coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सहरमा लोडसेडिङ, ग्रामीण क्षेत्रमा बिजुली फालाफाल

गणेश बिक

रुकुम— जिल्ला सदरमुकाममा बसोबास गर्नेले चर्को लोडसेडिङको सामना गरिरहँदा सदरमुकामसँगै जोडिएको स्यालापाखा गाविसमा उत्पादित बिजुली पूरै खपत नभएर खेर गइरहेको छ। जामा खोला लघु जलविद्युत आयोजनावाट ९० किलोवाट विद्युत उत्पादन हुन्छ। यहाँ दैनिक ६० किलोवाटमात्र खपत हुन्छ। बाँकी बिजुली खेर गइरहेको अपरेटर बिने ओलीले जानकारी दिए । उक्त बिजुली गाविसको वडा नं. १, २, ३, ४ र ५ तथा छिमेकी गाविस पिपल र बाँफिकोटका केही गाउँमा विस्तार गरिएको छ।

गरायला गाविसमा मात्रै चारवटा विद्युतगृह सञ्चालनमा छन्। देउताखोला लघु जलविद्युत आयोजना गरायला २ र ३ बाट २० किलोवाट उत्पादन भइरहेको छ । त्यहाँ पनि उत्पादन भएजति सबै बिजुली खपत हुँदैन।

यहाँ उत्पादित बिजुली एकीकृत गरी जिल्लाका अन्य गाविसमा विस्तार गर्नुपर्ने स्थानीय केदार बिष्टको सुझाव छ । यहाँ दैनिक १० देखि १२ किलोवाट विद्युत खपत हुन्छ । खपत नभएको बिजुली अन्य वडामा समेत विस्तार नहुँदा उनीहरु दियालो, टुकी लगायत बाल्न बाध्य छन् ।

सदरमुकामको मुसीकोट नगरपालिका वडा नं. ५ सोलावाङमा उत्पादन भएको बिजुलीको माग भने अत्यधिक छ । साँखखोला तेस्रो लघु जलविद्युत आयोजनावाट ६० किलोवाट उत्पादन हुन्छ । उद्योगधन्दा बढी भएकाले धेरै माग भएको आयोजनाका कोषाध्यक्ष लोकबहादुर केसीले बताए । मिनी ग्रिड प्रणालीमा ल्याएर जिल्लाभर बिजुली विस्तार गर्न सकिने उनको भनाइ छ ।

ग्रामीण स्तरमा उद्योग सञ्चालन नहुँदा उत्पादित बिजुली खपत खपत हुन नसकेको सम्बन्धित उपभोक्ताले बताएका छन् । गरायला गाविसकै किर्ते खोला पेल्ट्रिक सेटबाट ५ किलोवाट विद्युत उत्पादन हुन्छ । मुस्किलले यसको आधा खपत हुने गरेको छ । मुसेखोला गरायला ५ मा पनि ९ किलोवाट उत्पादन हुन्छ । यसको पनि पूरै खपत हुँदैन । नजिकैका गाविसमा उत्पादित बिजुली सदरमुकाममा जम्मा गरी सहि वितरण गर्न सके उपभोक्तालाई केही सहज हुने लोकबहादुर केसीले बताए । जिल्लाका करिब २० हजार जति घरधुरी बिजुलीबाट लाभान्वित छन् । ग्रामीण क्षेत्रमा विद्युत बढी प्रयोग नहुने भएकाले पनि बचत हुने बताइएको छ । बचेको बिजुली एकीकृत गरी वितरण गरे सदरमुकाममा लोडसेडिङ केही कम गर्न सकिन्छ । जिल्लाका तकसेरा, काँडा, हुकाम, प्वाङ, चौरजहारी र मुसीकोट नगरपालिका, रन्मामैकोट, जाङ, भलाक्चा, गोतामकोट लगायत गाविसमा विद्युत उत्पादन गरिएको छ ।

जिल्लाका विभिन्न जलविद्युत आयोजनाबाट एक मेगावाटभन्दा बढी विद्युत उत्पादन हुन्छ । यसको करिब आधा जति मात्र खपत हुने गरेको बताइन्छ । जिल्ला सदरमुकाममा भने दैनिक चार घन्टा लोडसेडिङ हुन्छ । स्यार्पुताल साना लघु जलविद्युत आयोजनाबाट उत्पादित दुई सय ५० किलोवाट बिजुली सदरमुकाम लगायत १० गाविसमा वितरण गरिएको छ । सदरमुकाममा यसको तेब्बर विद्युत आवश्यक पर्ने प्राविधिक बताउँछन् ।

हाल जिल्लामा २० वटा जलविद्युत आयोजना छन् । रुकुम उज्यालो कार्यक्रम अन्तर्गत १९ सहित उक्त विद्युत गृहबाट एक मेगावाट विद्युत उत्पादन भइरहेको छ । जिल्ला सदरमुकाममा पछिल्लो समय साना उद्योग सञ्चालन हुन थालेपछि बिजुली माग बढेको हो । नजिकका गाविसबाट सदरमुकाममा बिजुली ल्याउन नसकिने रुकुमेली ऊर्जा विकास उपभोक्ता समितिका कार्यालय प्रमुख रामबहादुर केसीले बताए । ल्याउन सके पनि प्राविधिक कुरामा सम्झौता गर्न समस्या भएको उनी बताउँछन् ।

जहारी सहिद स्मृति खोला लघुजल विद्युत आयोजनावाट ९४ किलोवाट विद्युत उत्पादन हुन्छ । खपत ५० किलोवाट मात्र हुन्छ । बाँकी विद्युत कहाँ र कसरी खपत गर्ने भन्ने योजना छैन् ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ०६९/७० मा मिनी ग्रिड प्रणालीका लागि प्रारम्भिक सर्भे गरेको थियो । विस्तृत सर्भे भने भएको छैन । विस्तृत सर्भे नहुँदासम्म यस्तो समस्या भइरहने जिल्ला ऊर्जा उपभोक्ता समितिका अध्यक्ष गापेश्वर केसीले जानकारी दिए । मिनी ग्रीड प्रणालीमा जाने हो भने यस्तो समस्या केही हदसम्म कम हुने उनले बताए। 

प्रकाशित: १७ असार २०७३ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App