coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सामाजिक सञ्जालका कारण पत्रकारितामा चुनौती

भैरहवा– पत्रकारहरुले बाध्यताका कारण एकै व्यक्ति धेरै मिडियामा आबद्ध हुनुपरेको बताएका छन्।

आइतबारदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु भएको ‘लुम्बिनी न्यूज फेस्टिबल–२०७६’ मा बोल्दै उनीहरुले मिडिया मालिकहरुले पर्याप्त पारिश्रमीक नदिंदा विभिन्न सञ्चारमाध्यममा काम गर्नु पर्ने बाध्यता रहेको बताए।

लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीले आयोजना गरेको कार्यक्रममा उनीहरुले पछिल्लो समय बढ्दो सामाजिक सञ्जालका कारण पत्रकारिता क्षेत्रमा धेरै चुनौतीहरु देखा परेको बताए। पत्रकारिता क्षेत्रमा विभिन्न समस्याहरु देखिएकोले त्यसको समाधानका लागि सरोकावालाले ध्यान केन्द्रीत गर्नुपर्नेमा पत्रकारहरुले ध्यानाकर्षण गराए। 

‘संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार’ भन्ने नाराका साथ सुरु भएको महोत्सवमा मुलुकभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको छ। फेस्टिवलमा संघीयतामा रेडियो, टेलिभिजन र पत्रपत्रिका, समावेशी सञ्चारका पत्रकारहरु उपस्थित रहेका छन्। 

फेस्टिबलमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्य, पुर्व अध्यक्षहरु किशोर नेपाल, सुधिर शर्मा, शिव गांउले, बिष्णु निष्ठुरी, बरिष्ठ पत्रकार मोहन मैनाली, शुभास ढकाल, शुभशंकर कंडेल, नारायण वाग्ले, रघु मैनाली  लगायतको बिषयगत प्रस्तुति रहेको छ। कार्यक्रममा सम्पादक तथा विज्ञहरु बीच छलफल गरिने न्यूज फेस्टिबलका संयोजक दिपेन्द्र बडुवालले बताए।  

आइतबार भएको ‘पत्रकारिताः चुनौती र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले अहिले अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारहरुका बारेमा काउन्सिलमा उजुरी धेरै आउने गरेको बताए। उनले पत्रकारिता हतारमा गर्न नहुने बताए। ‘हुबहु/कपिपेष्ट पत्रकारिताले सञ्चार क्षेत्रका मुख्य समस्या हुन्, खोजमूलक पत्रकारिताको आवश्यकता छ’, उनले भने।

वरिष्ठ पत्रकार किशोर नेपालले पत्रकारिता शास्त्र–विज्ञान भएकोले यो कहिल्यै नसकिने बताए। उनले पत्रकारहरुले न्यूनतम पारिश्रमिक समेत नपाएको तथा स्थानीय सञ्चार माध्यम सञ्चालनमा समेत समस्या आएको बताए।

खोज पत्रकारिता केन्द्रका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले लुकेका र लुकाएका कुराहरु सार्वजनिक पदमा रहेका व्यक्तिमाथि प्रश्न तेर्साउनुपर्ने बताए। उनले सञ्चारमाध्यम सरकारको प्रवक्ता नबनी सरकारलाई प्रश्न गर्नुपर्ने बताए। ‘परम्परागतग मिडियाको शैलीका कारण रेडियोका श्रोता घटे’ उनले भने, ‘दैनिक पत्रिकामा कुपोषण लाग्यो, टेलिभिजन हेर्ने सामाजिक सञ्जालमा लागेकाले पत्रकारितामा चुनौती बढेको छ।’

पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीले पत्रकारहरु दोहारो चरित्रमा बसेर पत्रकारिता गर्दा निष्पक्ष पत्रकारिता हुन नसक्ने दावी गरे। उनले राजनीतिक दलको क्याडर बनेकाहरुले पत्रकारिताको कुरा गर्न नसुहाउने भन्दै पत्रकारको संख्या बढे पनि उनीहरुको गुणस्तरमा वृद्धि नभएको गुनासो गरे। 

वरिष्ठ पत्रकार मोहन मैनालीले खोजी पत्रकारिताको बाटोमा जानुको विकल्प नरहेको बताए। यता नागरिक दैनिक प्रदेश ५ प्रमुख रेखा भुसालले मोफसलमा बसेर बिट पत्रकारिता गर्न अप्ठ्यारो भएको बताइन्। फेस्टिबल आगामी मंसिर ३ गते सम्म चल्ने छ।

 

प्रकाशित: १ मंसिर २०७६ १२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App