४ वैशाख २०८१ मंगलबार
समाज

तारिणीदेवी मन्दिर पुनर्निर्माण गर्दै स्थानीय

काठमाडौं- स्थानीयको सहयोगमा काठमाडौं महानगरपालिका–२५ मखन टोलस्थित तारिणीदेवीको मन्दिर पुनर्निर्माण भइरहेको छ। मन्दिर पुनर्निर्माणमा करिब ६२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको तारिणीदेवी संरक्षण समितिका कार्यवाहक अध्यक्ष भुवनलाल श्रेष्ठले बताए। 

कार्यवाहक अध्यक्ष श्रेष्ठका अनुसार भूकम्पको एक वर्षसम्म पनि पुनर्निर्माणमा पुरातत्व विभाग, सरकारलगायत कसैले चासो नदेखाएपछि समितिको संयोजकत्वमा स्थानीय बासिन्दाको आर्थिक सहयोगबाट गत वर्ष फागुनमा मन्दिर पुनर्निर्माण थालिएको हो।

'मन्दिरको भुइँतला निर्माण भइसकेको छ,' स्थानीयबाट संकलित १४ लाख रुपैयाँबाट पुनर्निर्माण सुरु गरेको बताउँदै कार्यवाहक अध्यक्ष श्रेष्ठले भने, 'अब छाना हाल्न मात्र बाँकी छ। अहिलेसम्म लागेको ४० लाखमध्ये २६ लाख रुपैयाँ तानदेवी गुठीले बेहोरेको छ।' अब अन्य बाँकी काम र पित्तल पाताको छाना हाल्न लाग्ने खर्च पनि गुठीले नै बेहोर्ने उनले बताए। छाना हाल्न र बाँकी काम सक्न २० लाख रुपैयाँ लाग्नसक्ने आर्किटेक्चर इन्जिनियर रोश्नी महर्जनले बताइन्। इन्जिनियर महर्जनका अनुसार पित्तल पाताको छाना हाल्ने भएकाले पुनर्निर्माण सक्न अझै केही समय लाग्नसक्ने उनले बताइन्।

'भुइँतला निर्माणमा सुर्की र चुनसहित पुरानै इँटा प्रयोग गरेका छौं,' कार्यवाहक अध्यक्ष श्रेष्ठले भने, 'केही नयाँ इँटा थप्नु पर्‍यो। मन्दिर भित्रको गारो भत्केकाले अहिले नयाँ गारो लगायौं।' 

कलात्मक काठ जतनसँग नराख्दा तारिणीदेवी मन्दिरका पुराना सबै काठ बिग्रेकाले अहिले मन्दिरमा नयाँ काठ प्रयोग गर्नु पर्दा समय लागेको श्रेष्ठले बताए। 'पुससम्म पुनर्निर्माण सम्पन्न हुने गरी काम भइरहेको छ,' उनले भने, 'पित्तल पाताको छानो लगाउने काम अब सुरु हुन्छ। टुँडाल निर्माण भइसकेको छ।' छानामा टुँडाल जोड्न आवश्यक रसायन पुरातत्वसँग मागेको महिनौं भए पनि उपलब्ध नभएकाले काममा ढिलाइ भएको श्रेष्ठले बताए।

१९ औं शताब्दीमा निर्माण भएको तारिणीदेवी मन्दिर मखनटोलको पुरानो मन्दिर भएको कार्यवाहक अध्यक्ष श्रेष्ठले मन्दिर पुनर्निर्माणमा राज्यले कुनै चासो नदिएपछि स्थानीयको आर्थिक सहयोगमा पुनर्निर्माण गरिरहेका छौं। उनका अनुसार मन्दिरको पुरानै नक्सा, डिजाइन अनुसार महानगरपालिकाले तयार पारेको हो। डिजाइन तयार पारे पनि महानगरपालिकाले मन्दिर पुनर्निर्माणमा आर्थिक सहयोग नगरेको उनले बताए। 'मन्दिर पुनर्निर्माण गर्न सरकारलाई बारम्बार गुहार्दा पनि बेवास्ता गरेकाले स्थानीयसँग चन्दा संकलन गरी निर्माण गरिरहेका छौं,' कार्यवाहक अध्यक्ष श्रेष्ठले बताए।

प्रकाशित: २३ मंसिर २०७३ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App