८ वैशाख २०८१ शनिबार
खेल

प्याटिसनलाई कारबाही

सिड्नी – अनुशासनविपरीत कार्य गरेको भन्दै अस्ट्रेलियाले तीव्र गतिका बलर जेम्स प्याटिसनलाई पाकिस्तानविरुद्धको पहिलो टेस्ट खेलबाट हटाएको छ। जसलाई कप्तान टिम पायनेले टोलीकै लागि लज्जास्पद भएको प्रतिक्रिया दिएका छन्।

गत साता क्विन्सल्यान्डविरुद्धको खेलमा भिक्टोरिया सेफिल्ड सिल्डका प्याटिसनले क्रिकेट अस्ट्रेलियाको कोड अफ कन्डक्ट उल्लंघन गरेको पाइएको थियो। उनले विपक्षी खेलाडीमाथि के भनेको स्पष्ट नभए पनि क्रिकेट अस्ट्रेलयाले भने प्याटिसनले अपशब्द प्रयोग गरेको दाबी गरेको छ। १८ महिनाको अन्तरमा उनले तेस्रो पटक नियम उल्लंघन गरेसँगै उनीमाथि एक खेले निलम्बन गरिएको हो।

‘सबेै खेलाडीका लागि एउटै नियम लागू हुन्छ, त्यसैले खेलाडीले पनि आफ्नो अनुशासनमा बस्न आवश्यक छ,’ सिएले जारी गरेको विज्ञप्तिमा भनिएको छ। पायनेले अस्ट्रेलियाली टोलीले यसअघि बल टेम्परिङको घटनापछि समर्थकको साथ पाउन प्रयास गरिरहँदा अर्का खेलाडीले अनुशासनविपरीरत कार्य गर्नु टोलीका लागि महंँगो पर्न सक्ने बताएका हुन्। बल टेम्परिङको घटनापछि तत्कालीन कप्तान स्टिभ स्मिथ, उपकप्तान डेविड वार्नर र ओपनर क्यामरुन बेनक्रफ्टमाथि क्रमशः १ वर्ष र ९ महिनाको प्रतिबन्ध लागेको थियो। हाल तीनै जना खेलाडी प्रतिबन्ध मुक्त भइसकेका छन्।

‘हामीले हिजो प्याटिसनसँग छलफल गरेका थियाैँ,’ पायनेले भने, ‘राष्ट्रिय टोलीका खेलाडीले तल्लो स्तरको व्यवहार देखाउनु लज्जास्पद हो। हामी उनको व्यवहारबाट निकै निराश भएका छाैँ।’ सिएले तत्काल उनको स्थानमा अन्य खेलाडीलाई टोलीमा समावेश गर्ने योजना नरहेको बताएको छ।

 

प्रकाशित: २ मंसिर २०७६ ०४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App