४ वैशाख २०८१ मंगलबार
समाज

स्टेरिङमा हात र कानमा फोन लगाउने चालक धमाधम कारवाहीमा पर्दै

ट्राफिक प्रमुख सुकबहादुर विक। तस्बिर:नागरिक

गोरखा- ‘सवारी चलाउँदा मोबाइल फोनको प्रयोग नगरौँ’ यो सन्देश राजमार्ग होस् या मुख्य नाकाहरुमा ठुला अक्षरमा देखिने गरि साईनबोर्डमा टाँगिएको हुन्छ। सवारी चलाएका बेला चालकले गल्ती नगरुन, मोबाइल फोनमा ध्यान दिँदा दुर्घटनाको जोखिम बढ्ने भन्दै ट्राफिक प्रहरीले सचेत गराएता पनि गोरखामा अधिकाशं चालकले अटेरी गर्ने गरेको पाइएको छ। स्टेरिङमा हात र कानमा फोन लगाउने चालक धमाधम कारवाहीमा पर्न थालेका छन्।

‘सवारी चलाउँदा स्टेरिङमा बसेर फोनमा बोल्दै हिड्नेको संख्या बढ्दो छ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख सुकबहादुर विकले भने ‘हामीले कारवाही गरेर निरुत्साहित गरिरहेका छौं।’ सवारी चलाउँदा मोबाइलमा कुराकानी गर्दा आवेगमा आउन सक्ने, ध्यान अन्यत्र  मोडिने, लोड गाडी हुँदा स्टेरिङ काट्न नभ्याउने, मोडमा झुक्किने सम्भावना हुन्छ। चालु वर्षको चार महिनामा ट्राफिक प्रहरीले सवारी चलाउँदै मोबाइलमा कुरा गर्ने एक सय २० जनालाई कारवाही गरेको छ। ‘७५ हजार राजस्व जम्मा भएको छ’ ट्राफिक प्रहरी टिका शर्माले भने।

आर्थिक वर्ष ०७३/७४ मा ४१ जना, ०७४/७५ मा २० जना कारवाहीमा परेका थिए भने गत वर्ष उक्त संख्या बढेर तीन सय १९ पुग्यो। ती चालकलाई कारवाही गर्दा एक लाख ९५ हजार राजस्व संकलन भएको थियो। चालु वर्षको चौमासिक तथ्याङ्कले आउँदो वर्ष यो क्रम घट्ने देखिँदैन। मोबाइल फोनमा कुरा गर्दै सवारी चलाउँदा अनियन्त्रीत हुने सम्भावना बढी हुने ट्राफिक प्रमुख विक बताउँछन्।

ट्राफिक प्रहरीको सचेतनामा जोड
जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले पछिल्लो समय दुर्घटना न्यूनिकरण र सवारी नियम पालना गर्नुपर्ने विषयमा जनचेतनामुलक कार्यक्रमलाई तिब्रता दिएको छ। सदरमुकाम मात्रै नभई गाउँगाउँ र विद्यालयमा पनि ट्राफिक सचेतना कार्यक्रम गरेपछि दुर्घटना घटेको ट्राफिक प्रमुख सुकबहादुर विकले बताए।

‘कारवाही गरेर मात्रै सचेतना बढ्ने होईन रहेछ’ उनले भने ‘चालक, सह चालक, सवारी धनी, व्यवसायी समिति र यात्रुलाई सवारी नियम बारे जानकारी गराउँदा पनि दुर्घटना न्यूनिकरण भएको छ।’ सवारी नियम उलंघन गर्नेलाई महिनामा एक पटक फुलको गुच्छा दिने, खादा लगाइ दिने गरेर ट्राफिक प्रहरीले नियम पालना गराउन प्रेरित गरेको छ। ‘नियम अटेर गर्नु हुँदैन, ट्राफिक नियम हाम्रै लागि हो भन्ने बुझाउन यो अभियान चलाईएको हो’ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओप्रसाद अधिकारीले सुभारम्भ गर्दै भनेका थिए।

ट्राफिक नियम उलंघन नगर्ने अनुशासित चालकलाई सम्मान गर्ने, ट्राफिक सिग्नल तयार गर्ने, विद्यालय र ग्रामिण स्तरमा सचेतन कार्यक्रम लाई निरन्तरता दिने योजना रहेको आइतबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै ट्राफिक प्रमुख विकले भने।

गत वर्षको असारदेखि कात्तिकको चार महिनामा १० वटा सवारी दुर्घटनमा तीन जनाको मृत्यू भएको थियो भने १२ जना गम्भिर घाइते भए। चालु वर्षको चार महिनामा चारवटा दुर्घटनामा एक जनाको मृत्यू भएको छ भने चार जना गम्भिर घाइते भएका छन्। गत वर्ष चार महिनामा १० पटक बिभिन्न ठाउँमा सचेतना कार्यक्रम गरेको ट्राफिक प्रहरीले चालु वर्षको चार महिनामा ३४ पटक सचेतना कार्यक्रम गरी तीन हजार छ सय ६७ जनालाई सहभागी गराएको छ।

चालु वर्ष तीन हजार नौ सय ५० सवारी साधन कारवाहीमा परेका छन् भने २८ लाख २९ हजार जरिवाना (राजस्व) संकलन भएको छ। गत वर्ष सोही अवधीमा उक्त संख्या तीन हजार चार सय ५० थियो भने २१ लाख ७५ हजार पाँच सय राजस्व संकलन भएको थियो। ‘सम्झाई बुझाई मात्रै गरेर नहुने रहेछ’ ट्राफिक प्रहरी टिका शर्माले भने ‘जरिवानाले पनि नियम उलंघन गर्न निरुत्साहित गरेको छ।’


 

प्रकाशित: १ मंसिर २०७६ ११:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App