्यटनका लागि पनि काठमाडौंलाई हराभरा र ठाँउठाँउमा खुला स्थान भएको बनाउनैपर्छ।

जताततै लथालिंग हुँदा पनि मानिस बोल्न सक्दैनन्। आफ्नै दैनिक गुजाराकै चिन्ता र कामले सामान्य मानिसलाई फुर्सद पनि त हुँदैन। यस्तो अवस्थामा यो अकुपाई टुँडिखेल आन्दोलन गरेर युवाले ज्यादै राम्रो अभियान थालेका छन्। यसमा हामी सबैले साथ दिन जरुरी छ। यो आन्दोलन गैरराजनीतिक हो। मलाई युवामा आएको यो जागरण देखेर गौरव लाग्छ। केही राजनीतिक दलका मानिस पनि यो आन्दोलनमा आए तर काठमाडौंका बासिन्दा बनेर। अब हामीले हाम्रा सार्वजनिक स्थानहरूको संरक्षण गर्नैपर्छ। हाम्रा पुर्खाले सुम्पेका गौरवका सार्वजनिक स्थानहरू भावी पुस्तालाई अझ राम्रो बनाएर हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो।

सहरमा धनीमानी र शासकलाई कुनै चिन्ता हुँदैन। भोलि ऊ बसाइँ सरिदिन सक्छ। घुम्न प-यो भने युरोप, अमेरिका, सिंगापुरजस्ता सफा सहर जान सक्छ। ऊ त गाडीमा सररर गुडिरहेको हुन्छ। सहर सफा र हराभरा चाहिने भनेको सर्वसाधारणलाई हो। पैदल यात्रुलाई हो। सामान्य जनतालाई हो।

खुला ठाउँ साधारण मानिसको अधिकार हो। यो कुरा सरकार र महानगरपालिकाले सुन्नुपर्छ। जनता टुँडिखेललाई खुला भएको हेर्न चाहन्छन्। त्यै भृकुटीमण्डप हेरौं त, कस्तो कुरुप बनेको छ ! राज्यले चाहने हो भने त त्यो सुन्दर बनाउन पनि त सक्छ। सार्वजनिक जमिनको रक्षा कसले गर्ने त ? सरकार, महानगरपालिकाले गर्नुपर्ने हो तर उनीहरूको लाचारीपनका कारण अहिले जनता आफ्नो अधिकारका लागि सडकमा आएका छन्।

म त मेरो बाल्यकाल र त्यो बेलाको काठमाडौं सम्झिँदा रोमान्टिक हुन्छु। त्यो बेला मोटर कम चल्ने, सडकवरिपरि पूरै कल्की फूल हुन्थे। बाटाहरूमा ढुंगा बिच्छ्याइएका हुन्थे।। कतै मन्दिर, कतै स्तुपा, टाङटाङटुङटुङ घन्टी बजिरहेका हुन्थे। यहाँका फाँटहरू, अहिले सम्झिँदा त्यसै त्यसै मन रमाउँछ। यता सानेपाबाट काठमाडौं पूरै देखिन्थ्यो। कुपन्डोलबाट वाग्मती किनारै किनार हिँड्दै म चोभार पुगेको छु। वाग्मती किनारमा सहरका मानिस कपडा धुन आउँथे। पचली भैरवनजिकै दुइटा पोखरी थिए, जहाँ कमल फूलेका हुन्थे। हाँसहरू पौडिरहेका हुन्थे। पछि सडक विभागले त्यो अतिक्रमण ग-यो। त्यो ठाउँ ढुंगा, गिटी, बालुवा थुपार्ने स्थानमा परिणत भयो। हामीले दुःख पाए पनि अब सन्ततिका लागि सोच्नुपर्ने बेला आएको छ।
राजकुमार गजुरेलले गरेको कुराकानीमा आधारित








यसमा तपाईको मत

अन्य समाचार

पोर्ट नै नभएको आइफोन आउँदै !

पोर्ट नै नभएको आइफोन आउँदै !

विश्लेषक मिंगसी कुओका अनुसार सन् २०२१ मा रिलिज हुने आइफोनमा कुनै पनि पोर्ट हुने छैन! ...

पल्सर डेयर भेन्चरले भोलि रंगशाला  सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि रंगशाला सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि हुने नेपाल र भुटानबीचको फाइनल खेल समापन पश्चात स्टेडियम सफा गर्ने जनाएको छ। ...

लिखु–एको भूमिगत काम सम्पन्न

लिखु–एको भूमिगत काम सम्पन्न

एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...

मेडिकल एन्ड ल्याब एक्सपो हुने

मेडिकल एन्ड ल्याब एक्सपो हुने

इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

Ncell Footer Ad