coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

'नतिजाका लागि एक्सपोजर खाँचो'

काठमाडौं- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीले राम्रो नतिजाका लागि खेलाडीलाई धेरैभन्दा धेरै एक्सपोजर खाँचो रहेको बताएकी छन्। युवा तथा खेलकुद मन्त्रालयद्वारा बुधबार आयोजित सम्मान कार्यक्रममा रुबिनाले यस्तो धारणा राखेकी हुन्। हङकङमा सम्पन्न आइसिसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोट प्रतियोगितामा उपविजेता बनेर फर्किएको नेपाली क्रिकेट टोलीलाई मन्त्रालयले २५ हजार नगदसहित सम्मान गरेको थियो।

कार्यक्रममा रुबिनाले एसिया कपमा राम्रो नतिजा निकाल्न नसके पनि टेस्ट राष्ट्रसँग खेल्दाको अनुभवबाट धेरै सिक्ने मौका मिलेको बताइन्।

‘एसिया कपमा हामीले टेस्ट राष्ट्रसँग खेल्ने मौका पायौं। त्यो अनुभवबाट हामीले धेरै सिक्ने मौका पायौं,’ रुबिनाले भनिन्, ‘म्याच एक्सपोजर नभएका कारण हामीले राम्रो नतिजा निकाल्न सकेनौं। हङकङबाट फर्किएपछि हामीले अभ्यास खेलका लागि अनुरोध गरेका थियांै तर त्यो सम्भव भएन।’

पुरुष यु–१९ टोली छनोट गर्दा देशका विभिन्न भागमा ‘ट्यालेन्ट हन्ट’ सञ्चालन गरेको स्मरण गर्दै रुबिनाले महिला टोलीका लागि पनि यस्तो प्रतियोगिता गर्नु आवश्यक रहेको बताइन्।

‘अन्तर्राष्ट्रिय एक्सपोजरका साथै घरेलु प्रतियोगिता पनि नियमित खेल्न पाएका छैनौं। नियमित घरेलु प्रतियोगिता भए नयाँ हामी अझै राम्रो नतिजा निकाल्न सक्छौं,’ कप्तान रुबिनाले भनिन्, ‘यु–१९ टोली छनोट गर्दा जसरी ट्यालेन्ट हन्ट सञ्चालन भयो महिलामा पनि त्यस्ता प्रतियोगिता गरे नयाँ प्रतिभाको आउन सक्छ।’

आयोजक हङकङसहित चीन र  थाइल्यान्डसम्मिलित समूहमा ६ मध्ये ३ हार र ३ मा विजय नतिजा निकालेर नेपाल उपविजेता बनेको थियो। त्यसमा उपविजेता बनेपछि नेपाल एसिसी महिला ट्वान्टी–२० एसिया कपका लागि छनोट भएको थियो। तर,थाइल्यान्डको बैंककमा सम्पन्न एसिया कपमा भने नेपालले निराशाजनक नतिजा बेहोर्नुपरेको थियो। आयोजक थाइल्यान्डसँगै टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश सम्मिलित प्रतियोगितामा नेपाली टोली सबै खेलमा पराजित हँुदै स्वदेश फर्किएको थियो।

प्रशिक्षक राजु बस्न्यातले दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। उनले दीर्घकालीन योजनासाथ अघि नबढ्ने हो भने क्रिकेटमात्र नभएर कुनैपनि खेल अघि बढ्न नसक्ने बताए।

मन्त्री दलजित श्रीपालीले जितमा मात्तिनु र हारमा आत्तिनु नहुने भन्दै त्रिवि क्रिकेट मैदान बाहेक अन्य स्थानमा पनि भौतिक संरचना विकासमा सरकार गम्भीर रहेको बताए।

‘हारबाट आत्तिनु हँुदैन। हामीले हारबाट शिक्षा लिँदै अघि बढ्नुपर्छ। खेलाडीले अभाव र अप्ठ्यारो परिस्थितिमाझ खेल्नुपरेको छ। यस्तोमा धेरै ठूलो उपलब्धिअपेक्षा गर्नु पनि ठिक होइन,’ मन्त्रीले खेलाडीलाई सान्त्वना दिँदै भने, ‘त्रिवि मैदान बाहेक अन्य स्थानमा पनि भौतिक संरचनाका लागि सरकारले काम अघि बढाइरहेको छ। हामी नेपाली टोलीलाई बाहिर पठाउने र विदेशी टोलीनेपालमा बोलाएर खेल्ने व्यवस्था गर्दैछौं।’

प्रकाशित: २३ मंसिर २०७३ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App