८ वैशाख २०८१ शनिबार
खेल

अल्टिच्युड फुटबल मैदानसहितको डिपिआर तयार

पोखरा – कास्कीको आँटीघर मौजामा पोखरा महानगरपालिकाले अल्टिच्युड फुटबल मैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ। महानगरपालिका २० मौजास्थित १७ सय मिटर उचाइमा फुटबल मैदानसहित खेलकुदका अन्य पूर्वाधार तयार पार्न डिपिआर तयार गरेको हो। ५ वर्षभित्र पूरा गर्ने दीर्घकालीन योजनासहित खेलकुद पूर्वाधार बनाउने लक्ष्य राखिएको छ। योजनाका लागि १६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

महानगरपालिकाले यो आर्थिक वर्षमा मौजाको अल्टिच्युड फुटबल मैदानका लागि ५० लाख रुपैयाँ छुट्ट्याएको छ। ‘महानगरपालिकाले नै डिपिआर तयार गरेको होे,’ पोखरा महानगरपालिकाका इन्जिनियर राजु रेग्मीले भने, ‘फुटबल मैदानसहित अन्य खेलकुदका पूर्वाधारलाई डिपिआरमा समेटिएको छ।’ उनका अनुसार योजना पूरा हुँदा १६ करोड रुपैयाँ खर्च हुनेछ।

‘विस्तृत परियोजना प्रतिवेदनअनुसार पूर्वाधारले झन्डै ५६ रोपनी क्षेत्रफल ओगट्ने देखिन्छ। पार्किङको समेत व्यवस्था हुनेछ।’

मौजा महानगरपालिकाको दुर्गम वडाका रूपमा चिनिन्छ। सडक सन्जालले छोए पनि प्रभावकारी भने छैन। बजार क्षेत्रदेखि केही टाढा रहेको मौजामा फुटबल मैदान बनाउन गत वर्ष नै साढे ८ लाख रुपैयाँ खर्च गरिएको थियो। रकम भिरालो जमिन कटान गरी सम्याउन खर्च गरिएको थियो। यद्यपि डिपिआर तयार नहुँदा कामलाई थाती राखियो। ‘फुटबल मैदानसहित प्यारापिट निर्माण हुन्छ ’ उनले भने, ‘त्यसबाहेक बास्केटबल र भलिबल कोर्टसमेत बनाइनेछ।’ भिरालो जमिनकै कारण ल्यान्डस्केप गरी निर्माण गरिने इन्जिनियर रेग्मीले बताए।

५६ रोपनीमा फुटबल मैदानहसहित बास्केटबल र भलिबल कोर्ट बनाइने

‘विस्तृत परियोजना प्रतिवेदनअनुसार पूर्वाधारले झन्डै ५६ रोपनी क्षेत्रफल ओगट्ने देखिन्छ। पार्किङको समेत व्यवस्था हुनेछ,’ कास्कीकै अग्लो स्थानको फुटबल मैदान पोखरा महानगरपालिका  २० मौजाका वडाध्यक्ष सीम गुरुङले बताए। उनका अनुसार दशकअघि मेला र महोत्सव गर्ने स्थललाई अन्तर्राष्ट्रिय मापदण्डको फुटबल मैदान बनाउन महानगरपालिकासँगै स्थानीयबासी कस्सिएका हुन्। आँटीघर मौजाको थाप्लोमा रहेको सार्वजनिक जग्गामा निर्माण सुरु गरिएको छ। मैदानभन्दा उत्तरतर्फ भने मानवबस्ती छैन। घना जंगल छ।

उनका अनुसार गत आर्थिक वर्ष महानगरपालिकाले ७ लाख ५० हजार र वडाले १ लाख गरी ८ लाख ५० हजार रुपैयाँ प्रदान गरी सो बजेटबाट जमिन सम्याउने काम गरिएको थियो। वडाध्यक्ष गुरुङ भन्छन्, ‘मैदान निर्माणपछि स्पोर्ट्स टुरिज्म प्रोमोसनमा हुने आशा र विश्वास छ। त्यसैले दीर्घकालीन योजनालाई पूरा गर्नेतर्फ सबै जुट्नुपर्छ।’ मैदानसँगै अतिथिहरूका लागि होम स्टे सञ्चालन गर्न सकिने उनको भनाइ थियो।

फुटबल मैदान निर्माण भएपछि होमस्टेलाई प्रभावकारी बनाउन सकिए आँटीघर मौजा खेल मैदानमा राष्ट्रियस्तरकै प्रतियोगिता सञ्चालन गर्न सकिने उनको विश्वास थियो। मैदान फुटबलको मापदण्ड अनुसारकै निर्माण हुनेछ। डाँडा खारी १ सय १० मिटर लम्बाइ ६५ मिटर चौडाइको फुटबल मैदान सम्भावनालाई डिपिआर तयार हुनुअघि नै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियरले औंल्याइसकेका थिए।  सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एक खेल मैदान बनाउने निर्णय गरेको छ। त्यसै अनुरूप पनि गाँउगाउँमा खेलकूदका पूर्वाधार धमाधम बन्दै गएका छन्।

 १६ करोड रुपैयाँ लागत अनुमान

महानगरपालिकाभित्र ५ वटा फुटबल मैदान छन्। एउटा अन्नपूर्ण गाँउपालिकाको ढिकुरपोखरी २ मा छ। ढिकुरपोखरीको खेलमैदान गत वर्ष मात्रै स्तरोन्नति गरिएको थियो। पोखरा रंगशालाभित्र दुईवटा मैदान छन्। सरकारकै १ अर्ब २८ करोडको लागतमा २० हजार दर्शक क्षमताको प्यारापिटसहितको मैदान निर्माणाधीन छ। रंगशालाभित्रै फुटबल मैदानको पश्चिमतर्फ पनि सरकारकै बजेटमा प्रशिक्षण मैदान तयार गर्ने काम अघि बढेको छ। भण्डारढीकमा फुटबल मैदान निर्माण भइसकेको छ।

लामाचौरमा राष्ट्रिय खेलकुद परिषद् तथा स्थानीयको सक्रियतामा र आर्थिक सहयोगमा गोस्ते खेल मैदान(फुटबल मैदान) बनाइएको छ। हेमजाको गौरीशंकर खेल मैदान पनि फुटबल प्रतियोगिताका लागि तयार गरिएको छ। गोस्ते र गौरीशंकर खेल मैदानलाई गत आर्थिक वर्षमा ५०/५० लाख रुपैयाँ राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराई काम गरिएको हो। यो आर्थिक वर्षमा पनि १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) महिला फुटलबल प्रशिक्षणस्थल बनाउने भन्दै परिषद्ले बजेट उपलब्ध गराएको छ।

प्रकाशित: २ मंसिर २०७६ ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App