coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बजेट अभावमा रोहिणी सिँचाई आयोजना प्रभावित

निर्माणधिन रोहिणी सिचाई आयोजना

भैरहवा– रुपन्देहीको पेटवनियामा निर्माणधिन रोहिणी सिँचाई आयोजना सुस्ताएको छ।

देवदह नगरपालिका–२ र तिलोत्तमा नगरपालिका–१० को बीचमा पर्ने रोहिणी नदीमा निर्माणधीन जलाशययुक्त बहुउद्देश्यीय सिँचाई आयोजना विविध कारणले गति लिन सकेको छैन।

३ वर्षमा निर्माण गर्ने जिम्मा पाएको लुम्बिनी अर्घाखाची बाबुल जेभीले २०७४ कार्तिकबाट काम सूरु गरे पनि समयावधि भित्रै निर्माण सम्पन्न हुने छाँटकाँट देखिँदैन। हेडबक्स र नहर गरी २ चरणमा सम्झौता भएको सिँचाई आयोजना हालसम्म ६० प्रतिशत मात्रै सम्पन्न भएको छ।

रुपन्देहीको रोहिणी नदीमा देशकै नमूना जलभण्डार सहितको पर्यटन र सयौं हेक्टर जग्गा सिँचाई गर्ने उद्देश्य सहित निर्माण शुरु भएको थियो। तर, प्रदेश सरकार तथा संघ सरकारको समन्वयको अभाव, बजेट अभाव र नहरको क्षेत्र वनजंगल परेको कारण आयोजना प्रभावित बनेको हो।

यता निर्धारित समय भित्रै काम सकाउने अभियानमा आयोजना रहेको छ। ‘यहि आर्थिक बर्षमा काम सकाउने गरि हामी लागि परेका छौ’, रोहिणी सिंचाई आयोजनाको साईड ईन्चार्ज प्रमोद पाण्डेले भने। 

४ हजार भन्दाबढि हेक्टर जमिनमा सिंचाई गर्ने उद्देश्यले निर्माणधिन आयोजनामा २८ करोड ४० लाखको हेड बक्स निर्माणको काम ६० प्रतिशत भन्दा बढी सम्पन्न भई सकेको छ।  यता ८ करोड ठेक्का रहेको नहरको काम पनि वनजंगल क्षेत्रमा ६ सय मिटर मात्र बाँकी रहेको भैरहवा सिँचाई आयोजनाका आयोजना प्रमुख टंक केसीले बताए।

संघीय सरकारको लगानीमा निर्माण भइरहेको आयोजनामा असार मसान्त २३ करोड ६० लाख ६२ हजार रुपैयाँ खर्च भएको छ भने यस वर्ष २ करोड ४५ लाख मात्र छुट्टयाएको छ। ‘आयोजना सम्पनन गर्न अझै रकम अभाव देखिएकोले सम्बन्धित निकायमा रकमको माग गरेका छौं’ आयोजना प्रमुख टंक केसीले भने।

२०७७ असार मसान्त सम्म सम्पन्न गर्ने लक्ष्यका साथ नहर निर्माणका लागि आइईए (प्रारम्भिक वातावरणीय परीक्षण) पुनः भइरहेको छ। आयोजना समयमा सक्ने लक्ष्य छ तर बजेट अभाव र जंगलको कारण केही चुनौती थपिएको छ, जसको लागि सरोकारवाला निकायसँग समाधानकालागि पहल गरिरहेको भैरहवा सिँचाई आयोजनाका आयोजना प्रमुख केसीले नागरिक न्यूजलाई बताए।

आयोजनाबाट देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकाका कृषकहरुको जग्गा सिंचित गर्ने गरि महत्वकांक्षी आयोजना अगाडी बढाईएको हो। आयोजनाले अहिले बर्षे पानीको भर परिरहेका कृषकलाई राहत मात्र दिने अपेक्षा लिइएको छ। त्यस्तै पर्यटनको सम्भावना पनि उत्तिकै बढाउने आयोजनाको दाबी छ। 

आयोजना अन्र्तगत सिंचाई मात्र नभई करिब ३ हजार ६ मिटरको जलाशय निर्माण गरि पर्यटन क्षेत्रलाई बढावा दिने महत्वकांक्षी योजना समेत राखेको देवदह नगरपालिकाका प्रमुख हीराबहादुर खत्रीले बताए।

‘जलासय क्षेत्र बनाएर पर्यटकहरुलाई आर्कषित गर्नका लागि ढुङ्गा संचालन देखि अन्य पुर्वाधारहरु विकास गर्ने उद्देश्य नगरपालिकाको छ’ प्रमुख खत्रीले भने,‘देवदह नगरपालिका र तिलोत्तमा नगरपालिका दुवै गौतम बुद्धसंग जोडिएको हुँदा यहा बौद्धकालीन संरचनाहरु निर्माण गरी धार्मिक पर्यटनलाई पनि बढावा दिन जलाशयको बिचमा संरचना बनाउन दुवै नगरपालिकाले बजेट बिनियोजन गरेका छौँ।’ 

 

प्रकाशित: १ मंसिर २०७६ ०९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App