७ वैशाख २०८१ शुक्रबार
कला

आमाछोरीका दुई पुस्तक सार्वजनिक

काठमाडौं– ‘साहित्यकारहरुको सिर्जना त्यस्तो होस्, जसले अरुलाई उत्प्रेरित गर्न सकोस्, तरङ्गित बनाउन सकोस्, ज्ञान दिओस्, उत्प्रेरणा जगाँओस्,’ सत्तारुढ दल नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यस्तै भन्दै थिए। शनिबार लेखिका उषा थपलियाद्धारा लिखित ‘नारी ! तिमी हारेकी छैनौ’ पुस्तकको विमोचन गर्दै नेता नेपालले भने ‘भाषा र साहित्यले सिङ्गो समाजलाई नै सकारात्मक बाटोमा हिड्न प्रेरित गर्छ।’

पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित उनले मानिस भएर जन्मिसकेपछि आशावादी भएर बाँच्नुपर्ने साथै जीवनमा आएका समस्यालाई हार नमानी समस्याको समाधान गर्दै अघि बढ्नुपर्ने उनको तर्क थियो। कार्यक्रममा लेखिका उषा थपलियाकी छोरी संविदा वाग्लेको  ‘नवपल्लव’ नामक निबन्धसग्रहको पनि विमोचन गरिएको थियो। संविदाले लेखेको पुस्तकको प्रशंसा गर्दै नेपालले नवप्रतिभाको जन्म हुनका लागि पारिवारिक परिवेशसँगै शैक्षिक परिवेश पनि राम्रो हुनुपर्ने बताए। 

वाग्लेद्धारा लिखित ‘नवपल्लव’ पुस्तकमाथि चर्चा गर्दै साहित्यकार लक्ष्मी उप्रेतीले संविदा उज्यालो भविष्यकी बालिका भएको बताइन्। प्रतिभाशाली आमाछोरीप्रति आभार प्रकट गर्दै उनले नारीशक्ति र मातृशक्ति कहिल्यै नमर्ने दाबी गरिन्। नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य गीता त्रिपाठीले पारिवारिक संस्कारलाई अघि बढाउन नसके बालबालिकाहरु साहित्यमा प्रवेश गर्न नसक्ने बताइन्। ‘संविदाले उमेरअनुसारको शब्दमा उमेर माथिको अनुभवलाई प्रस्तुत गरेकी छन्,’ त्रिपाठीले भनिन्, ‘उषाले लेखेको पुस्तकमा भने नारीको आवाजलाई बुलन्द गरिएको छ, नारीवादलाई ग्रहण गरिएको छ।’

समसामयिक विषयवस्तुमा आधारित रहेर महिलाले गरेको अनुभूति, झेल्नु परेका समस्या र पाएको सफलतालाई उषाले निबन्धमा समेटेको उपप्रध्यापक ज्ञानु अधिकारीले जानकारी दिइन्। हामीले दुःख गर्छौ र  त हाम्रो सन्तति र परिवारले खुसी र सुख पाउँछन् भन्ने भाव पुस्तकमा पाइने उनले बताइन्। विविध विषयमा लेखिएको निबन्धात्मक लेखले देश, समाज र परिवारमा देखिएका बिसङ्गतिमाथि उल्लेख गरिएको छ।

सहप्राध्यापक डा. शैलेन्द्रप्रसाद नेपालले आमाछोरी दुबैको पहिलो प्रकाशित पुस्तक भएपनि निकै मर्मस्पर्शी भएको बताए। उषाद्धारा लिखित नारीवादी पुस्तक आमाको जीवनसँग सम्बन्धित भएको बताए। साथै राष्ट्रियस्तर भन्दा बाहिर रहेका विषयलाई सान्दर्भिक शैलीले प्रस्तुत गरिएको उनको भनाई छ।

प्राध्यापक डा. गोविन्दराज भट्टराईले विशिष्ट बालसाहित्यकार लाखौंमा एक हुने दाबी गरे। ‘संविदाद्धारा लिखित पुस्तक अन्य विद्यालयमा पनि लगेर विद्यार्थीलाई नमूनाको रुपमा देखाउन पाए साहित्यमा रुची भएका बालबालिकालाई अझ रुची र हौसला बढ्थ्यो,’ उनले भने।

लेखिका थपलियाले फूलका एक एक थुंगा उनेर माला बनाएजस्तै आमाछोरीबाट सिर्जित अक्षरका छालहरुलाई उनेर पुस्तक बनाएको बताइन्। २६ च्याप्टरलाई समेटिएको उनको पुस्तकमा आफ्ना नीजि अनुभव र भावहरुलाई पनि समेटेको बताइन्। कार्यक्रममा आमाछोरीको सम्बन्ध साथै छोरीको बाल्यकाललाई देखाउने उद्देश्यले भिडियोसमेत देखाइएको थियो। ओरिएन्टल पब्लिकेसनद्धारा प्रंकाशित उनको पुस्तककको विमोचन शनिबार बागबजारस्थित होटल हार्दिकमा गरिएको हो।

प्रकाशित: १ मंसिर २०७६ १३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App