४ वैशाख २०८१ मंगलबार
समाज

दुर्व्यसन जोखिममा स्कुले विद्यार्थी

काठमाडौं- नक्सालको नारायणचौरस्थित नन्दी माविमा केही दिनअघि विद्यालय पोसाकमै नानीहरू वरिपरिका मदिरा पसल र चुरोट पसलमा भेटिए। चुरोट पसलमा केही छात्रछात्रा चुरोट पिइरहेका थिए भने केही नारायणचौरमा रहेको तरकारी बजारमा रहेको अवैध मदिरा पसलमा भेटिए। शिक्षा आर्जन गर्न विद्यालय पुगेका उनीहरू दुर्व्यसनको सिकार बन्न उन्मुख भेटिए। विद्यालयकी प्रधानाध्यापक गीता काफ्लेका अनुसार गलत संगतका कारण विद्यार्थी दुर्व्यसनमा फस्ने गरेका छन्।

विद्यालय क्षेत्रवरिपरि मदिरा र चुरोट पसल नराख्न स्कुल प्रशासनले बारम्बार अनुरोध गर्दा समेत पसलेहरूले अटेरी गरेका कारण विद्यार्थी गलत बाटोमा लाग्ने सम्भावना बढेको उनले बताइन्। 'केही दिनअघि सूचना पाएर म चुरोट पसल र मदिरा पसलमै पुगें तर पसलेहरूले नानीहरूलाई लुकाइ दिए,' प्रअ काफ्लेले नागरिकसँग भनिन्, 'त्यसपछि सामुदायिक प्रहरीसँग छलफल गरी नानीहरूलाई दुर्व्यसनबाट जोगाउन सहकार्य गर्ने भएका छौं।' नानीहरूलाई सुरक्षित वातावरणमा पठनपाठन गराउन चुनौती थपिएको उनले बताइन्।

नारायणचौरवरिपरि तास खेल्ने, लुडो खेल्ने, बाजी राखेर क्यारम खेल्ने, चुरोट बेच्ने, मदिरा बेच्ने काम हुने र कक्षा ८ देखि १० सम्मका बालबालिका उत्सुक भई त्यता जाने गरेको उनले बताइन्।

नन्दीमात्र होइन, कालीमाटीमा रहेको नीलबाराही मावि, भीमसेनस्थानमा रहेको परोपकार मावि, त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन मावि, कालीमाटीकै जनप्रभात माविलगायतका उपत्यकाका थुप्रै विद्यालयवरिपरिको नकारात्मक वातावरणका कारण ती स्कुलमा पढ्ने विद्यार्थीका अभिभावक र विद्यालय प्रशासनसमेत पीडामा छन्।

'मेरो छोरो जनप्रभातमा कक्षा ९ मा पढ्छ। एकपटक स्कुलबाट साथीसँग रक्सी पिएर फर्केछ', एक अभिभावकले नागरिकसँग भनिन्, 'स्कुलमा राम्रो बानी बेहोरा सिक्न र पढ्न पठाएको छोरो गलत बाटोमा लागेको देख्दा पीडा भयो।'

यसैबीच लागूपदार्थको दुर्व्यसन समस्या गम्भीर भएको देखेर नियन्त्रणका लागि शैक्षिक जनशक्ति विकास केन्द्रले विद्यालयका प्रधानाध्यापकलाई तालिम दिन गृहकार्य सुरु गरेको छ। केन्द्रका उपनिर्देशक ईश्वरीप्रसाद पोखरेलले बढ्दो साइबर अपराध तथा लागूपदार्थ दुर्व्यसन रोकथामका उपाय समेटेर नयाँ मोडेलमा तालिम दिन तयारी सुरु गरिसकेको बताए। उनले लागूपदार्थ विक्रेताले विद्यालयलाई लक्षित गरेर आफ्नो कारोबार सञ्चालन गर्ने गरेको पाइएको पनि बताए। 'स्कुले नानीहरू साइबर अपराध तथा  लागूपदार्थ दुर्व्यसनमा फस्दै गएका छन्,' उपनिर्देशक पोखरेलले नागरिकसँग भने, 'त्यही भएर केन्द्रले स्कुलका प्रधानाध्यापक, विद्यार्थी, अभिभावक तथा शिक्षकबीच छलफल गराई रोकथामको उपायको खोजी गर्‍यो।' अब प्रधानाध्यापकले आआफना विद्यालयका विद्यार्थीको बानीबेहोरा परिवर्तन, पारिवारिक अवस्था, सामाजिक अवस्थालगायतका विषयमा परियोजना अभ्यास कार्य गराउनुपर्ने नीति केन्द्रले लिएको उनले बताए।

सरकारी स्कुलका शिक्षकमध्ये ९० प्रतिशत तालिमप्राप्त हुँदाहुँदै पनि केन्द्रबाट लादिएको भएकाले प्रभावकारी हुन नसकेको उनको दाबी छ। त्यही भएर अब केन्द्रले विद्यालय परियोजनामा आधारित तालिम मोडल विकास गरेको उनले बताए। यसअन्तर्गत प्रधानाध्यापक तालिमको ढाँचा अनुभवको आधारमा तय गरिनेछ। ५ वर्षसम्म, ६–१० वर्ष, ११–१५ वर्ष र त्यसभन्दा बढी अनुभव भएका प्रधानाध्यापकका लागि छुट्टाछुट्टै प्याकेजको व्यवस्था गरिने उनले बताए।

परियोजनामा आधारित तालिम प्रधानाध्यापकलाई दिँदा उनीहरूले शिक्षकलाई समेत कक्षाकोठा प्रभावकारी र बालमैत्री बनाउन सिकाउनेछन् भने अर्कोतर्फ विद्यालय र वरिपरिको वातावरणसमेत बालमैत्री हुने उनको दाबी छ।

विद्यालय वरिपरिको वातावरण विद्यार्थीमैत्री बनाउन सामुदायिक प्रहरीलगायतका निकाय परिचालन गरेमा पनि बालबालिका दुर्व्यसनमा फस्ने सम्भावना कम हुने सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी नायब निरीक्षक वसन्तकुमार थापा बताउँछन्। उनले नन्दी माविका नानीहरुलाई दुर्व्यसनबाट रोक्न कक्षामै गएर प्रहरीले लागूपद्धार्थ र धूमपानविरुद्ध चेतनामूलक कक्षा लिएको बताए। विद्यार्थीले सिक्ने लहडमा चुरोट तान्ने गरेको पाइएकाले नक्सालको नारायणचौर बजारवरिपरिका पसलमा नानीहरुलाई चुरोट बिक्रीवितरणमा रोक लगाएको दाबी गरे। 'नन्दीकेश्वर महादेव मन्दिरवरिपरि तास खेल्न र स्कुल समयमा मदिरा बेच्न रोक लगाएका छौं', उनले भने।

प्रकाशित: २३ मंसिर २०७३ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App