७ वैशाख २०८१ शुक्रबार
समाज

एसएसबीको ज्यादती

इलामको सन्दकपुर डाँडामा पुगेका पर्यटकलाई फिर्ता पठाउन र तस्बिर नखिच्न उर्दी गर्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवान। एसएसबीले सन्दकपुर डाँडामा जान र तस्बिर खिच्न मनाही गरेको सूचनाबोर्ड राखेको छ। तस्बिर : भीम/नागरिक

सन्दकपुर (इलाम) – भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रमा रहेको सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाइ) को भ्यु–प्वाइन्टमा जान पर्यटकलाई निषेध गरेको छ। एसएसबीले तीन देशका हिमालको दृश्यावलोकन गर्न सकिने सन्दकपुरको चुचुरोमा जान र तस्बिर खिच्न निषेध गरेको सूचना बोर्ड त्यहाँ राखेको छ।

एसएसबीले यसअघि सन्दकपुर चुचुरोमा जान, घुम्न, तस्बिर खिच्न यस्तो निषेध गरेको थिएन। अहिले तस्बिर खिच्न नदिने मात्र होइन, खिचिसकेको तस्बिर डिलिट (मेट्न) गर्न लगाउने गरेको गुनासो पर्यटकको छ। पूर्वाधारविहीन यो चुचुरोमा भ्यु–प्वाइन्ट बनाउने सन्दकपुर गाउँपालिकाको प्रयास असफल पारेपछि एसएसबीले त्यहाँ प्रवेशमा कडाइ गरेको हो।

सन्दकपुर जिल्लाकै सर्वाेत्कृष्ट पर्यटकीय गन्तव्य हो। सर्वाेच्च शिखर सगरमाथासहित नेपाल, भारत र भुटानका हिमाल यहाँबाट अवलोकन गर्न सकिन्छ। बर्सेनि आउने हजारौं पर्यटकले यो स्थानबाट सूर्याेदय, सूर्यास्तलगायत दर्जनौं हिमशृंखला अवलोकन गर्छन्। तर एसएसबीको धम्कीपछि पर्यटक यो चुचुरोमा जान हच्किन थालेका छन्। केही पर्यटक मात्र एसएसबीको आदेश बेवास्ता गरी सन्दकपुर डाँडामा पुग्ने गरेका छन्।

सन्दकपुर चुचुरोभन्दा करिब डेढ सय मिटर तल बेसक्याम्प नै बनाएर बसेको एसएसबीले पर्यटकले तस्बिर खिचेको देखे हप्कीदप्की गर्दै आएको छ। सन्दकपुर डाँडामा पुग्ने पर्यटकले के गर्छन् भन्नेबारे जानकारी लिन एसएसबीका जवानहरूले नजिकैबाट पहरा दिन्छन्। ‘सन्दकपुर डाँडामा पुगेर वरिपरिको दृश्य मोबाइलमा खिच्दै गर्दा तलैबाट एसएसबीका जवानले छिटो त्यहाँबाट फर्किन र तस्बिर नखिच्न भने,’ इलाम नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष ठाकुरनारायण श्रेष्ठले भने, ‘त्यहाँ पुगेका पर्यटकलाई एसएसबीले घुम्न नदिनु र तस्बिर पनि खिच्न नदिनु हेपाहा प्रवृत्ति हो।’

सन्दकपुर इलाम जिल्लाकै सर्वाेत्कृष्ट पर्यटकीय गन्तव्य हो। सर्वाेच्च शिखर सगरमाथासहित नेपाल, भारत र भुटानका हिमाल सन्दकपुर डाँडाबाट अवलोकन गर्न सकिन्छ।

सन्दकपुरको पनि मुख्य विन्दु सन्दकपुर चुचुरो नेपाल–भारत सीमाको दसगजामा पर्छ। इलामकै जिर्मलेदेखि सन्दकपुरसम्मको साढे ५२ किलोमिटर सीमा क्षेत्रको दसगजामा विद्यालय, घर, प्रहरी पोस्टलगायत दर्जनौं संरचना बनाएको भारतले नेपालीलाई चाहिँ कुनै संरचना निर्माण गर्न दिँदैन। सन्दकपुर गाउँपालिकाले करिब एक करोड रुपैयाँ खर्चेर सन्दकपुरमा बनाउन लागेको भ्यु–प्वाइन्ट दसगजामा परेको भन्दै एसएसबीले निर्माण रोकिदिएको हो।

‘दसगजामा एसएसबीको हैकमका कारण जिल्लाकै सर्वाेत्कृष्ट पर्यटकीय स्थलमा पूर्वाधार बनाउन पाएनौं,’ गाउँपालिका अध्यक्ष उदय राईले भने, ‘दसगजाको मान्यता हामी नेपालीले मात्रै मान्नुपर्ने हो कि भारतले पनि मान्नुपर्छ ?’ अध्यक्ष राईले कतिपय स्थानमा नेपाली भूमिमै बन्न लागेका संरचनासमेत एसएसबीले बनाउन नदिएको बताए। ‘पर्यटनको उच्च सम्भावना बोकेको आहालटारमा सामुदायिक भवन निर्माण गर्दा पनि एसएसबीले अवरोध ग-यो,’ उनले भने, ‘करिब चार करोड रुपैयाँ लगानीमा बनाउन लागिएको भवन त्यहाँबाट अन्यन्त्र सार्नुपरेको छ।’

सीमा क्षेत्रको नेपाली भूमिमा पनि सडक, शौचालयलगायत संरचना बनाउन एसएसबीले अवरोध गरिरहेको छ। केही महिनाअघि सन्दकपुर गाउँपालिका–५, जमुनामा गैरीबास–कालपोखरी ट्रेकिङ रुट बनाउन खोज्दा एसएसबीले रोक्न खोजेको थियो। ट्रेकिङ रुट निर्माण समितिका अध्यक्ष उमेश गुरुङले नेपाली भूमिमै बाटो बनाउन खोज्दा पनि एसएसबीले आफूलाई नियन्त्रणमा लिएर धम्क्याएको बताए। ‘हामीले नेपाली भूमिमै बाटो बनाउन लागेका थियौं तर एसएसबीले दसगजामा पर्छ भनेर बनाउन नदिएपछि निकै संघर्ष गर्नुप¥यो,’ उनले भने, ‘मलाई नियन्त्रणमै लिएर एसएसबीले बन्दुक देखाउँदै बाटो बनाए जे पनि गर्नसक्ने धम्की दियो।’ तर स्थानीयको सामूहिक दबाबका कारण ट्रेकिङ रुट निर्माण रोक्न एसएसबी सफल भएन।

स्थानीयले पछिल्लो समय सीमामा एसएसबीले नेपालीलाई बढी निगरानी गर्न थालेको बताएका छन्। केही दिनअघि १ नम्बर प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू त्यहाँ पुगेका बेला सन्दकपुर चुचुरोमा जाने बाटोमा राखिएको ‘निषेध’ को बोर्ड एसएसबीले हटाएको थियो। उनी फर्किएलगत्तै पुनः एसएसबीले त्यही बोर्ड राखेको छ। ‘पहिला एसएसबीले सन्दकपुर चुचुरोमा चढ्न, तस्बिर खिच्न यसरी अवरोध गर्दैनथ्यो,’ सन्दकपुर गाउँपालिका–४ का वडासदस्य पेमाडण्डु शेपाले भने, ‘अहिले एसएसबीले नेपाली पर्यटकमाथि बढी निगरानी गरेको देखिन्छ।’ उनले यो क्षेत्रमा दर्जनौं संरचना बनाउन खोज्दा एसएसबीले अवरोध गरेको बताए। ‘नेपाली भूमिमा संरचना निर्माण गर्दा एसएसबीको धम्कीले रोक्नुपरेका घटना धेरै छन्,’ उनले भने, ‘सीमास्तम्भ नभएकाले सीमा यहाँ हो भनेर पहिचान छैन, सीमामा हाम्रो सुरक्षा उपस्थिति ज्यादै पातलो भएकाले समस्या बढेको हो।’

एसएसबीले सन्दकपुर चुचुरोमा पुग्न र तस्बिर खिच्न नदिनेगरी राखेको बोर्ड विद्यार्थीले फ्याँकिदिएका छन्। सीमा रक्षाको मागसहित शनिबार सन्दकपुर पुगेर नाराजुलुस गरेका विद्यार्थीले सन्दकपुरमा एसएसबीले कब्जा जमाउन खोजेको भन्दै बोर्ड फ्याँकिदिएका हुन्। ‘सन्दकपुरजस्तो महत्वपूर्ण पर्यटकीय स्थलमा पर्यटकलाई निषेध गर्नु एसएसबीको ज्यादतीबाहेक केही होइन,’ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय सदस्य रवीन्द्र सुवेदीले भने, ‘सन्दकपुर चुचुरो पनि एसएसबीले बिस्तारै कब्जा गर्ने नीति लिएको देखिन्छ।’ विद्यार्थीले सन्दकपुर चुचुरोमा राष्ट्रिय झन्डासमेत गाढेका छन्।

भारतले सीमा क्षेत्र निगरानीका लागि तीन–तीन किलोमिटरमा एसएसबीको क्याम्प राखेको छ। अधिकतर यी क्याम्पको भवन दसगजामै निर्मित छ। नेपालतर्फ सन्दकपुरभन्दा करिब तीन किलोमिटरमा असईको कमान्डमा प्रहरी चौकी मात्र छ। पशुपतिनगरमा गत वर्ष सशस्त्र प्रहरीको बेसक्याम्प स्थापना गरिएको छ। सीमा सुरक्षा गर्न नेपालपट्टि सुरक्षा निकायको उपस्थिति नहुँदाको फाइदा भारतीय पक्षले लिइरहेको छ।

प्रकाशित: २ मंसिर २०७६ ००:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App